१३ फाल्गुन २०७७ बिहीबार
प्रविधि

मंगल ग्रहमा पहिलो मानव पाइला यही दशकमा सम्भव हुँदै

नासाको यान शुक्रबार अवतरण गर्ने

आगामी शुक्रबार सबेरै नासाको अन्तरिक्ष यान ‘परसरभेरेन्स’ मंगल ग्रहको सतहमा उत्रने छ। गत साता मात्रै युएईको ‘होप मिसन’ अन्तर्गतको अर्काे यान मंगल ग्रहको कक्ष प्रवेश गरिसकेकोछ। त्यसको लगत्तै मंगल ग्रहको अध्ययन गर्न चीनले एक अर्काे मिसन प्रक्षेपण गरिसकेकोछ। विभिन्न ग्रहको अन्वेषणको निरन्तरताको क्रममा पछिल्ला वर्षमा मंगल ग्रहको अन्वेषणमा सबैको चासो बढेको छ।  

मंगल ग्रह र पृथ्वी दुवैले सुर्यको परिक्रमा गर्ने भएकाले पृथ्वीबाट मंगल ग्रहमा पुग्न त्यति सजिलो छैन। तर हरेक २६ महिनामा यी दुई ग्रह एक आपसमा नजिकिने भएकाले यही बेला छोपेर मंगल ग्रहको अन्वेषणका लागि विभिन्न अध्ययन मिसन प्रक्षेपण गर्ने गरिन्छ। सन् १९६० देखि हरेक दुई वर्षमा विभिन्न स्पेस एजेन्सीले मंगल ग्रहका लागि विभिन्न अभियान सञ्चालन गरेका थिए। सन् १९७६ देखि सन १९९२ सम्ममा गरिएका अधिकांश मिसन उपलब्धिविहीन रहे। यी दुई ग्रह नजिक भएका बेला यस्ता मिसन सञ्चालन गरिने गर्दछ। तर, इतिहासमा पहिलोपटक, एउटै ‘लन्च विन्डा’ अर्थात दुई ग्रह नजिकिने समयमा ३ वटा अन्तरिक्षसम्बन्धी भिन्न एजेन्सीले मंगल अभियान सञ्चालन गरेका छन् र एकैपटक मंगल ग्रहको कक्षमा यति धेरै एजेन्सीका यान एकैपटक पुग्न लागेका छन्। अहिले अमेरिका, युरोपियन युनियन, भारत, चीन, युएइका ५ अन्तरिक्ष एजेन्सीका १० बटा स्पेसक्राफ्ट मंगल ग्रहका कक्षलाई घुमिरहेका छन् अथवा मंगल ग्रहको सतहमा छन्। 

यस्तै नासाको ‘परसरभेरेन्स’ र चीनको ‘टियनवेन–१’ नामक अन्तरिक्ष यान क्रमशः फेब्रुअरी १८ र आगामी मे महिनामा मंगल ग्रहमा अवतरण गर्नेछन्। नासाले मंगल ग्रहको कक्षको परिक्रमा गर्ने तीन यान, सतहमा अवतरण गरेर अध्ययन गर्ने अन्य दुई यान प्रक्षेपण गरेको छ भने भारतले उक्त ग्रहको कक्षमा परिक्रमा गर्ने मंगलयान–१ नामक यान प्रक्षेपण गरिसकेको छ। यसैगरी, सो ग्रहको कक्षमा परिक्रमा गर्नेमा युरोपियन यूनियनका २, चीन तथा यूएइले १–१ अन्तरिक्ष यान रहेका छन्। अन्तरिक्षको अन्वेषणका लागि कम लागतमै प्रविधिको उपलव्धता भएका कारण यस्ता अभियानको संख्या ह्वात्तै बढेको हो। पछिल्ला वर्षमा विभिन्न ग्रहको अन्वेषणका लागि यस्ता अभियानमा तीव्रता आएकोछ भने मंगल ग्रहप्रतिको आकर्षण सबैभन्दा बढी छ।  

