७ वैशाख २०८१ शुक्रबार
भिडियो

दृष्टिविहीन भएर पनि सेवामा अब्बल, एक पटक सुनेको/पढेको कुरा कण्ठै (भिडियो)

काठमाडौं– यो कथा हो अपाङ्गता (दृष्टिविहीन) भएर पनि आफ्नो सेवामा अब्बल एवं उदाहरणीय पात्रहरुको। डा. गोविन्दप्रसाद आचार्य त्रिभुवन विश्वविद्यालय अन्तर्गतको आरआर क्याम्पसमा नेपाली विषयका प्राध्यापक हुन्। भर्खरै विद्यावारिधी गरेका उनी विगत १८ वर्षदेखि आरआरमा प्राध्यापन गराउँदै आएका छन्। 

दृष्टिविहीन भए पनि उनको जीवनको धेरै समय पुस्तक पढ्दैमा वित्यो। ‘स्कुल लेभलमै अरुको सहयोग लिएर पढ्थे। नेपाली, चाइनिज, रसियन दर्शन तथा साहित्य लगायत पढिसकेको छु। यसले एमएमा सहयोग गर्यो’, उनी आफ्नो अनुभव सुनाउँछन्।  

आचार्य एक पटक सुनेको वा पढेको बिर्सिँदैनन्। ‘मलाई एक पटक कसैले पढेर सुनाइदियो भने दोस्रो पटक पढ्नु पर्दैन’, नागरिक नेटवर्कको सम्वाद कार्यक्रममा पत्रकार श्रीराम पौडेलसँग कुराकानी गर्दै उनी भन्छन्, ‘दुई पटक पढेर न लेखेको छु, न पढाएको छु।’ 

साहित्य र भाषा उनको रुचीको विषय हो। भन्छन्, ‘यसमा म दख्खल दिन सक्छु।’ उनले सुरुवाती दिनमा स्कुलतिर पनि पढाएका थिए। ‘विद्यार्थीको कपी चेक गरेको छैन। माथिल्लो कक्षाका विद्यार्थीलाई नियमहरु बताइदिने हो। कपी हेर्न त समस्या नै हुन्छ।’ अनौठो कुरा त के छ भने कीर्तिपुर बस्ने आचार्य दैनिक प्रदर्शनीमार्गमा रहेको आरआर क्याम्पसमा कुनै सहारा विना आउने जाने गर्छन्। साथै घरायसी काम पनि प्राय सहारा विना नै गर्छ। एकपटक हिँडेको बाटो याद हुने उनको अनुभव छ। 

आचार्यजस्तै दृष्टिविहीन भएर सेवामा अब्बल छिन् निरा अधिकारी। ललितपुर महानगरपालिकामा आठौं तहको अधिकृत पदमा कार्यरत अधिकारी आफ्नो काम आफैं गर्छिन नै साथै अरुलाई पनि सघाउँछिन्। 

‘ललितपुर महानगरपालिकाको महिला विकास शाखामा कार्यरत छु। त्यो भन्दा अगाडि महिला तथा बालबालिका विभागमा सामाजिक सुरक्षा शाखा, संस्थागत फाँट हेरे। फरक फरक शाखामा काम गरे’, उनी बताउँछिन्। 

अधिकृतस्तर कर्मचारी हुनाले उनले कार्यालयमा एक जना सहयोगी पाएकी छिन्। ‘चिठ्ठीपत्र सहयोगीले पढेर सुनाइदिने गर्छन्। टिप्पणी लेख्ने, चिठ्ठीपत्र बनाउने, डिल गर्ने सबै कम्प्युटर चलाएर गर्छु’, उनले सुनाइन्।  

युनिकोड आएपछि कम्प्युटरमा काम गर्न सजिलो भएको उनको अनुभव छ। ‘पहिला युनिकोड थिएन, प्रितीमा लेख्नुपर्थ्यो। अहिले सजिलो भएको छ। सरकारले नै अनिवार्य गरेको छ’, अधिकारीले भनिन्, ‘त्यसकारण सबै कुरा आफैं टाइप गर्ने, पढ्ने, रुजु गर्नसक्ने भएको छु। प्रतिवेदन निर्माणमा त म अरुलाई सघाउँथे। नयाँ सफ्टवेयरले बढी आत्मनिर्भर बनायो।’ 

उनी पनि सहाराविना दैनिक हिँडेरै अफिस र घर आउजाउ गर्छिन्। उनको घरबाट ललितपुर महानगरको कार्यालय २० मिनेटको दुरीमा छ। 

नागरिक सम्वादमा अडियो लाइब्रेरी रिसर्च सेन्टर (एलआरसी) कीर्तिपुर, ट्याङ्गलाका अध्यक्ष रमेशबाबु तिवारी पनि सहभागी थिए। उनले अध्ययन सामग्रीको संकलन केन्द्र र प्रयोगकर्तालाई सेवा प्रभाव गराउने काम गर्दै आएको जानकारी गराए। 

नेपाल राष्ट्रिय अपाङ्ग मानवअधिकार संरक्षण मन्चमा १२÷१४ वर्ष अगाडिदेखि यही काम गर्दै आएको स्मरण गर्दै तिवारीले भने, ‘निराजी, गोविन्द सरहरुलाई हामीले रेकर्डेड गरेका सामग्रीहरु उपलब्ध गराएर उहाँहरुले सुनेर पढ्नुहुन्थ्यो। साथै सरकारका नीति नियमहरुलाई कार्यान्वयन गराउन दबाबमुलक कार्यक्रम गरेका छौं। नीति नियम पेपरमै सिमित भए, व्यवहारमा लागु भएन। घच्घच्याउने काम गर्यौं।’

एलआरसी गैरसरकारी संस्था भएको र ३/४ हजारको संख्यामा अडियो बुकहरु रहेको जानकारी गराउँदै तिवारीले त्यसलाई परिमार्जित गर्ने र फेरिने तथा फेरि रिभाइज गर्दै आएको बताए।

‘दृष्टिविहीन भएका व्यक्तिहरुलाई उहाँहरुको अपाङ्गता परिचयपत्र लिएर कपिराइट र मिस युजलाई रोक्न रेकर्ड राखेर दिन्छौं’, उनले भने, ‘जसले छापा अक्षर पढ्न सक्दैन, त्यसलाई अडियो सामग्रीले सहयोग गर्छ। हामीसँग कक्षा १ देखि डिग्रीसम्म सामग्री छ।’ लोकसेवा आयोग, शिक्षक सेवा आयोग, कामदार क्षेत्रको टेलिकमलगायत हरेक क्षेत्रको रेकर्ड गरेर राखेको उनको भनाई छ।

प्रकाशित: ३ आश्विन २०७६ ०७:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App