३ पुस २०८२ बिहीबार
image/svg+xml
प्रविधि

इ-गेमको लत

बाहिर सिमसिम पानी परिरहेको छ। युवाहरू भित्र फुटबलमा मस्त रमाइरहेका छन्। तर, उनीहरूको खुट्टामा फुटबल छैन। खेल्ने मैदान पनि छैन। हिजोआज खेल खेल्न मैदान चाहिँदैन। जर्सी र बलको आवश्यकता रहन्न। झरी परोस् या बाढी आओस्, तन्नेरी पुस्ता कुर्सीमा बसीबसी 'भर्चुअल गेम'मा पसिना चुहाइरहेका देखिन्छन्। यस्ता गेमले मनोरन्जनमात्र होइन व्यावसायिक पनि बनाइरहेको छ।


लस्करै राखिएका पाँच वटा ४२ इन्चका स्त्रि्कन। पछाडिबाट केही युवाहरू त्यहीँ झुम्मिएका छन्। कुनै देशमा भइरहेको फुटबल टुर्नामेन्ट हेरिरहेझैं उत्साह छ। जब गोलपोस्टमा बल छिर्छ। स्त्रि्कनभित्र र बाहिरका समर्थक खुसीले चिच्चाउँदै हुटिङ गर्छन्।

प्रत्येक स्त्रि्कनअगाडि कुर्सीमा दुई जना युवा हातमा 'जोएस्टिक' थिचेर बसिरहेका छन्। आखिर उनीहरू नै फुटबल समूहको नेतृत्व गरिरहेका छन्। रियल म्याड्रिड फुटबल क्लब भर्सेज रियल म्याड्रिडबीच खेल चलिरहेको छ। एउटै क्लबको खेल दुईतिरबाट चलिरहेको छ।

काठमाडौंमा आयोजना गरिएको 'इ–स्पोर्टस् कार्निभल' अन्तर्गत फिफा–२०१५ मा उनीहरू भर्चुअल भिडन्तमा थिए। आजभोलि युवाको बढ्दो क्रेजसँगै खुट्टाले होइन, दिमागले फुटबल खेल्दै छन्।

कुर्सीमा बसेर गेम खेलिरहेका पूर्णिम पिया क्रिस्टियानो रोनाल्डो भएकै कारण रियल म्याड्रिड समूह रोज्छन्। अहिले उनी बार्सिलोनाका समर्थक हुन्। भर्चुअल गेममा 'रोनाल्डो' भएका कारण म्याड्रिड रोजेको बताउँछन्, 'यथार्थमा अन्तर्राष्ट्रिय खेलाडी रोनाल्डो जसरी कुद्छन् त्यसैगरी भर्चुअल गेम बनाइएको छ। आफूले जित्नका लागि रियल म्याड्रिड रोजेको हुँ।' उनी सानैदेखि फुटबल खेल्न रहर गर्थे। स्कुलमा साथीहरूसँग समूह बनाएर खेल्थे। नौ वर्षदेखि उनी स्त्रि्कनमा फुटबल खेल्दै आएका छन्। फुर्सद मिल्यो भने कम्प्युटर अघि बसिहाल्छन्, फुटबल खेल्न।

भर्चुअज टुर्नामेन्टमा भाग लिनकै लागि उनी पाल्पाबाट काठमाडौं आएका हुन्। लुम्बिनी मेडिकल कलेज पाल्पामा एमबिबिएसको इन्टर्नसिपमा रहेका उनले फुटबल खेल्नकै लागि चार दिनको बिदा लिए।

उनीमात्र होइन, ललितपुर कुमारीपाटीका विशाल गिरी पनि भर्चुअल ग्राउन्डमा प्रतिस्पर्धी हुन्। एक दशकदेखि उनी फिफासँग नजिक छन्। खेलप्रति उनको यत्ति क्रेज छ, तीन रात लगातार स्त्रि्कनअघि बस्न सक्छन्। 'फुर्सदको समयमा दिमागी फुटबल खेल्दा फ्रेस भइन्छ,' उनी भन्छन्, 'उपत्यकामा ठाउँको अभाव छ। महँगा फुटसल छन्, त्यसैको विकल्प हो इ–गेम।' यस्ता गेमले तुरुन्त निर्णय गर्न सक्ने क्षमता वृद्धि हुने उनको भनाइ छ। उनको सधैंको रोजाइ हो, रियल म्याड्रिड। २० मिनेटको खेलमा उनी दिमाग खियाइरहेका हुन्छन्।

कतिपय पारखी दिमागले खेले पनि जिउ चलाउँछन्। खुट्टा नचाउँछन्। शारीरिक रूपमा मैदानमा उत्रिएजत्तिकै मानसिक थकानको महसुस गर्छन्।

