६ वैशाख २०८१ बिहीबार
भिडियो

जाम कहिले छिचोल्ने?

सामान्य अवस्थामा केही मिनेटको यात्राको दूरी पछिल्ला वर्ष, महिना र दिनमा मिनेटबाट घण्टामा बढ्दै गएको छ। उपत्यकामा बढ्दो सवारी चापका कारण ट्राफिक जाम अहिलेको मुख्य समस्या बनेको छ। बिहान ६ देखि बेलुका ८ बजेसम्मै उपत्यकाका मुख्य सडक, सहायक गल्ली मात्र नभएर भित्री बाटोमा समेत हुने ट्राफिक जाम काठमाडौंवासीको नियती बनेको छ।  

केही वर्षयता निजी सवारीसाधन किन्नेको संख्या बढ्दो छ। दैनिक जसो निजी सवारी साधन किन्ने होडबाजी चलेको छ। अहिले बागमती प्रदेशमा दर्ता सवारीसाधनको संख्या (आव ०७८/७९ कात्तिक मसान्तसम्म) १७ लाख ६ हजार ८ सय ३४ पुगेको छ। जसमध्ये उपत्यकामा १५ लाखभन्दा बढी सवारीसाधन छन्। उपत्यकामा गुड्ने १५ लाख सवारीसाधनमध्ये १३ लाखभन्दा बढी दुई पांग्रे छन्। दैनिक रुपमा सवारीसाधन थपिने क्रम जारी नै छ। दिनप्रति दिन सडकमा सवारीको चाप बढेकाले ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका सह–प्रवक्ता सुशिल जंग शाहको भनाइ छ। ‘एक दिनमा एक सय ५० देखि एक सय ५५ वटा मोटरसाइकलहरु काठमाडौं भ्यालीमा दर्ता भइरहेका छन्,’ शाह भन्छन्, ‘चार पांग्रे सवारीसाधन एक दिनमा ५५ देखि ६० सम्म दर्ता भइरहेका छन्।’  

सवारी चापले उपत्यकाको ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको यातायात व्यवस्था विभागका प्रमुख नमराज घिमिरे पनि स्वीकार्छन्। तर ट्राफिक जाम बढ्नुमा सवारीसाधनको मात्रै मुख्य भूमिका नभएको उनी बताउँछन्। ‘सडकको क्षमताभन्दा यातायातको संख्या बढेको छ। जसका कारण ट्राफिक जाम बढेको हो, तर सवारीसाधन धेरै भएर मात्रै नभई व्यवस्थापनको कारण पनि जाम बढेको हो।’ सडक र त्यससँग सम्बन्धित अन्य उपकरणको प्रयोग अभावका कारण जाम बढेको घिमिरेको ठम्माइ छ।

सडक र सवारीको सम्बन्ध पर्यायवाची जस्तै हुन्छ। सडक र यातायातसँग जोडिएका विभिन्न पक्षमध्य सडकको खराब अवस्थाका कारण दुर्घटनासँगै ट्राफिक जाम पनि बढ्दछ। सवारी व्यवस्थापनसँग सम्बन्धित सडक विभाग पनि एक प्रमुख निकाय हो। आफूलाई उपलब्ध गराएको स्रोत साधन र क्षमता अनुसार विभिन्न स्थानमा काम गरिरहेको सडक विभागका प्रवक्ता शिवप्रसाद नेपाल बताउँछन्।  

सडक र सवारी एक अर्काका परिपुरक भएपनि नेपालमा भने यातायात र सडकको सम्बन्ध टुटेको सहरी योजनाविद् किशोर थापा बताउँछन्। नेपालमा सडक अनुसारको सवारीसाधन र सवारीसाधन अनुसारको सडक नभएकै कारण समस्या निम्तिएको उनको ठहर छ। ‘याततायात र सडकको सम्बन्ध टुटेको छ जस्तो लाग्छ, सडक अनुसारको सवारीसाधन छैन र सवारीसाधन अनुसारको सडक बनाउन सकेका छैनौ।’ उनी थप्छन्, ‘अधिकांश सडक साँघुरा छन्। पैदल यात्रुको चाप पनि बढ्दो छ। पैदल यात्री र चालकलाई तनावयुक्त अवस्था छ।’  

काठमाडौंमा सवारी जाम बढ्नुको अर्को महत्वपूर्ण कारण हो, सडक पूर्वाधारको अभाव। काठमाडौंमा अहिलेसम्म एउटा पनि फ्लाई–ओभर निर्माण भएको छैन। अधिकांश चोकमा आकाशे पुल छैनन्। मुख्य चोकहरुमा फ्लाई–ओभर राख्न सके सवारी जामको समस्या धेरै हदसम्म हट्ने पूर्वाधार विज्ञ थापा बताउँछन्।  

सडक विभागले उपत्यकाका मुख्यमुख्य चोकमा इन्टरसेक्सन म्यानेजमेन्ट नभएकाले ट्राफिक जाम बढ्दै गएको यातायात व्यवस्था विभागका महानिर्देशक घिमिरेको आरोप छ। योसँगै स्थानीय सरकार र सडकसँग सरोकार राख्ने अन्य नियकायले पनि आवश्यक समन्वयन नगरेको उनको भनाइ छ। ‘साना सडक स्थानीय सरकार मातहत रहन्छन्। सहरी सौन्दर्य करणमा सहरी विकास मन्त्रालय पनि जोडिन्छ’, उनी भन्छन्, ‘महानगरपालिका र सहरी विकास मन्त्रालयसँगै खानेपानी, ढल, विद्युत र सरोकारवाला अन्य नियकयहरुबीच समन्वय नभएकाले ट्राफिक व्यवस्थापनमा चुनौती थपिए हो।’  

अहिलेको मुख्य समस्या निजी सवारी साधनले निम्त्याएको हो भन्नेमा कसैको दुईमत छैन। निजी तथा साना सवारीको चाप यही गतिमा बढ्दै जाने हो भने ट्राफिक व्यवस्थापनमा बिकराल रुप लिने छ। त्यसका लागि सरकारले समयमै वैकल्पिक उपाय अपनाउनु अनिवार्य भइसकेको छ। जसको विकल्पमा सार्वजनिक तथा ठूला सवारी साधनलाई अघि सार्नुपर्ने विज्ञको सुझाव छ।

प्रकाशित: २३ पुस २०७८ १२:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App