नेपालमा विभिन्न राइड सेरिङ कम्पनीहरूले सेवा दिइरहेका छन्। सार्वजनिक यातायात सेवा व्यवस्थित हुन नसकेको अवस्थामा पछिल्लो समय ‘इनड्राइभ’ले यात्रुहरूलाई सेवा दिँदै आएको छ। यात्रुहरू माझ लोकप्रिय ‘इनड्राइभ’ ले विभिन्न समयमा यात्रु तथा ड्राइभर लक्षित विभिन्न योजना ल्याउने गरेको छ। ‘इनड्राइभ’ ले ड्राइभरलाई लक्ष्य गरेर ०.०१ प्रतिशत कमिसन क्याम्पेन (अभियान) सञ्चालन गरिरहेको छ। ०.०१ प्रतिशत कमिसन क्याम्पेन के हो? यो अभियानबाट इनड्राइभका ड्राइभर पार्टनर्सले कसरी फाइदा लिन सक्छन्? ‘इनड्राइभ’ ले ड्राइभर, यात्रुको सुरक्षामा कसरी काम गरिरहेको छ? भावी योजना के छन्? र यस अभियानको उद्देश्य के हो भन्ने विषयमा केन्द्रित रही इनड्राइभ नेपालकी सिनियर ड्राइभर अपरेसन्स स्पेसलिस्ट सुश्री सुनिता जिमी राईसँग नागरिककर्मी दिलीप पौडेलले गरेको कुराकानीको सम्पादित अंशः
इनड्राइभले सञ्चालन गरेको ०.०१ प्रतिशत कमिसन क्याम्पेन र नेपालमा यसलाई सुरु गर्नुको मुख्य उद्देश्य के हो?
इनड्राइभको ०.०१ प्रतिशत कमिसन क्याम्पेन ‘ड्राइभर–फस्र्ट’ अवधारणामा आधारित पहल हो। यस क्याम्पेनअन्तर्गत प्रत्येक राइडमा ड्राइभर पार्टनरबाट०.०१ प्रतिशत मात्र सेवा शुल्क लिइन्छ। यसको मुख्य उद्देश्य ड्राइभर पार्टनरहरूको आम्दानी वृद्धि गर्नु हो। यसले गर्दा इनड्राइभमा आबद्ध चालकहरूले आफ्नो कमाइको ठूलो हिस्सा आफैंसँग राख्न सक्नुहुन्छ।
यो क्याम्पेनले इनड्राइभका ड्राइभर पार्टनर्सको आम्दानी र प्रेरणामा कस्तो प्रभाव पार्ने अपेक्षा गरिएको छ?
इनड्राइभका लागि ड्राइभर पार्टनरहरू हाम्रो सेवाको केन्द्रमा हुनुहुन्छ। यो क्याम्पेन उहाँहरूको आम्दानी वृद्धि गर्ने उद्देश्यले ल्याइएको हो। यसले उहाँहरूमा थप उत्साह र सकारात्मक सन्देश प्रवाह गरेको छ। न्यून सेवा शुल्क संरचनाका कारण दैनिक काम गर्दा उहाँहरू अझ बढी प्रेरित हुनु भएको छ। किनभने आफ्नो आम्दानीको अत्यन्त न्यून हिस्सा मात्र सेवा शुल्कका रूपमा तिर्नुपर्ने हुन्छ। यसले इनड्राइभ प्लेटफर्मप्रति उहाँहरूको विश्वास समेत मजबुत बनाएको छ।
इनड्राइभले ०.०१ प्रतिशत सेवा शुल्क लागु गर्दा कम्पनीको दीर्घकालीन दिगोपन कसरी सुनिश्चित हुन्छ?
