फोर्ब्सअनुसार जुकरबर्गसँग ९ अर्ब ४० करोड अमेरिकी डलर सम्पत्ति छ। मोस्कोभिट्ज पनि कम छैनन्। उनीसँग ३ अर्ब ५० करोड डलर छ। यो रकम नेपालको चालू आर्थिक वर्षको बजेटको ८० प्रतिशत भन्दा बढी हो।
टाइम म्यागेजिनले जुकरबर्गलाई सन् २०१० को 'वर्ष व्यक्ति' घोषणा गरिसकेको छ। अहिले पनि उनी विश्वका १सय शक्तिशाली व्यक्तिभित्रै पर्छन्। शक्तिशालीको सूचीमा पहिलो स्थान अमेरिकी राष्ट्रपति बाराक ओबामा र त्यसपछि चिनियाँ राष्ट्रपति हु जिन्ताओले ओगटेका छन्। जुकरबर्ग तथा मोस्कोभिट्जसहित उनीहरूको टिमको कथामा फिल्म 'द सोसल नेटवर्क' समेत बनेको छ। जुकरबर्गले केही तथ्य बंग्याएको भने पनि २०१० मा प्रदर्शनमा आएको उक्त चलचित्रले नाम र दाम दुवै कमायो।
विश्वविद्यालयको अध्ययन बीचमै छाडेर हिँडेका उनीहरूले यस्तो ऐश्वर्य कसरी कमाए? गाडधन भेटेर वा चिट्ठा पारेर पक्कै होइन। उनीहरू आफ्नै कामले धनी र शक्तिशाली बनेका हुन्। उनीहरूको सम्पत्ति आर्जनको कथा फेसबुकसँग प्रत्यक्ष जोडिएको छ।
हार्बड विश्वविद्यालयमा पढ्दै गर्दा सहपाठीसँग चिनजान गर्न सहज होस् भनेर बनाएको 'द फेसबुक डटकम' को प्रयोग गर्न जुकरबर्ग साथीहरूलाई हौस्याउँथे। उनले विश्वविद्यालय भर्ना हुनअघि नै मास्कफेस बनाएका थिए। विश्वविद्यालय आएपछि प्रत्येक दुई विद्यार्थीको फोटो राखेर 'हट अर नट' भन्दै को आकर्षक भनेर भोट गराउँथे। त्यसलाई परिमार्जन गरेर २००४ मा द फेसबुक डटकम बनाएका थिए। उनीहरूले विश्वविद्यालय छाडेर पूरै समय फेसबुक बनाउन लागे। २००६ मा सबैका लागि खुल्ला गरे। त्यसले ठूलो फड्को मार्योड। संसारभर फैलियो। यसले नाम र नाम दुवै जोडिदियो। अहिले २ सयभन्दा बढी देशकाले अन्तर्क्रिया गर्ने साझा मञ्च भएको छ फेसबुक। संसारको सबैभन्दा बढी इन्टरनेट प्रयोगकर्ता भएको चीनमा फेसबुक प्रतिबन्धित रहे पनि यसको १ अर्ब प्रयोगकर्ता छन्। अहिले दिनदिनै प्रयोग गर्नेको संख्या करिब ८० करोड भएको फेसबुकको दाबी छ। फोटो, भिडियो अपलोड गर्ने, च्याट गर्ने, लाइक-अनलाइकको विषयसमेत पछिल्लो चरणमा फेसबुक व्यापार फैलाउने माध्यम बनेको छ।
सामाजिक सञ्जालका वेबसाइटमा १ सय ४० क्यारेक्टरमा आफ्ना कुरा राख्न पाइने टि्वटर पनि निकै लोकप्रिय छ। २०१२ जुलाईमा यसको प्रयोगकर्ता ५० करोड नाघेका थिए। दैनिक ३४ करोड टि्वट हुन्छ। 'माइक्रो ब्लगिङ' र 'इन्टरनेट एसएमएस' भनेर चिनिने टि्वटर संसारमा धेरै प्रयोग हुने वेबसाइटको १०औं स्थानमा पर्छ। एलेक्सा डटकमको उक्त सूचीमा फेसबुकले शीर्ष स्थान ओगटेको छ। एक अध्ययनले विश्वका ७० प्रतिशत सरकार तथा राज्य प्रमुख र प्रभावशाली नेता (सरकार प्रमुखसहित) टि्वटरमा आबद्ध भएको उल्लेख गरेको थियो।
