७ वैशाख २०८१ शुक्रबार
प्रविधि

प्रविधि स्तरोन्नति गर्दै टेलिकम

सञ्चार

सूचना प्रविधिमा आएको तीव्र विकासले मासिनको जीवन जिउने शैली फेरिएको छ। पछिल्लो दशक सूचना तथा सञ्चार क्षेत्रमा भएको प्रगतिले सबैको हात–हातमा स्मार्ट फोन छ। घरघरमा इन्टरनेट सुविधा पुग्ने क्रममा छ।

सेवामा आएको विविधीकरणसँगै उपभोक्ताका आवश्यकता र प्राथमिकता फेरिएका छन्। ती आवश्यकतालाई पूरा गर्न नेपाल टेलिकमले पुराना प्रविधिलाई विस्थापित गर्दै नयाँ प्रविधिलाई स्तरोन्नति गरिरहेको छ। त्यसका लागि अत्याधुनिक उपकरण र प्रविधिको पूर्वाधार निर्माण अघि बढाएको छ।

आधारभूत टेलिफोन, जिएसएम मोबाइल, सिडिएमए प्रविधमार्फत भ्वाइस सेवा, एडिएसएल, २ जी, ३ जी, फाेरजी/एलटिई, वाइम्याक्स, एफटिटिएच प्रविधिमार्फत इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको टेलिकमले पुराना प्रविधिलाई विस्थापित गर्दै नयाँ प्रविधि प्रयोगमा ल्याएको हो।  

प्रविधिमा आएको फड्कोसँगै टेलिकमले गुणस्तर अभिवृद्धि गर्दै प्रविधिको स्तरोन्नतिलाई प्राथमिकतामा राखेको छ। प्रविधिको स्तरोन्नतिसँगै सेवामा गुणस्तर अभिवृद्धि गर्ने काम गरिरहेको नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी बताउँछन्। ‘विश्वमा आएका पछिल्ला नवीनतम प्रविधिलाई प्रयोगमा ल्याएका छौं,’ अधिकारीले भने, ‘सेवासँगै गुणस्तर अभिवृद्धिमा ध्यान दिएका छौं।’

सहरदेखि ग्रामीण क्षेत्रमा अप्टिकल फाइबर, माइक्रो वेभ, नयाँ टावर निर्माण, ट्रान्समिटर नेटवर्क, पावर सिस्टम अपग्रेड गर्ने, कपर वायरलाई विस्थापित गर्ने काम गरिरहेको छ। ‘सिस्टमका कारण उपभोक्ता सेवाबाट वञ्चित हुनु नपरोस् भनेर आवश्यक पूर्वाधार तयार गरिरहेका छौं,’ अधिकारीले भने, ‘नयाँ उपकरण पनि जडान गरेका छौं।’

टेलिकमले वाइम्याक्स, सिडिएमएजस्ता प्रविधिलाई क्रमिक रूपमा विस्थापित गर्दै चौथो पुस्ताको फाेरजी/एलटिई, एफटिटिएच सेवा विस्तारलाई अघि बढाएको छ। एउटै लाइनबाट गुणस्तरीय टेलिफोन, तीव्र गतिको इन्टरनेट र टेलिभिजनसमेत हेर्न मिल्ने एफटिटिएच सेवा विस्तार गर्ने कामलाई अघि बढाएको हो।

फाेरजी/एलटिई सेवा समुन्द्री सतहदेखि ३ हजार ८ सय ८६ मिटर अग्लो स्याङबोचेसम्म विस्तार गरेको छ। मुलुकका ७७ वटै जिल्लाका ६ सय ४५ स्थानीय तहमा सेवा उपलब्ध गराएको टेलिकमका सहप्रवक्ता रञ्जित लोहियाले बताए। ‘यो वर्ष मुलुकका ७ सय ५३ वटै स्थाीय तहमा सेवा विस्तार गर्ने योजना छ,’ लोहियाले भने, ‘सेवा विस्तारका लागि काम भइरहेको छ।’ फाेरजीअन्तर्गत नेटवर्क वान, नेटवर्क टु र कोर सिस्टम बनाएको छ। यो परियोजनाका लागि करिब १८ अर्ब रूपैयाँ बजेट विनियोजन भएको टेलिकमका कम्पनी सचिव राजेन्द्र श्रेष्ठले बताए।