युएईको मिसन अफ होप

गत जुलाईमा प्रक्षेपण गरिएका ३ मध्ये २ मंगल मिसनले काम गर्न थालिसकेका छन। १ करोडभन्दा कम जनसख्या भएको सानो देश युएइले समेत यो दौडमा आफूलाई उभ्याएर संसारलाई चकित पारेको छ। अमेरिका, इयु, रुस तथा भारतपछि यो अभियानमा जुट्ने पाचांै राष्ट्र युएई बनेकोछ। युएईको ‘होप अर्विटर’ले फेब्रुअरी ९ मा मंगल ग्रह कक्षमा प्रवेश गरेको थियो। यो यान चीनको भन्दा एक दिनअघि उक्त कक्षमा प्रवेश गरेको थियो। युएई मिसनअन्तर्गत मंगल ग्रहको वायुमण्डलको अध्ययन गरिनेछ। मंगल ग्रहमा वायुमण्डलको विनास किन भयो भन्ने प्रश्नको उत्तर पत्ता लगाउने महत्वपूर्ण उद्देश्य यो मिसनको छ। उक्त ग्रहमा वायुमण्डलको विनास भएपछि सतहका पानी र जिवनका लागि आवश्यक वातावरणको विनास भएको थियो।

चीनको प्रयास

चीनको नेसनल स्पेस एजेन्सीले चन्द्रमामा गरिएका विभिन्न सफल अभियान पछि मंगल ग्रहलाई अध्ययनको केन्द्रमा ल्याएको हो। विशेषगरी चन्द्रमाको अत्यन्त चिसो सतहमा १४ दिनसम्म बसेर चीनका ४ वटा सतही यान(रोभर)ले चन्द्रमाको सतहको अध्ययन गरेका थिए र चटन समेत लिएर फर्केका थिए। चीनकोे पहिलो मिसनअन्तर्गत ‘टियानवेन–१’ ले गत फेब्रुअरी १० मा मंगल ग्रहको कक्षमा प्रवेश गरेको थियो। ‘टियानवेन–१’ अन्तर्गत मंगल ग्रहको कक्षमा परिक्रमा गरेर अध्ययन गर्ने यान तथा सतहमा अध्ययन गर्ने ‘ल्यान्डर’ तथा ‘रोभर’ समावेश छन्। ‘टियानवेन–१’का रोभरले सुरुका केही महिना मंगल ग्रहको कक्षको परिक्रमा गर्नेछन् भने त्यसपछि आगामी मे महिनामा सतहमा अवतरण गर्नेछन्। 

यो अन्तरिक्ष यानमा विभिन्न वैज्ञानिक प्रश्नको उत्तर खोज्नका लागि प्रविधि जडान गरिएकोछ। खासगरी मंगल ग्रहको सतहमा पानी भएनभएको अध्ययन गर्न सतहभित्र गएर अध्ययन गर्ने राडार संयन्त्रसमेत यस्मा जडान गरिएको छ। मंगल ग्रहको सतहमध्ये पानी भएको भनेर मानिएको स्थान ‘युटोपिया प्लान्टिया’मा उक्त रोभर अवतरण गर्ने तयारी छ।

यो साता, परसेभेरेन्स

सबैभन्दा जटिल मानिएको नासाको ‘परसेभेरेन्स’ नामक रोभर शुक्रबार सबेरै मंगल ग्रहको सतहमा अवतरण गर्नेछ। मंगल ग्रहमा नासा मिसनको चौथौं संस्करणका रूपमा यसपटक मंगल ग्रहमा सुकेका तालबारेमा अध्ययन गरिनेछ। यसैगरी सो ग्रहमा यसअघि जीवन भएका नभएका अध्ययन गर्न जीवाष्माका समेत उत्खनन गरिनेछ। यसैगरी, यो अभियानअन्तर्गत इतिहासमा पहिलोपटक मंगल ग्रहको सतहमा रहेको कार्बन डाइअक्साइडबाट अक्सिजन उत्पादन गरिनेछ। यसैगरी, यो अभियानअन्तर्गत चटन पनि संकलन गरेर पृथ्वीमा ल्याइनेछ।

