नयाँ वर्षको पहिलो दिन मंगलवार ताप्लेजुङस्थित पाथीभरा मन्दिर दर्शनार्थीको भीड लागेको छ। पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार मन्दिरको दर्शनका लागि भक्तजनहरू बिहानबाटै लाइन लागेर पूजाअर्चना गरिरहेका छन्। ‘अहिले नै संख्या अनुमान गर्न त सकिदैंन, तर मन्दिरमा आउने दर्शनार्थीको घुइँचो नै छ,’ महतले भने।
गत शनिबार पाथीभरामा एकै दिन ७ हजार २२ दर्शनार्थी मन्दिर पुगेका थिए। महतले नयाँ वर्षको पहिलो दिन मन्दिरमा दर्शनार्थीको उपस्थिति निकै बाक्लो रहेको जानकारी दिए। यसैबिच चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्ममा पाथीभराबाट झण्डै ३ करोड रुपैयाँ भेटी संकलन भएको छ।
पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार यो अवधिसम्ममा २ करोड ९६ लाख ४२ हजार ६०० रुपैयाँ भेटि संकलन भएको छ। चालु आवको चैत मसान्तसम्ममा १ लाख ८० हजार ३०६ जना दर्शनार्थी मन्दिरको दर्शनका लागि आएका क्षेत्र विकास समितिले जनाएको छ।
सबैभन्दा बढी दर्शनार्थी चैत महिनामा आएका छन्। चैत महिनामा ४८ हजार १५५ जना दर्शनार्थीले मन्दिरको दर्शन गरेका छन्। कात्तिकमा ४२ हजार २६१ जना, असोजमा २९ हजार १७४ जना, मंसिरमा १९ हजार १८१ जना, फागुनमा १८ हजार ६५२ जना, माघमा १० हजार ३२३ जना, पुसमा ५ हजार ९११ जना, भदौमा ४ हजार ५०३ जना र साउनमा २ हजार १४६ जना दर्शनार्थी मन्दिरको दर्शनका लागि आएका छन्।
सबैभन्दा बढी भेटी भने मंसिर महिनामा संकलन भएको छ। उक्त महिनामा ७५ लाख ४९ हजार १०० रुपैयाँ संकलन भएको क्षेत्र विकास समितिले जनाएको छ। चैत महिनामा ५८ लाख ४४ हजार ५०० रुपैयाँ, कात्तिकमा ३४ लाख ४८ हजार ५०० रुपैयाँ, असोजमा ३३ लाख ८२ हजार रुपैयाँ, फागुनमा ३१ लाख १० हजार रुपैयाँ, पुसमा २४ लाख २५ हजार रुपैयाँ, माघमा १८ लाख ४७ हजार ५०० रुपैयाँ, साउनमा १० लाख ३९ हजार रुपैयाँ र भदौ महिनामा ९ लाख ९७ हजार रुपैयाँ भेटी संकलन भएको क्षेत्र विकास समितिले जनाएको छ।
प्रकाशित: १ वैशाख २०८३ १०:२६ मंगलबार





