२ पुस २०८२ बुधबार
image/svg+xml
प्रविधि

रंगीचंगी नयाँ आइफोन

महंगो र सस्तो दुवै खाले बजारमा पकड जमाउने लक्ष्य सहित एप्पलले यो साता दुई आइफोन सार्वजनिक गरेको छ। मंगलबार बेइजिङ र क्यालिफोर्नियामा एकै साथ सार्वजनिक गरिएका आइफोन ५ एस र आइफोन ५ सी ले एप्पलको आगामी आम्दानी तय गर्नेछन्। सस्ता एन्ड्रोइड फोनका कारण विश्व बजारको हिस्सा गुमाउँदै गएको एप्पलले आइफोन ५ 'सी' लाई सस्तो फोनको रुपमा अघि सारेको छ।

'बजेट आइफोन' भनिएको पनि आइफोन ५ 'सी' को अर्थ 'चिपेस्ट' नभई 'कलरफुल' भएको टेक ब्लगरले ब्यंग्य गरेका छन् । हो, आइफोन ५ सी सस्तो छैन बरु यो युवा लक्ष्यित रंगीचंगी छ। आफ्ना पुराना मोडललाई कम मूल्यमा बेच्ने रणनीति सस्ता एन्डोइड फोनहरुले असफल पारिदिएको सन्दर्भमा एप्पलले पाँच रंगमा आइफोन सी ल्याएको हो।

प्लाष्टिकको कभर भएका रंगीचंगी आइफोन सी पुरानो मोडल आइफोन ५ जस्तै छन्। आइफोन सी को बाहिरी आवरणले नोकिया लुमिया सम्झाउँछ। यो रोमाञ्चक कुरा हो कि तपाँइ आइफोन पनि चमकदार सेतो, हरियो, निलो, गुलाबी र पहेँलो मध्येबाट छान्न सक्नुहुन्छ। क्यामेरा र प्रोसेसर सहित यसका अन्य स्पेसिफिकेसन्स आइफोन ५ जस्तै छन्। स्मार्ट भ्वाइस आसिस्टेन्ट सिरी पनि यो फोनमा राखिएको छ।

आइफोन सी मार्फत् एप्ललले अमेरिकी बजारमा १०० डलर मूल्य रेन्जका नोकिया, एचटिसी, मोटरोला र सामसङका एन्ड्रोइड र विन्डोज स्मार्टफोनसँग प्रतिस्पर्धा गर्न खोजेको देखिन्छ। त्यसैले अमेरिकामा दुई वर्षे सम्झौतामा मोबाइल अपरेटरमार्फत् लिँदा १६ जिबीको आइफोन सीको मूल्य ९९ डलर तोकिएको छ। ९९ डलरमा मोबाइल अपरेटरसँग सम्झौता गरी लिएका यस्ता आइफोन लक हुने छन्। बाह्य बजारका लागि आइफोन सी को मूल्य ५४९ (५५ हजार ५ सय नेपाली रुपैयाँ) तोकिएको छ। नेपालमा एप्पलको आइफोन बेच्ने मोबाइल अपरेटर नभएकाले यही मूल्यमा किन्नु पर्ने हुन्छ। त्यसैले सस्तो आइफोन भनेर चर्चा गरिए पनि वस्तुत यो आइफोन सी सस्तो छैन।

कम्प्युटर झैँ शक्तिशाली आइफोन ५ एस

एप्पलले आइफोन ५ एसलाई डेस्कटप कम्प्युटर जस्तै शक्तिशाली स्मार्टफोन भनेको छ। ६० बिट्सको ए७ प्रोसेसरका कारण हातैकै स्मार्टफोन कम्प्युटर जतिकै शक्तिशाली हुने उसको दाबी छ। एआरएम भी ८ बेस्ड आइफोन ५ एस डुअल कोर प्रोसेरका कारण ग्राफिक्स क्षमता उच्च छ। आइफोन ५ एस अहिलेसम्म बजारमा भएका सबै भन्दा राम्रो गेमिङ डिभाइस हो। उच्च क्षमताको चिप्सका कारण भिजुवल इफेक्ट्स सहितका गेम खेल्न यसमा सजिलो हुनेछ। ५ एसको अर्को नयाँ फिचर भनेको ट्रू टोन फ्लास हो। यो पहिलो पटक मोबाइल सेटमा समावेश गरिएको छ। यसले तपाइँले खिचेका फोटाहरुलाई 'सार्प' पारिदिनेछ।

iphone 5s

आइफोन ५ एसको टच आइडी सेन्सर टेक्नोलोजी स्मार्टफोन प्रयोगकर्ताका लागि विल्कुलै नयाँ हो। यसले प्रयोगकर्ताको फिङ्गर प्रिन्ट लिन्छ। एप्पलको स्मार्टफोनको स्क्यानरले ३६० डिग्रीमा स्क्यान गर्न सक्छ। यसको मतलब प्रयोगकर्ताको औंला धेरै घुमाइरहनु पर्दैन। बूढी औंला मात्र नभइ यसले धेरै औंलालाई चिन्ने क्षमता राख्छ। ल्यापटपमा प्रयोग हुँदै आएको स्वाइप गर्ने प्रविधि भन्दा यो सुपरियर मानिएको छ। फिङ्गर प्रिन्ट सेन्सरसँगै एप्पलले आफ्नो डिभाइस सेक्युरिटी र अनलाइन आइडन्टिटीको सुरक्षा बढाएको छ। फिङ्गर प्रिन्ट स्क्यानरले आइफोन ५ एसलाई चोर र ह्याकरहरुबाट बचाउनेछ। प्रयोगकर्ताको फिङ्गर प्रिन्ट डाटा प्रोसेरमा स्टोर हुनेहुँदा कसैले यो फोन चोरे पनि चलाउन सम्भव हुँदैन। एप्पलका अनुसार स्टोर भइसकेको फिङ्गर प्रिन्ट उल्ट्याउन सम्भव छैन।

नयाँ टेक्नोलोजी भनिए पनि आइफोनको फिङ्गर प्रिन्ट स्क्यानरले पसिना आएको औंलालाई रिड गर्न सक्दैन।

यसको मूल्य १६ जिबीका लागि ६४९ अमेरिकी डलर पर्नेछ।

(एजेन्सीको सहयोगमा)

प्रकाशित: २८ भाद्र २०७० २२:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App