४ वैशाख २०८१ मंगलबार
प्रविधि

पर्यटनमा नयाँ प्रडक्ट ‘केबुलकार’

पोखरामा पर्यटक रमाउने धेरै पूर्वाधार छन् । पोखरा घुम्न आउने स्वदेशी वा विदेशी पाहुनाले पोखराका ती पूर्वाधारलाई अधिक रुचाएका पनि छन् । त्यसैले त पोखरामा घुम्नकै लागि बर्सेनि आन्तरिक र बाह्य गरी लाखौं पर्यटक आउँछन् ।

तालतलैयामा डुंगा सयर, साइक्लिङ, गुफा, झरना, मठमन्दिर, आसपासका क्षेत्रको हाइकिङ, शान्तिस्तुपा, संग्रहालयलगायत क्षेत्र पहिलेदेखि नै चल्दै आएका पोखराका स्थायी, चल्तीका गन्तव्य र पूर्वाधार हुन् । तीबाहेक आकाशमा चरा झैं उड्ने अल्ट्रालाइट, प्याराग्लाइडिङ, जाइरोकप्टरका प्रडक्ट पनि यहाँ उत्तिकै चल्तीमा छन् । यिनै प्रडक्टबीच अबको केही महिनामा केबुलकार पनि थपिँदा पोखरा आएका पर्यटकले थप नौलो पूर्वाधारमा रमाउन पाउनेछन् ।

पोखरामा अन्नपूर्ण केबुलकार कम्पनीले सेदी–सराङकोट २.५ किलोमिटर लामो केब’लकार निर्माण गरिरहेको छ । कोरोना भाइरस संक्रमणले लकडाउन नहुँदो हो त गएको दसैंमै केबुलकार सञ्चालनमा आइसक्थ्यो । तर, कोरोनाका कारण समयमै यसले काम सक्न नपाउँदा सञ्चालनको मिति धकेलिएको छ । आगामी वैशाख १ गते यो केबुलकार कुनै पनि हालतमा सञ्चालनमा ल्याउने तयारी सञ्चालकको छ ।

केबुलकार कम्पनीका निर्देशक तीर्थ त्रिपाठीका अनुसार केबुलकारका लागि आवश्यक भौतिक पूर्वाधारको निर्माण झन्डैझन्डै सकिएको छ । अब केबुलकारको तार (लट्ठा) तान्ने, गन्डोला (डिब्बा) जडान गर्ने र मेसिन परीक्षणको काम मात्र बाँकी रहेको उनले बताए । ‘कोरोनाका कारण अन्तर्राष्ट्रिय उडान नहुँदा जापानी प्राविधिक नेपाल आउन पाएनन् । प्राविधिक आउन नपाउँदा तार तान्ने र गन्डोला जडानको काम रोकिएको हो,’ त्रिपाठीले भने, ‘अब भने जापानी प्राविधिक आउने तयारीमा छन् । उनीहरू नआएसम्म काम हुँदैन । त्यही भएर सञ्चालन हुन नसकेको हो ।’

केबुलकारको तार (लट्ठा) तान्ने, गन्डोला (डिब्बा) जडान गर्ने र मेसिन चलाउन जापानी कम्पनी निप्पोनका प्राविधिक आउनुपर्छ । कोरोना संक्रमणका कारण ती प्राविधिक आउन नसक्दा काम रोकिएको उनले बताए । केबुलकारमा निप्पोनकै सामग्री उपयोग भएकाले जडानमा पनि जापानी प्राविधिक नै आवश्यक पर्ने उनले सुनाए । ‘जापानी प्राविधिक आउनका लागि प्रक्रिया सुरु भएको छ । फेब्रुअरीमा ती जापानी प्राविधिक नेपाल आउनेछन्,’ उनले भने, ‘जापानी प्राविधिक आएपछि काम अघि बढ्छ । जापानी प्राविधिक ल्याउनका लागि भिसा प्रक्रिया चलिरहेको छ ।’  

वैशाख १ गते परीक्षण सञ्चालन गर्ने लक्ष्य रहेको उनले बताए । परीक्षण सञ्चालनको केही समयमै व्यावसायिक रुपमा सञ्चालनमा ल्याउने तयारी रहेको उनले सुनाए ।

कोरोनाको कहर सुरु नहुँदासम्म केबुलकारको ९२ प्रतिशत काम सकिएको थियो । तर, एकाएक उडान रोकिएपछि ती जापानी प्राविधिक आउन नसक्दा केबुलकार सञ्चालनले पूर्णता पाउन नसकेको उनले बताए । ‘हाम्रो योजना अनुसार फेब्रुअरीमा ती प्राविधिक आउनेछन् । उनीहरूले एक महिनाभित्रै बाँकी काम फत्ते गर्ने अनुमान छ,’ उनले भने, ‘कुनै पनि हालतमा वैशाख १ गते परीक्षण सञ्चालन गर्ने लक्ष्य छ ।’

