१६ चैत्र २०८० शुक्रबार
प्रविधि

डिजिटल उद्यमशीलताको सम्भावना

फाईल तस्बीर

नेपालमा डिजिटल उद्यमशीलताको पर्याप्त सम्भावना रहेकाले यसको प्रवद्र्धनका लागि आवश्यक पुँजी, ज्ञान र सञ्जालको पहुँचमा सरोकारवालाले जोड दिएका छन्।

एसियाली विकास बैंक (एडिबी) र नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले मंगलबार संयुक्त रूपमा आयोजना गरेको ‘नेपालमा डिजिटल उद्यमशीलताको प्रारम्भिक चरण’ विषयक भर्चुअल कार्यक्रममा सहभागीले यसका लागि उपयुक्त वातावरण बनाउनुपर्ने बताएका हुन्।

मोबाइल सेवामा उच्च पहुँच, घट्दो डेटा शुल्क र युवाको पर्याप्त संख्या रहेकोले नेपालमा डिजिटलमा आधारित सेवा विस्तारको लागि महत्वपूर्ण आधार समेत रहेको बताइएको छ। प्रविधिमा आधारित साना तथा मझौला उद्योगको उच्च वृद्धिको प्रारम्भिक अनुभवले पनि नेपालमा यसको भविष्य विस्तार हुने सम्भावना उच्च देखाइएको छ। खासगरी निजी र सार्वजनिक क्षेत्रहरू असफल भएका आवश्यकतामा आधारित व्यावसायिक मोडलमा रहेको रिक्तता यस्ता किसिमका उद्यमशीलताले पूर्ति गर्ने उनीहरूको भनाइ थियो। 

कार्यक्रममा यस्ता किसिमका केही व्यवसाय असफल हुन सक्ने भए पनि भविष्यमा उनीहरूले आफ्नो अनुभवका आधारमा अन्य भौगोलिक अवस्थामा स्थानीय बजारमा नेतृत्वकर्ताको रूपमा उदाउन सक्ने उल्लेख गरिएको थियो। क्षेत्रीय र विश्वव्यापी रूपमै पनि यस्ता उद्यमशीलताले आफ्नो पहिचान बनाउन सक्ने सम्भावना पनि रहेको सहभागीहरूको बुझाइ छ।

राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयालले उद्यमशीलता विकासमा देखिएका वास्तविक समस्याको पहिचान गरेर त्यसको समाधानमा सरकार गम्भीर भएर लाग्ने बताए। उद्यमशीलता विकासका लागि आर्थिक र नीतिगत सहयोग मात्र नभएर त्यसलाई प्रवद्र्धन गर्न सरकारले हौसला पनि दिनुपर्ने उनले बताए। आयोगले १५औं पञ्चवर्षीय योजनामार्फत नै उद्यमशील नागरिकको परिकल्पना गरेको र त्यसका लागि सहजीकरण गरिदिने उल्लेख गरेको उनले बताए।

नेपालका लागि एडिबीका देशीय निर्देशक मुख्तोर खामुदखानोभले नेपालमा प्रविधिमा आधारित स्टार्टअप अवसर भए पनि आर्थिक र कानुनी चुनौतीलाई समाधान गरेर अनुकूल वातावरण बनाउन आवश्यक रहेको बताए। नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीले उद्यमशीलता विकासका लागि अहिले नै नियमनभन्दा पनि लगानीकर्ता र सञ्चालकलाई नै सम्झौतामा खुला छोडिदिएको बताए। उद्यमशीलताका लागि आवश्यक पुँजी जुटाउन साना तथा मझौला व्यवसायीलाई पनि बजारमा प्रवेश गराउने विषयमा छलफल भइरहेको उनले बताए। नेपालमा उद्यमशीलताका लागि विदेशी पुँजी ल्याउने विषयमा केही छलफल भए पनि उद्योग विभाग र राष्ट्र बैंकको प्रक्रिया पूरा गर्नुपर्ने चुनौती रहेको उनको भनाइ छ।

कार्यक्रमको छलफल सत्रमा विलेम ग्रिमिकले नेपालमा उद्यमशीलता वृद्धिका लागि आवश्यक पुँजी लगानी गर्ने प्रवृत्ति धेरै नभएको बताए। तर संकटको समयमा प्रविधिमा आधारित व्यवसायहरू नयाँ तरिकाबाट प्रवेश गरेकोले उद्यमशीलता विस्तार हुन सक्ने अवसर रहेको उनले बताए।

वित्तीय पहुँचको अभाव नै नेपालको उद्यशमीलताका लागि सबैभन्दा ठूलो अवरोध रहेको युजी बजारकी प्रमुख कार्यकारी अधिकृत निकिता आचार्यले बताइन्। सफल पार्टनर्सका प्रबन्ध निर्देशक आशुतोष तिवारीले उद्यमशीलताको लागि समग्र इकोसिस्टम निर्माणमै काम गर्नुपर्ने अवस्था रहेको बताए। विपे्रषणको रकमलाई उद्यमशीलतामा प्रयोग गर्ने गरी नीगित व्यवस्था भए त्यसले धेरै सहयोग पुग्ने उनको भनाइ थियो। बिजनेस अक्सिजनकी लगानी प्रबन्धक रितु प्रधान मल्लले पुँजी जुटाउने सन्दर्भमा प्रक्रियागत कठिनाइले निकै समस्या पारेको बताइन्। कार्यक्रमा डिजिटल उद्यमशीलताको विस्तारका लागि कानुनी तथा नियमन प्रावधानको आवश्यकतामा पनि सहभागीले जोड दिए।

प्रकाशित: ८ पुस २०७७ ०२:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App