३ वैशाख २०८३ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पाकिस्तानी मन्त्रीले ‘क्यान्सरग्रस्त राष्ट्र’ भनेपछि भड्कियो इजरायल

इजरायलले पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफको भनाइलाई ‘लज्जास्पद र निन्दनीय’ भनेको छ। आसिफले इजरायललाई ‘मानवतामाथिको दाग’ र ‘क्यान्सरग्रस्त राष्ट्र’ भनेपछि इजरायलले तीव्र प्रतिक्रिया जनाएको हो।

पाकिस्तान, अमेरिका र इरान युद्धविरामका लागि मध्यस्थता गरिरहेका बेला यो विवाद सतहमा आएको हो। रक्षामन्त्री आसिफले सामाजिक सञ्जालमा लेखेका छन्, ‘इजरायल दुष्ट छ र मानवतामाथिको कलंक हो। इस्लामावादमा शान्तिको चर्चा भइरहेको बेला, यसले लेबनानमा नरसंहार गरिरहेको छ।’ उनले प्यालेस्टिनी भूमिमा इजरायल स्थापना गर्नेहरू ‘नर्कमा जलून्’ भन्दै कडा आलोचना गरे।

जवाफमा इजरायली विदेशमन्त्री डिजियन सारले यसलाई यहूदी विरोधी र रक्तपातपूर्ण आरोपको संज्ञा दिए। उनले भने, ‘यहूदी राज्यलाई क्यान्सरग्रस्त भन्नु यसको विनाशको लागि आह्वान गर्नु जस्तै हो। इजरायलले यसलाई नष्ट गर्ने वाचा गर्ने आतंककारीहरू विरुद्ध आफ्नो रक्षा गर्नेछ।’ 

इजरायली प्रधानमन्त्रीको कार्यालयले पनि पाकिस्तानको यस्तो बयान आपत्तिजनक रहेको बताएको छ।

युद्धविरामको सर्तमा लेबनान समेटिएको विषयमा पनि मतभेद देखिएको छ। इरान र पाकिस्तानले इजरायली आक्रमणलाई सम्झौताको उल्लङ्घन बताएका छन् भने इजरायल र अमेरिकाले लेबनान युद्धविराममा नरहेको दाबी गरेका छन्। यद्यपि, प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले लेबनानसँग प्रत्यक्ष वार्ता सुरु गर्न आफ्नो मन्त्रिपरिषद्लाई निर्देशन दिएका छन्।

इजरायलले पाकिस्तानलाई ‘अविश्वसनीय’ खेलाडी भने पनि अमेरिकाले भने पाकिस्तानको मध्यस्थतालाई स्वीकार गरेको छ। इरानी विदेशमन्त्री र पाकिस्तानी प्रधानमन्त्रीले युद्धविरामको प्रयासका लागि एकअर्कालाई धन्यवाद दिएका छन्। एजेन्सी 

प्रकाशित: २७ चैत्र २०८२ १०:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App