फेसबुक र टि्वटर धेरै नाम चलेका सामाजिक सञ्जालका वेबपेज भए। तर माइस्पेस, टि्वटर, ५१ डटकम, हाइफाइभ, लिंक्डइन, गुगलप्लस पनि कम छैनन्। किन बढ्दैछन् सामाजिक सञ्जालका साइट र तिनका प्रयोगकर्ता? यसमा खास कारण छन्। यी साइटसँग प्रयोगकर्तालाई बाँधेर राख्ने क्षमता अन्यभन्दा बढी हुन्छ। सामाजिक सन्जालका बेवसाइट एकै प्रकारका छैनन्। फरक-फरक प्रकारका चाहना र रुचीअनुसार छनौटको अवसर हुँदा मान्छे आफूलाई मन लागेको सञ्जालमा जान सक्छ। अर्को महत्वपूर्ण कारण रुचीका विषय, राजनीतिक धारणा वा गतिविधिसँग चिनजान नभएको मानिसलाई पनि यिनले प्रत्यक्ष जोडिदिने काम गर्छन्। विचार अभिव्यक्ति र गतिविधि सम्प्रेषण गर्ने माध्यमका रूपमा सामाजिक सञ्जालको उपयोगले यसको उचाइ र लोकप्रियता अझ बढाइदिएको हो।
सामाजिक सञ्जाल आउनुअघि पनि आकर्षक रमाइला सूचना दिने साइटको कुनै कमी थिएन। कमी थियो त केवल प्रयोगकर्ताबीच अन्तर्क्रियाको अवसरको। त्यसलाई सामाजिक सञ्जालका साइटले पूरा गरेका छन्। सामाजिक सञ्जालका साइट आउनुअघिसम्म वेबसाइट सञ्चालकले जे दियो त्यो नै चुपचाप ग्रहण गर्नुपर्ने वाध्यता थियो। त्यसमा आफूलाई चित्त बुझे समर्थन जनाउने र नबुझे विरोध गर्ने अवसर थिएन। सञ्चार प्रवाहकर्ताले चाहेको विषय परम्परागत मिडियाकै शैलीमा माथिबाट तलतर्फ लादिन्थ्यो। सामाजिक सञ्जालले मिडियाको त्यो आयाममाथि प्रश्न तेर्साउँदै तलबाट माथि पनि सञ्चार प्रवाह 'सम्भव' गराइदिए।
अभिव्यक्तिको सशक्त माध्यम बन्दै गएकाले नै प्रधानमन्त्री बाबुराम भट्टराई पनि माघ ६ देखि टि्वटरमा आबद्ध भए। देशको प्रमुख कार्यकारीसँग दोहोरो कुराकानी गर्नु सर्वसाधारणका लागि दुर्लभ हो। तर, हिजोआज टि्वटरले दिएको सम्वाद सुविधा उपयोग गर्दै प्रधानमन्त्री भट्टराई सर्वसाधारणसँग प्रत्यक्ष अन्तर्क्रिया गरिरहेका हुन्छन्। कतिपयसँग उनी दोहोरो संवादै गर्छन्।
सामाजिक सञ्जाल अहिले व्यापार विस्तारदेखि राजनीतिक अभियानसम्मका लागि मान्छे संगठित पार्ने अचुक अस्त्र हुन्। यिनको प्रयोग राजनीतिक तथा सामाजिक परिवर्तनका आन्दोलनमा समेत महत्वपूर्ण देखिन थालेको छ। अभिव्यक्ति स्वतन्त्रतामा अंकुश रहेको मध्यपूर्वमा राजनीतिक उथलपुथल हुँदा त्यहाँका जनताले सामाजिक सञ्जाललाई मुख्य हतियार बनाएका थिए। हाम्रो सन्दर्भमा महिलाहिंसा विरोधको अभियान 'अकुपाइ बालुवाटार' पनि टि्वटर-फेसबुककै पृष्ठभूमिमा चलिरहेको छ।
प्रकाशित: २५ माघ २०६९ ०९:४६ बिहीबार