त्रिपाठीका अनुसार अन्तर्राष्ट्रिय उडान खुले पनि कोरोनाको नयाँ स्वरूप फैलिँदा ती जापानी प्राविधिकलाई नेपाल आउन कठिन भएको हो । जापान सरकारले पनि आफ्ना नागरिकलाई नेपालसम्मको यात्रा अनुमति दिनुपर्छ । नेपालका तर्फबाट उडान खुले पनि जापानले आफ्ना नागरिकलाई बाहिर निस्कन नदिने हुँदा प्राविधिक आउने दिन यकिन नभएको उनले बताए । ती प्राविधिक नआएसम्म काम अघि बढ्न नसक्ने उनले जानकारी दिए ।

कोरोनाका कारण ठूलो लगानीका यस्ता पूर्वाधारले बेलैमा काम सक्न नपाएको उनले बताए । ‘कोरोना भाइरस संक्रमण नेपालको मात्र नभई विश्वभरकै समस्या हो,’ उनले भने, ‘बर्साैं समय लगाएर ठूलो लगानी गरेका लगानीकर्ता व्यवसाय सुचारु गर्ने बेलामा मारमा परेका छन् । यो अप्ठेरोबाट उठ्न समय लाग्नेछ । तर, हामी ढुक्क छौं कि अब वैशाख १ गतेदेखि सञ्चालनमा ल्याउन सकिनेछ । त्यसपछि व्यावसायिक सञ्चालनको ढोका खुल्नेछ ।’

निर्देशक त्रिपाठीका अनुसार केबुलकारका १८ वटा डिब्बा हुनेछन् । ती हरेक डिब्बाले एकपटकमा आठजना यात्रु बोक्न सक्छन् । सेदीबाट उक्लेका यात्रु १० मिनेटमै सराङकोट पुग्न सक्नेछन् । एकघण्टामा १५ सय यात्रुलाई सराङकोट उकाल्न सकिने क्षमता रहेको उनले बताए । ‘लकडाउका कारण निर्माण अवधि थपिँदै जाँदा लगानी पनि बढ्दै गयो । अहिलेसम्म करिब २ अर्ब रुपैयाँ लगानी भइसक्यो,’ उनले भने, ‘जग्गासहितको यो लगानीलाई चानचुने मान्न हुँदैन ।’

केबुलकारसँगै तल्लो र माथिल्लो स्टेसनमा रेस्टुरेन्ट पनि तयार भएका छन् । केबुलकार चढेर उक्लेका र ओर्लेका यात्रुले ती रेस्टुरेन्टमा खानपिन गर्न सक्नेछन् । खासमा यो केबुलकार दुई वर्षमा निर्माण सक्ने लक्ष्यका साथ तीन वर्षअघि बनाउन थालिएको थियो । तर, पछिल्लो एक वर्षदेखि कामले गति लिन सकेन । ‘सकिनै लागेको प्रोजेक्ट महिनौंसम्म थन्किएर बस्नुप¥यो । कोरोनाका कारण कामले गति लिन पाएन,’ त्रिपाठी भन्छन्, ‘एक वर्ष पुरै धकेलियो ।’

सञ्चालकहरू पोखरामा बनेको यो पूर्वाधार पर्यटन क्षेत्रका लागि गज्जबको ब्रान्ड बन्ने बताउँछन् । केबुलकारले मुख्यतया दुईवटा पर्यटकीय गन्तव्यलाई जोड्छ । तल्लो स्टेसनको पोखरा क्षेत्र र माथिल्लो स्टेसनको सराङकोट दुवै गज्जबका पर्यटकीय गन्तव्य हुन् । पोखरा आएकामध्ये करिब ९० प्रतिशत पाहुना घुमघामका लागि सराङकोट उक्लिने व्यवसायीको आँकलन छ । सूर्योदय र सूर्यास्त हेर्नका लागि सराङकोटमा अधिक पर्यटक जान रुचाउँछन् । सराङकोट उक्लिने र ओर्लिने तिनै आन्तरिक र विदेशी पाहुनालाई ओहोरदोहोर गराउन बिहान ६ देखि बेलुकी ७ बजेसम्म निरन्तर रुपमा केबुलकार सञ्चालनमा आउने त्रिपाठीको भनाइ छ ।