यो अभियान विशेषगरी ड्राइभर पार्टनरलाई लक्षित गरेर ल्याइएको हो। यसले उहाँहरूमा प्रेरणा र सकारात्मक संलग्नता बढाएको छ। यस्ता पहलहरू हामीले समय–समयमा सञ्चालन गर्दै आएका छौं, जसले इनड्राइभप्रतिको विश्वास र भरोसा मजबुत बनाउँछ।
हामी यसलाई नाफा आर्जनसँग जोडेर होइन, कम्पनीको जिम्मेवारीका रूपमा हेर्छौं, जहाँ प्राथमिकता समाजलाई गुणस्तरीय सेवा प्रदान गर्नु हो। दीर्घकालीन रूपमा विश्वास निर्माण भएपछि व्यवसायमा स्थायित्व र दिगोपन सुनिश्चित गर्न यसले महत्त्वपूर्ण भूमिका खेल्छ।
यो पहल इनड्राइभको रोजाइको स्वतन्त्रता भन्ने मूल अवधारणासँग कसरी जोडिएको छ?
इनड्राइभको रोजाइको स्वतन्त्रता अवधारणाअनुसार हाम्रो प्लेटफर्ममा ड्राइभर र यात्रु दुवैले आफ्ना सर्तअनुसार निर्णय लिन सक्नुहुन्छ। यात्रुले आफ्नो गन्तव्यका लागि आफूलाई उपयुक्त लागेको ड्राइभर र मूल्य छनोट गर्न सक्नुहुन्छ भने ड्राइभरले पनि आफूलाई उचित लागेको राइड स्वीकार वा अस्वीकार गर्ने स्वतन्त्रता पाउनुहुन्छ। यसरी दुवै पक्षलाई पारदर्शी र लचिलो विकल्प प्रदान गर्दै पारस्परिक सहमतिमा आधारित राइड सुनिश्चित गर्ने व्यवस्था इनड्राइभमा छ। यसले हाम्रो ‘रोजाइको स्वतन्त्रता’ भन्ने मूल अवधारणालाई प्रत्यक्ष रूपमा प्रतिविम्बित गर्छ।
राइड–सेयरिङ कम्पनी बजारमा धेरै छन्। प्रतिस्पर्धा छ। अहिले चलाएको अभियानले कस्तो प्रभाव र परिवर्तन ल्याउला?
बजारको अवस्थाअनुसार इनड्राइभले समय–समयमा विभिन्न अभियान सञ्चालन गर्दै आएको छ । त्यस्ता अभियानले व्यावसायिक प्रतिस्पर्धा मात्र नभएर सामाजिक जिम्मेवारीलाई पनि सुदृढ बनाएको छ। अहिले सञ्चालन भएको अभियानले यातायात क्षेत्रमा सकारात्मक उदाहरण स्थापित गर्ने, ड्राइभर–केन्द्रित दृष्टिकोणलाई प्रवद्र्धन गर्ने तथा स्वच्छ र निष्पक्ष प्रतिस्पर्धालाई प्रोत्साहन गर्ने अपेक्षा छ। साथै यसले समग्र राइड–सेयरिङ इकोसिस्टममा विश्वास र सन्तुलन बढाउन पनि योगदान पु¥याउनेछ।
नेपालमा रहेका पार्टनर ड्राइभरहरूलाई निरन्तर सहयोग र सशक्त बनाउन इनड्राइभले भविष्यमा के–कस्ता योजना बनाएको छ?
हाल इनड्राइभले पार्टनर ड्राइभरहरूका लागि विभिन्न क्याम्पेनसँगै सुरक्षा, ट्राफिक सचेतना, मानसिक स्वास्थ्य र वित्तीय साक्षरता सम्बन्धी तालिमहरू सञ्चालन गर्दै आएको छ। साथै उहाँहरूको क्षमता विकास गर्दै आम्दानी वृद्धि गर्ने उपायबारे पनि जानकारी प्रदान गरिन्छ। यससँगै सुरक्षित यात्रा अभ्यास, बिमा दाबी प्रक्रिया तथा एप प्रयोगसम्बन्धी ज्ञानलाई थप सुदृढ बनाउने हाम्रो लक्ष्य छ। आगामी दिनमा पनि सुरक्षा र वित्तीय सशक्तीकरणलाई प्राथमिकतामा राख्दै ड्राइभर–केन्द्रित कार्यक्रमहरू विस्तार गर्ने योजना रहेको छ।
इनड्राइभले रोजगारी वृद्धि र सुरक्षा प्राथमिकतालाई कसरी ध्यान दिनेभएको छ?
