नेपाली कम्युनिष्ट पार्टीका नेता हरिबोल गजुरेलले आगामी निर्वाचनमा नयाँ अनुहारलाई अघि बढाउने विषयमा पार्टीले छलफल सुरु गरेको बताएका छन् । मङ्गलबार खोटाङ सदरमुकाम दिक्तेलमा आयोजित ‘एकता सन्देश सम्प्रेषण कार्यक्रम’मा बोल्दै पार्टी प्रदेश इन्चार्जसमेत रहेका नेता गजुरेलले सो कुरा बताएका हुन् ।
आउँदो निर्वाचनमा नयाँ अनुहारलाई प्राथमिकता दिने विषयमा पार्टीमा छलफल सुरु भईसकेको बताउँदै उनले भदौ २३ र २४ गतेको जेनजेड आन्दोलनको चाहना पनि त्यहीँ भएको बताए । ‘वर्तमान सरकारले घोषणा गरेको निर्वाचनमा धेरैभन्दा धेरै नयाँ अनुहारलाई मौका दिने योजना पार्टीले बनाउँदैछ’ गजुरेलले भने ‘जेनजेड आन्दोलनको भावना अनुसार नयाँ अनुहारहरु राज्यको मूल प्रवाहमा आउनुपर्छ भन्ने हाम्रो मान्यता छ ।’
यस विषयमा नेपाली कम्युनिष्ट पार्टीको स्पष्ट दृष्टिकोण आईसकेको बताउँदै गजुरेलले बिगतमा भएका कमीकमजोरीहरु सच्याउँदै अगाडि बढ्न पनि पार्टीले त्यो काम गर्नैपर्नेमा जोड दिए । गजुरेलले आगामी निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीले बहुमत जित्ने निश्चित रहेको दावी गर्दै त्यसपछि स्थीर सरकार बनाएर समाजवादी क्रान्तिको यात्रा तय गरिने बताए ।
देशका सबै वामपन्थी राजनीतिक दलहरु एकैठाउँ जम्मा भएर छिट्टै समाजवादी व्यवस्था स्थापना गर्न एकलाको विकल्प नरहेको ठहरसहित ध्रुविकरण अभियान चलाइएको उनको भनाई थियो । अबको कार्यभार समाजवादी क्रान्ति भएको र त्यसलाई पूरा गर्न सबै वामपन्थी राजनीतिक दलबीच एकता अनिवार्य रहेको गजुरेलले बताए ।
प्रकाशित: २ पुस २०८२ १४:३५ बुधबार





