४ चैत्र २०८२ बुधबार
image/svg+xml
प्रविधि

फेसबुकमा रमाउँछन् दृष्टिविहीन साथी

उपेन्द्र लामिछाने, काठमाडौं, मंसिर १० - भक्तपुर बालकोटकी लक्ष्मी नेपाल अचेल सामाजिक सञ्जाल फेसबुकमा निकैबेर अलमलिन्छन्। दृष्टिविहीन उनी साथीहरुका स्टाटस आँखाले पढ्न त सक्दिनन् तर त्यसमा कमेन्ट, 'लाइक' वा 'डिसलाइक' गरेर प्रतिक्रिया दिइरहन्छिन्। दुई वर्षदेखि फेसबुकमा रमाइरहेकी लक्ष्मी 'सम्बन्ध विस्तार' हुँदै गएको सुनाउँछिन्। लक्ष्मीमात्र होइन, उनीजस्ता थुप्रै दृष्टिविहीनको प्रिय साथी बनिसकेको छ, फेसबुक।

कम्प्युटरमा जब एक्सेस विथ स्पिच नामक सफ्टवेयर राखेपछि त्यसले दृष्टिविहीनलाई फेसबुक चलाउन सहयोग गर्छ। यो सफ्टवेयर राखिसकेपछि कर्सरले स्त्रि्कनमा जे देखायो, कम्प्युटरले त्यही आवाज दिन्छ। दृष्टिविहीनहरु आवाज पछ्याउँदै फेसबुक चलाउँछन्।
'हामी धेरै ठाउँमा पुगेर कुरा गर्न सक्दैनौं,' लक्ष्मीले भनिन्, 'फेसबुकले नै भिडको बीचमा पुर्‍याइदिन्छ, थुप्रै साथीसँग एकैथलोमा बसेर च्याट गर्न पाउँदा रमाइलो लाग्छ।'
यो सफ्टवेयरले कम्प्युटर चलाउन सहज बनाएको उनले सुनाइन्। 'अप-डाउन की चलाउन थालेपछि  कर्सर' जहाँ पुग्यो, त्यसबारे कम्प्युटरले बोलेर जानकारी दिन्छ,' उनले भनिन्, 'त्यही आवाज पछ्याउँदै हामी अघि बढ्छौं।'
उनीसँग अहिले ३ सयभन्दा बढी फेसबुक साथी छन्। तीमध्ये ५० जना त दृष्टिविहीन नै। फेसबुकबाट साथीहरुका ताजा स्थिति बुझ्न पाउँदा खुसी लाग्ने लक्ष्मी बताउँछिन्।
अक्षर पढ्ने विभिन्न सफ्टवेयर 'डाउनलोड' गरेपछि दृष्टिविहीनको पहुँच इमेल-इन्टरनेटसँगै सोसल मिडियामा पुगेको हो। 'फेसबुक चलाउन थालेको एक वर्ष भयो,' डिल्लीबजार कन्या बहुमुखी क्याम्पसमा एमए अध्ययनरत दृष्टिविहीन नारायणी दवाडीले भनिन्, 'यसले हामीमा उत्साह थपेको छ।'
जन्मजात दृष्टिविहीन उनी इमेल-इन्टरनेटको सहाराले शैक्षिक ज्ञान हासिल गर्न सजिलो भएको बताउँछिन्। 'तपाईंहरुले देख्ने कुरा हामी सुन्छौं,' उनले भनिन्, 'हामी तस्बिर देख्दैनौं तर अक्षरको सन्देशबाट अनुभूति गर्छौं।'
एमएको शोधपत्र लेख्ने तर्खरमा रहेकी उनले साथीभाइ र शिक्षकसँग फेसबुकमा च्याट गरेर सूचना लिने गरेको सुनाइन्। 'सरले आवश्यक डकुमेन्ट इमेल गरिदिनुहुन्छ,' उनले भनिन्, 'माइक्रोसफ्ट वर्डमा कन्भर्ट गरेर सुन्ने गर्छु।'
काठमाडौं सिमलटारका सुशील अधिकारीले फेसबुक चलाउन थालेको चार वर्ष भइसक्यो। 'सबैतिर फेसबुकको चर्चा हुन थालेपछि मैले पनि एकाउन्ट खोलें,' उनले भने, 'अहिले यो सेतो छडीझैं जीवनको एक अंग भएको छ।' 'ग्लुमी (दुःखी) सुशील' आइडी राखेका उनले फेसबुकबाट जीवनमा धेरै खुसी मिलेको सुनाए।
राजधानीका ७० प्रतिशत बढी दृष्टिविहीन अहिले फेसबुक सञ्जालमा रहेको सुशीलले सुनाए। तीमध्ये अधिकांशले मोबाइलबाट चलाउने गर्छन्। नेपालमा 'जब एक्सेस विथ स्पिच' नामक सफ्टवेयर आएसँगै दृष्टिविहीनको कम्प्युटरमा सहज पहुँच भएको उनले बताए।
सुशील अचेल पेनड्राइभमा विभिन्न सफ्टवेयर बोेकेर हिँड्छन्। 'अहिले त 'नन-भिजुअल डेक्सटप' नामक अर्को सफ्टवेयर आएको छ,' उनले सुनाए, 'यसलाई पेनड्राइभमा बोकेर गएपछि जुनसुकै कम्प्युटरमा चलाउन सकिन्छ ।'
दृष्टिविहीनहरुमात्र छैनन् उनीहरुका साथी। 'नयाँ साथीले नभनी यो दृष्टिविहीन भन्ने पत्तो पाउँदैन,' सुशीलले भने, 'थाहा पाउनेले उत्सुकतासाथ कसरी चलायौ भनेर सोध्छन्।'
फेसबुकमा पछिल्लो समय अश्लील स्टाटस र कमेन्ट सुन्नुपरेकोमा भने सुशील खिन्न छन्। 'कस्ता तस्बिर आउँछन् त्यो त देख्दैनौं,' उनले भने, 'कतिपय कमेन्ट भने लाज लाग्ने हुन्छन्।' सोसल मिडियामा सबैको पहँुच हुने भएकाले संयमित भएर आफ्ना कमेन्ट राख्न उनी फेसबुकका साथीलाई सल्लाह दिन्छन्।
आंशिकमात्र देख्ने (पार्सियल ब्लाइन्ड) भीमप्रसाद गौतमले दुई वर्षअघि यो सफ्टवेयर बनाएका हुन्। 'आफ्नै लागि निर्माण गरेको सफ्टवेयरले अहिले सबैलाई सहयोग गरेको छ,' उनले भने, 'नेपाली भाषामै बोल्ने दृष्टिवाणी नामक सफ्टवेयर पनि बनाउँदैछु।'
पश्चिमा देशमा सन् १९९५ तिर दृष्टिविहीनका लागि कम्प्युटर चलाउन सक्ने सफ्टवेयर बनाउन सुरु गरिएको उनले जानकारी दिए। यसको विकास भने सन् २००५ बाट तीव्र भएको उनले सुनाए। 'विन्डोज ९५ को विकाससँगै यस्तो सफ्टवेयर देखिन थाले,' उनले भने, 'यो नेपालसम्म आइपुग्न थुप्रै समय लाग्यो।' अहिले संसारका थुप्रै कम्पनी दृष्टिविहीनका लागि चाहिने सफ्टवेयर निर्माणमा जुटेको उनले बताए।

प्रकाशित: ९ मंसिर २०६९ २३:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App