अमेरिकाका इलोन मस्कको प्रस्तावित उद्यम

अमेरिकी नागरिक इलोन मस्कले प्रवद्र्र्धन गरेको र पूर्वी टेक्सासमा रहेको एक निजी कम्पनी स्पेस एक्सले पृथ्वीबाट व्यापारिक हिसाबले यात्रुलाई मंगल ग्रह घुमाउने उद्देश्य लिएको छ। केही वर्षअघिसम्म नामै नसुनिएको बोकाचिका हाल अन्तरिक्ष यान विकास गर्ने स्थानको रूपमा परिचित भएको छ। त्यसो त, अन्तरिक्ष अन्वेषणमा मानिसको संलग्नता ५० वर्षअघि नील आर्मस्ट्रोङले चन्द्रमामा पाइला टेकेपछि सुरु भएको मानिन्छ। त्यसपछि मानवले अर्काे सम्भावित गन्तव्यमा रूपमा मानिएका मंगल ग्रहमा टेक्ने सफलता हासिल गरेको छैन। यस्को प्रमुख कारण यो अभियानको चर्काे मूल्य हो। अन्तरिक्ष यात्राका हिसाबले तुलनात्मक हिसाबले चन्द्रमा पृथ्वीबाट मात्र ३ दिन टाढा छ भने मंगल ग्रह ७ महिना टाढा छ। अन्तरिक्ष यात्रामा यान भित्र तापक्रमलाई नियन्त्रणमा राखेर, पानी र अक्सिजनको व्यवस्था गरेर झण्डै १८ महिना लामो मंगल ग्रहको यात्राको व्यवस्थापन गर्नु आफैंमा चुनौतीपूर्ण छ। 

यसैगरी, रोबोट मिसनभन्दा फरक हिसाबले मानव मिसन पृथ्वीमा फर्कनुपर्ने हुन्छ र दुवैतर्फका यात्राका लागि ठुलो मात्रामा इन्धनको आवश्यकता रहन्छ। इन्जिनियरिङको यही जटिलताका कारण चन्द्र अभियान गर्दा लाग्ने सरदर २५० अर्ब अमेरिकी डलर बराबरको खर्च मंगल अभियान सञ्चालन गर्दा १००० अर्ब अमेरिकी डलरमा पुग्दछ। तर अन्तरिक्ष यानमा आएका प्रविधिगत नवीनताले यस्को मूल्यमा कमी ल्याइएको छ। त्यसमध्ये स्पेसक्रफ्टलाई कक्षमा घुमिरहेको बेला इन्धन भर्ने सुविधा पनि एक हो। यसैगरी मंगल ग्रहको सतहमा पाइने बस्तुले रकेट इन्धनको बनाउन सकेमा फर्कदा लाग्ने इन्धन बोकेर जानुपर्ने आवश्यकत रहँदैन।  

मंगल मिसनको आगामी दशक

इतिहासमा सन २०२० कोभिड–१९को महामारीको हिसाबले सम्झिनेछ। तर आगामी दशक मंगल ग्रहमा पहिलो मानव पाइलाको दशक पनि हुन सक्छ। हाल भैरहेका विभिन्न अभियानको सफलताले अन्तरिक्षयात्री सहितका यान अन्तत मंगल ग्रह पुग्न सक्ने संभावना देखिएकोछ।  

(डा. अमिताभ घोस नासाका प्लानेटरी साइन्टिस्ट हुन्। उनले यो लेख इन्डियन एक्सप्रेसमा प्रकाशित सामग्री हो।)

प्रकाशित: ६ फाल्गुन २०७७ ०७:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App