त्यसैगरी, कपरनेटलाई विस्थापित गरेर फाइबरमा आधारित एफटिटिएच सेवालाई अघि बढाएको छ। टेलिकमले यो सेवा ४७ जिल्लामा पुर्‍याइसकेको छ। एफटिटिएच सेवामा उपभोक्ताले टेलिफोन, इन्टरनेट र टेलिभिजन हेर्न पाउँछन्। ‘थप दुई आवमा मुलुकभरबाट पुरानो कपरलाइन विस्थापित गर्ने योजना छ,’ उनले भने, ‘एउटै तारबाट उपभोक्ताले तीनवटा सेवा लिन सक्छन्।’

एफटिटिएचअन्तर्गत डेटामा ९९ हजार ५ सय ७, भ्वाइसमा १ लाख ८ हजार ५ सय, आइपिटिभीमा ७ सय २० सेवाग्राही पुगेका छन्। यो वर्ष ६० जिल्लामा कपर वायर विस्थापित गर्ने लक्ष्य लिएको एफटिटिएच परियोजना निर्देशक अनन्तमान सिंहले बताए। सिंहका अनुसार बागलुङ, कुश्मा, बनेपा, बर्दघाट, धादिङमा कपर विस्थापित भएको छ। ‘कोभिडका कारण यो वर्ष लक्ष्यअनुसार काम हुन सकेको छैन,’ उनले भने, ‘एउटै तारमार्फत घरघरमा सेवा पुर्‍याउने काम गरिरहेका छौं।’ यसका लागि करिब २ अर्ब रूपैयाँ बढी खर्च हुने जनाइएको छ।  

डिजिटल नेपाल अभियानअन्तर्गत सबै जिल्ला सदरमुकाममा इन्फर्मेसन सुपर हाइवे (सूचना महामार्ग) पुर्‍याउने योजना रहेको छ। त्यसका लागि नेपाल दूर सञ्चार प्राधिकरणको दूर सञ्चार कोषअन्तर्गत पाँचवटा प्रदेशमा अप्टिकल फाइबर बिच्छ्याउने काम अघि बढेको छ। यसका लागि प्राधिकरणले टेलिकमलाई जिम्मा दिएको हो।

टेलिकमबाट निर्माण एवं सञ्चालन हुने अप्टिकल फाइबर सूचना महामार्गको रूपमा लिइएको छ। यसले ठूला सञ्चार पूर्वाधारमा हुने दोहोरो लगानीसमेत न्यूनीकरण हुने अपेक्षा गरिएको छ। दूरसञ्चार सेवा तथा सूचना प्रविधिमा आधारित इ–गभर्नेन्सलगायत सेवालाई सस्तो, सर्वसुलभ र भरपर्दो बनाउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास लिइएको छ।  

मध्य पहाडी लोकमार्गमा अप्टिकल फाइबर बिच्छ्याउने योजना पाँच प्रदेशमा अघि बढेको छ। प्रदेश १, २ र ३ (वाग्मती प्रदेश)मा सम्झौता गरेर काम भइरहेको छ। तीनवटै प्रदेशमा ४ अर्ब ८८ करोड रूपैयाँ बजेट विनियोजन गरिएको छ। प्रदेश ६ (कर्णाली) र ७ (सुदूरपश्चिम) मा पनि सम्झौता भइसकेको छ। कर्णाली र सुदूरपश्चिममा ३ अर्ब ९ करोड रूपैयाँ छ। मध्यपहाडी अप्टिकल फाइर परियोजना निर्देशक विनिता श्रेष्ठका अनुसार अहिलेसम्म करिब ३५ प्रतिशत काम भएको छ। ‘अधिकांश ठाउँमा जमिनमुनि अप्टिकल फाइबर बिच्छ्याएका छौं,’ श्रेष्ठले भनिन्, ‘केही ठाउँमा पोलमार्फत पनि लैजान्छौं।’