हाल इनड्राइभले दिगोपना र निरन्तरतालाई ध्यानमा राख्दै विशेषगरी विद्यार्थी लक्षित रोजगारीका अवसरहरू विस्तार गरेको छ। अध्ययनका लागि बाहिरबाट आउने विद्यार्थीहरूले पढाइसँगै इनड्राइभमार्फत आम्दानी पनि गर्न सक्ने वातावरण सिर्जना गरिएको छ। साधन नभएका तर लाइसेन्स भएका ड्राइभरहरूलाई विभिन्न साझेदारसँग जोडेर बाइक वा ट्याक्सी सञ्चालन गर्ने अवसर प्रदान गर्दै आयआर्जनको बाटो खुला गरिएको छ। यससँगै सुरक्षित सञ्चालन अभ्यास र ड्राइभर–केन्द्रित पहलमार्फत रोजगारी सिर्जनासँगै सुरक्षालाई पनि समान रूपमा प्राथमिकता दिइएको छ।
इन्ड्राइभका प्रयोगकर्ता र राइडरको रेस्पोन्स कस्तो पाउनुभएको छ?
हामीले प्रयोगकर्ता र ड्राइभर पार्टनर दुवैबाट उत्साहजनक प्रतिक्रिया प्राप्त गरेका छौं र प्लेटफर्मलाई व्यापक रूपमा रुचाइएको छ। इनड्राइभको ‘रोजाइको स्वतन्त्रता’ अवधारणाअनुसार यात्रु र ड्राइभर दुवैले आफ्ना सर्तअनुसार राइड तय गर्न सक्ने सुविधा पाउनुहुन्छ। एपमार्फत सजिलै दर्ता भई ड्राइभरले अनलाइनबाट आवश्यक कागजात पेश गरेर सेवा सुरु गर्न सक्नुहुन्छ भने यात्रुले आफ्नो गन्तव्यका लागि आफूलाई उपयुक्त लागेको मूल्यमा यात्रा गर्न सक्नुहुन्छ। यही लचिलो र पारदर्शी प्रणालीले सकारात्मक अनुभव र विश्वास निर्माण गर्न सहयोग गरेको छ।
इनड्राइभले सेवा विस्तारमा के योजना बनाएको छ?
इनड्राइभ हाल काठमाडौं, भरतपुर र पोखरा लगायत तीन प्रमुख सहरमा सञ्चालन भइरहेको छ। आगामी दिनमा देशका अन्य प्रमुख सहरहरूमा सेवा विस्तार गर्ने योजना रहेको छ।
राइड–सेयरिङमा कानुनी र नीतिगत झन्झटहरू के छन्? स्थायी सरकार पनि आउँदैछ। कस्ता नीतिगत व्यवस्था भए सेवा विस्तार, रोजगारी सिर्जना र यो क्षेत्र अझै व्यवस्थित गर्न सहयोग पुग्छ?
राइड–सेयरिङ क्षेत्रलाई दीर्घकालीन रूपमा व्यवस्थित गर्न स्पष्ट र स्थिर नियामक मार्गदर्शन आवश्यक देखिन्छ। नीति निर्माण गर्दा विज्ञ तथा सरोकारवालासँगको परामर्शलाई प्राथमिकता दिनु महत्त्वपूर्ण हुन्छ। यस्तो स्पष्ट नीतिगत व्यवस्था भएमा देशमै रोजगारीका अवसर सिर्जना गर्न, युवालाई स्वदेशमै आयआर्जनका विकल्प प्रदान गर्न तथा गिग इकोनोमीको विकासलाई थप गति दिन सहयोग पुग्नेछ। साथै यसले सेवा विस्तार र समग्र क्षेत्रलाई व्यवस्थित तथा विश्वसनीय बनाउन पनि महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ।
प्रकाशित: ४ चैत्र २०८२ ०८:५६ बुधबार





