हरिहरभवनस्थित नेपाल राष्ट्रिय पुस्तकालयमा भने केही पाठक सामाजिक सञ्जाल फेसबुक र युट्युबको प्रयोग गर्नकै लागि मात्र जाने गरेका छन्। सूचना प्राप्त गर्ने अत्याधुनिक माध्यमका रुपमा इन्टरनेट सुविधाको प्रयोग गर्न दिइएको भएपनि पुस्तकालयमा भने यसको दुरुपयोग बढ्दो छ।
'सहजरुपमा सूचना प्रदान गर्न सकियोस् भनेर हामीले पुस्तकालयमा रहेको दुईवटा कम्प्युटरमा इन्टरनेट सेवा दिएका छौं',पुस्तकालयका सहायक अनुपमा उपाध्याय भन्छन्-'तर यसको गलत प्रयोग बढ्दै गइरहेको छ।' उनले विद्युत् लाइन आउने र जाने समय हेरेर पुस्तकालय आउने निश्चित पाठक समूह रहेको बताउँदै भने- 'विद्युत् लाइन आउन्जेल पुस्तकालयको कम्प्युटरबाट फेसबुक र युट्युब चलाउने र लाइन जाने बित्तिकै उनीहरु जुरुक्क उठेर हिंड्ने गर्दछन्।'
इन्टरनेटमा सामाजिक सञ्जाल प्रयोग गर्नेहरुमा युवाहरु नै रहेको पनि उनी बताउँछन्। यसको दुरुपयोग बढ्दै गएकाले अहिले पुस्तकालय 'यहाँ फेसबुक र युट्युब प्रयोग गर्न मनाही छ' भन्ने सूचनै राखिएको छ। तर पुस्तकालय आउनेहरुले सूचनालाई खासै वास्ता गर्दैनन्।
यस्ता कार्य धेरै भएपछि अनुगमन बढाएको बताउँदै उनले भने-'हामीले देखेको समयमा सामाजिक सञ्जाल बन्द गर्नुहोस् भन्ने गरेका छौं।' विसं २०१३ मा स्थापित सो पुस्तकालयमा अध्ययन गर्न सदस्य बनिरहनु पर्दैन। पहिले-पहिले सदस्यता प्रदान गरिएको भए पनि पहुँच हुनेले पुस्तक लगेर फिर्ता नगर्ने प्रवृत्ति बढेपछि धेरै पुस्तकहरु हराएको बताइएको छ।
पुस्तकालयकै अर्का कर्मचारी अमूल्यनारायण कण्ठका अनुसार सोही कारण २०४० सालदेखि सदस्यता दिने कार्यलाई रोकिएको हो। उक्त पुस्तकालयमा हाल दैनिक ३०/३५ जना अध्ययनका लागि आउने गर्दछन्।
केशरमहलस्थित केशर पुस्तकालयमा यसअघि कार्यरत कण्ठले केशर पुस्तकालयमा भने दैनिक ६०/७० जना आउने गर्दछन्, त्यहाँको अनुपातमा यहाँ एकदमै कम भएको बताए।
हरिहरभवनस्थित उक्त पुस्तकालयका बारेमा धेरैलाई जानकारी नभएकाले पनि यहाँ आउनेको सङ्ख्या कम भएको उनीहरुको ठम्याइ छ।
नेपाली, हिन्दी, संस्कृतलगायत भाषाका करिब एक लाख पुस्तकका साथै संस्कृत भाषाका १६०० वर्ष अघिका दुर्लभ पुस्तकसमेत यस पुस्तकालयमा रहेको छ। पुस्तकालयमा विभिन्न समयमा गरिएको उत्कृष्ट शोधपत्र समेत राखिएको छ। रासस
प्रकाशित: ३ माघ २०६९ ०४:५३ बुधबार