सामूहिक रणनीति

वारिपारि साँघुरो एरिना। बल्लतल्ल २० वटा कम्प्युटर अटेका छन्। प्रत्येक कम्प्युटरमा एक/एक जना खेलाडी तम्तयार छन्। पाँचका विरुद्ध पाँच जनाको दुई समूह एकैपटक भिड्छन्। भिड्ने ठाउँ साँघुरो छ, तर उनीहरू खेल्दाखेल्दै भर्चुअल स्पेसबाटै थुप्रो हुटिङ बटुल्छन्। एउटा समूहले जितेपछि पछाडिबाट हुटिङ गर्ने समर्थकको भिड लाग्छ। गत बिहीबार एक हप्तासम्म काठमाडौंमा आयोजित इ–गेममा सहभागी युवाले स्त्रि्कनमा आफ्नो खेल क्षमता प्रस्तुत गरे। एनगेमर्स क्लब डटकमले आयोजना गरेको भर्चुअल भिडन्तमा छ सयभन्दा बढी युवाले भाग लिए। यो नेपालमा सुरु गरिएको चौथो प्रतियोगिता हो। विजेता समुहले एक लाख रुपैयाँ पुरस्कार पाएका छन्।

इ–गेममा पल्केका तन्नेरीहरू 'डोटा टु' को राष्ट्रिय टुर्नामेन्टमा भाग लिन काठमाडौं बाहिरबाट समेत आए। खेलाडीमध्येका एक हुन्, मित्र राई। उनी धरानबाट काठमाडौं आएका थिए। उनी सात वर्षदेखि 'डोटा टु'मा रमाइरहेका छन्। उनी रमाउने मात्र होइन व्यावसायिक बन्दै छन्। १२ पढ्दै गर्दा गेमप्रति तानिएका थिए। 'इ–गेमले तान्यो। पढाइप्रति त्यति ध्यान दिन सकिनँ। अब यसमै करिअर खोज्दै छु,' उनले भने। उनीजस्ता अन्य युवा पनि इ–गेममा आफ्नो भविष्य खोज्दै छन्।

'डोटा टु' खेलका केही फाइदा पनि उनी सुनाउँछन्। यसमा खेल्दाखेल्दै अन्य देशका साथी बन्छन्। फिलिपिन्स, इन्डोनेसिया, मलेसिया, भारतका साथीसँग इन्टरनेटमार्फत गेम खेलिसकेका छन्, मित्रले। 'समूहमा मात्र खेल जित्न सकिन्छ। यसले समूहमा काम गर्न सिकाउँछ। तत्कालै रणनीति बनाउन सकिन्छ,' धरानबाटै खेल्न आइपुगेका अर्का सहमागी कुन्दन मण्डलले प्रस्ट पारे।

यस्ता गेमले आत्मसन्तुष्टि बढाउने तन्नेरीहरूको विश्वास छ। सामूहिक निर्णयले विश्वास बढाउँछ। 'डोटा टु' खेलमा युवाको निकै क्रेज छ। तर, उपत्यकाबाहिर सुस्त इन्टरनेट र लोडसेडिङका कारण राम्रोसँग खेल्न नसकेको उनीहरू गुनासो गर्छन्।

खेलाडीलाई झरीको पीर छैन। ठाउँको अभाव छैन। घर, गेम पार्लरमै बसेर युवाहरू खेलको मज्जा लिइरहेका छन्। नेपालमै राष्ट्रियस्तरका प्रतिस्पर्धा भइरहेका छन्। अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि अझै केही चरण पार गर्न बाँकी रहेको यसका पारखी बताउँछन्।

एन गेमर्स क्लबका अध्यक्ष आयुषराज तुलाधर नेपालमा ठूलो राशीको इ–गेम प्रतियोगिता भएको दाबी गर्छन्। उनी भन्छन्, 'पहिलो प्रतियोगिताका लागि निकै गाह्रो थियो। अहिले स्पोन्सर बढ्दै छन्। सपिङ मलहरूले प्रतियोगिताका लागि निमन्त्रणा गर्छन्।'

खेलको महŒव र सकारात्मक सन्देश दिनु आफूहरूको उद्देश्य रहेको क्लबका प्रबन्ध निर्देशक राजु तामाङ बताउँछन्। प्लस टु, इन्जिनियरिङ पढ्दै गरेका युवा इ–गेमका पारखी छन्। यसमा व्यस्त हुँदा अन्य कुलतमा फस्नबाट जोगिने तामाङ दाबी गर्छन्। 'डोटा टु' खेल्दा समूहमा खेल्नुपर्छ। खेलमा पाँच जनाको सामूहिक रणनीतिको ज्यादै महŒव हुन्छ।

इ–फिफा रियालिस्टिकतिर गइरहेको इ–गेमप्रेमी बताउँछन्। सन् १९९८ बाट इ–फिफा बन्न थालेको हो। सन् २००८ बाट खेलाडीहरू चिन्न सक्ने गरी बनाइयो। हरेक वर्ष मोडिफाई हुँदै गएको गेममा अहिले फिफा–२०१५ खेल्ने धेरै छन्। नयाँ र प्रख्यात खेलाडीअनुसार खेल अपडेट भइरहने तामाङले बताए।

प्रकाशित: १८ भाद्र २०७२ २२:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App