मुलुकमा नेपाल टेलिकमका सेवाको टेलिघनत्व ७०.६७ पुगेको छ। टेलिकमका अनुसार गत पुससम्मको तथ्यांकअनुसार २ करोड ११ लाख ८७ हजार ८ सय ४९ ग्राहकलाई दूर सञ्चार सेवा प्रदान गरेको छ। कम्पनीले प्रयोगकर्तामध्ये १ करोड ८६ लाख ८७ हजार ३ सय १ जिएसएम मोबाइल सेवा, १८ लाख ९ हजार ३ सय ८ सिडिएमए मोबाइल सेवा, ६ लाख ६ हजार ८ सय ५७ स्थानीय टेलिफोन पिएसटिएन सेवा लिएका छन्। एडिएसएल, एफटिटिएच, वाइम्याक्स, मोबाइल डाटासहित इन्टरनेट सेवा प्रयोगकर्ताको संख्या १ करोड ६७ लाख ६ हजार ९ सय ५६ पुगेको टेलिकमले प्रकाशन गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ।

देशका सहरी क्षेत्रदेखि लिएर अति विकट ठाउँमा समेत सस्तो र भरपर्दो दूरसञ्चार सेवा उपलब्ध गराउने लक्ष्य लिएको टेलिकमका सूचना अधिकारी तिलक शर्मा कँडेल बताउँछन्। ‘सस्तो र भरपर्दो दूरसञ्चार सेवा सर्वसुलभ रूपमा सबैलाई उपलब्ध गराउने अभियान अघि बढेको छ,’ कँडेलले भने, ‘दूरसञ्चार क्षेत्रमा अग्रणी सेवा प्रदायक निकाय भएकाले उपभोक्ताको विश्वास जितेका छौं।’ दूरसञ्चार सेवामार्फत मुलुकको आर्थिक र सामाजिक विकासमा उल्लेखनीय योगदान पुर्‍याउने अभियान अघि बढाएको जनाएको छ।

टेलिकमले मुलुकको ढुकुटीमा पनि राजस्वमार्फत योगदान पुर्‍याएको छ। कुल आयको ५० प्रतिशतभन्दा अधिक हिस्सा आयकर, मूल्य अभिवृद्धि कर, सेवाशुल्क, रोयल्टी, लाभांशलगायत शीर्षकका ढुकुटीमा जम्मा गरेर समेत योगदान पुर्‍याएको टेलिकमले जनाएको छ। कोभिड–१९ का बेला प्रभावित ग्राहकलाई टपअप प्रदान गरेर शतप्रतिशत बोनस, जिरो ब्यालेन्स प्याकेज, मोबाइल इन्टरनेट सेवाको आधारमा प्रदान गरिएको २७ देखि ३० प्रतिशत दिएर उपभोक्तालाई राहत दिएको थियो।  

कोरोना राहत कोषमा टेलिकमले १० करोड रूपैयाँ र कर्मचारीको तर्फबाट २ करोड गरी १२ करोड योगदान गरेको थियो। कोभिडको समयमा वैकल्पिक शिक्षा प्रणाली अघि बढाउन हेप्पी लर्निङ प्याकेजका कारण विश्वविद्यालय र ती अन्तर्गतका अध्ययन, अध्यापन, अनुसन्धान र डिजटल साक्षरतामा टेवा पुगेको थियो। टेलिकमले नेपाल सरकारको आकस्मिक विद्यालय सञ्चालन कार्ययोजनाअन्तर्गत पाठशालामा सियुजी सिम र सियुजीसहितको इन्टरनेट सेवा पनि प्रदान गरेको थियो।

किफायती मूल्यमा गुणस्तरीय र भरपर्दो भ्वाइस तथा इन्टरनेट सेवा आम उपभोक्तालाई उपलब्ध गराएको छ। यो वर्ष मुलुकका विकट स्थानमा ४६ वटा बिटिएस जडान गरेको छ। आफ्ना वायरलाइन सेवा उपयोग गर्ने ग्राहकलाई उन्नत प्रविधिमार्फत गुणस्तरीय सेवा प्रदान गर्दै जाने जनाएको छ।

प्रकाशित: ११ चैत्र २०७७ ०५:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App