‘पोखराका लागि मात्र नभई समग्र मुलुककै पर्यटन क्षेत्रका लागि यो केबुलकार गज्जबको ब्रान्ड हुनेछ । यसले दुईवटा महत्वपूर्ण गन्तव्यलाई जोड्छ । सूर्याेदय, सूर्यास्त, हिमाली शृंखला, हरियाली र ताल हेर्न लालायित हुने पाहुनाका लागि केबुलकार गज्जबको पूर्वाधार बन्ने आँकलन छ,’ त्रिपाठी भन्छन्, ‘प्रकृतिसँग रम्दै पर्यटकहरू ओहोरदोहोर गर्नेछन् ।’ अन्नपूर्ण केबुलकारका जिएम दिनेश पौड्याल तार तान्न, गन्डेला जडान  र परीक्षण गर्नेबाहेक कुनै काम बाँकी नरहेको बताउँछन् । ‘भौतिक पूर्वाधारका सबै काम सकिएका छन् । अब केही पनि बनाउनुपर्ने काम छैन,’ उनले भने, ‘तर, मुख्य काम नै तार तान्ने र गन्डोला जडान गर्ने हो । झन्डै १० प्रतिशत बाँकी कामले अरु पूर्वाधारलाई रोकेको छ ।’  

‘स्थानीय स्तरमा बन्नुपर्ने पूर्वाधार बनिसकेका छन् । वैशाख १ मा चलाउने तयारी पनि छ,’ उनले भने । यो आयोजनाले पोखराको पर्यटनमा सुनमा सुगन्ध थप्न सघाउने पौड्यालको भनाइ छ । ‘पोखरा आफैंमा पाहुनाका लागि आकर्षक गन्तव्य हो । केबुलकारले थप पाहुनालाई पोखरा बोलाउनेछ,’ उनले भने, ‘यसको लाभ केबुलकारले मात्र नभई समग्र पर्यटन क्षेत्रले पाउनेछ । पर्यटकीय विकासका लागि यो बनाइएको हो ।’

अन्नपूर्ण केबुलकारको परामर्शदाता रोपवे नेपालका अध्यक्ष गुणराज ढकाल पनि कोरोनाले गर्दा केबुलकारको सञ्चालनमा ढिलाइ भए पनि पर्यटन क्षेत्रको विकासका लागि गज्जबको ब्रान्ड बनेको बताउँछन् । सबै काम सकिनै लाग्दा केबुलकारको काम रोकिएको उनले बताए । ‘जापानी कामदार आएर उनीहरूले सबै परीक्षण गरेपछि बल्ल केबुलकार सञ्चालनयोग्य हुनेछ,’ ढकालले भने, ‘पोखराले बर्सांैदेखि प्रतीक्षा गरिरहेको प्रडक्ट तयार भएको छ । अब केही महिनामा सञ्चालनमा ल्याउने हो भने यसले पोखराको पर्यटनलाई थप फराकिलो बनाउनेछ ।’

कोरोनापछिको पर्यटनमा यो प्रडक्टले आकर्षण थप्ने पर्यटन व्यवसायीको भनाइ छ । पर्यटन व्यवसायी पनि पोखराको यो केबुलकार योजनाले पर्यटन क्षेत्रलाई थप उचाइ दिने बताउँछन् । पोखरा पर्यटन परिषद् (पिटिसी)का अध्यक्ष गोपी भट्टराई भन्छन्, ‘पोखराको पर्यटन क्षेत्रका लागि नयाँ प्रडक्ट तयार भएको छ । यसले पर्यटनलाई माथि उकास्न सघाउनेमा हामी विश्वस्त छौं,’ भट्टराई भन्छन्, ‘अहिलेका पर्यटक सुखसुविधा चाहन्छन् । छोटो समयको बसाइमा धेरै कुरा अनुभव लिन चाहन्छन् । ती पर्यटकलाई यस्ता सुविधाले लाभ दिन्छ ।’

पोखराको पर्यटन क्षेत्रमा नयाँ के प्रडक्ट थपियो भन्ने गुनासो सबैतिरबाट आइरहँदा केबुलकार पनि गज्जबको प्रडक्ट बनेको उनले बताए । ‘अहिले सराङकोटसम्म उक्लिन निकै सकस छ । तर, अब केबुलकारले मान्छेलाई १० मिनेटमा सराङकोट उकाल्दा पक्कै पनि आउजाउ बढ्नेछ । अन्ततः त्यसको फाइदा पर्यटनमै पर्ने हो,’ उनले भने, ‘सराङकोट जाने पाहुनाका लागि निकै नै आकर्षक हुनेछ । अहिले साँघुरो सडकका बाबजुत त ठूलो आकारमा पाहुना सराङकोट उक्लिएको अवस्थामा केबुलकारले झनै ठूलो आकारमा पाहुनालाई माथि उकाल्नेछ ।’

प्रकाशित: १४ माघ २०७७ ०१:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App