इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले लेबनानसँग इजरायलको कुनै 'युद्धविराम' नभएको बताएका छन्। उनले उत्तरी इजरायलका बासिन्दालाई सम्बोधन गर्दै हिजबुल्लाहमाथि पूर्ण शक्तिले आक्रमण जारी राख्ने स्पष्ट पारेका हुन्।
नेतान्याहूले भने, ‘म तपाईंलाई भन्न चाहन्छु कि लेबनानमा युद्धविराम भएको छैन। हामी पूर्ण शक्तिका साथ हिजबुल्लाहमाथि आक्रमण गर्न जारी राखेका छौं र हामी तपाईंको सुरक्षा पुनर्स्थापित नगरेसम्म रोकिने छैनौं।’
यसअघि उनले मन्त्रिपरिषद्लाई लेबनानसँग वार्ता गर्न निर्देशन दिएको बताएका थिए। उनले थपे, ‘इजरायलसँग प्रत्यक्ष वार्ता सुरु गर्न लेबनानले बारम्बार गरेको अनुरोधलाई ध्यानमा राख्दै, मैले हिजो सरकारी बैठकमा लेबनानसँग प्रत्यक्ष वार्ता सकेसम्म चाँडो सुरु गर्न निर्देशन दिएको छु।’
इजरायली वायुसेनाले लेबनानमा हिजबुल्लाहका प्रक्षेपण स्थलहरूमा आक्रमण तीव्र पारेको छ, जसबाट थुप्रै घरहरू ध्वस्त भएका छन्। जवाफमा हिजबुल्लाहले पनि उत्तरी इजरायल र हाइफा सहरमा 'उन्नत क्षेप्यास्त्र' प्रहार गरेको छ। हिजबुल्लाहले एक विज्ञप्तिमा भनेको छ, ‘शत्रुले युद्धविराम पालना नगरेको’ कारण आफूहरूले कारबाही गर्नुपरेको हो।
इजरायलका विभिन्न क्षेत्रमा अहिले हवाई आक्रमणको चेतावनी दिने साइरन बजिरहेका छन् भने दुवैतर्फबाट सैन्य कारबाही जारी छ। एजेन्सी
प्रकाशित: २७ चैत्र २०८२ ०९:५४ शुक्रबार





