काठमाडौँ, मङ्सिर ५ (नागरिक) - नेपाल टेलिकमले जिएसएम प्रिेपेड मोबाइल सेवामा दशैँ, तिहार र छठ पर्वको उपलक्ष्यमा गरेको कल र डाटा वापतको १० प्रतिशत रकम आज बोनसका रुपमा बाँडेको छ। बोनसको कूल रकम १६ करोड ८१ लाख ७१ हजार ३३६ रुपियाँ रहेको टेलिकमका प्रवक्ता गुणकेशरी प्रधानले जानकारी दिइन्।
असोज ३० देखि मंसिर ४ गतेसम्म उपभोग गरिएको सेवा वापतको कूल रकमको १० प्रतिशत रकम बोनसका रुपमा ग्राहकलाई फिर्ता गरिएको हो। यो रकम टेलिकम कै नेटवर्कमा कल गर्दा लाग्ने रकमबाट कट्टा हुँदै जाने र बोनस वापतको रकम सकिएपछि मात्र मुख्य ब्यालेन्सको रकम काटिने टेलिकमले जनाएको छ। प्राप्त बोनस रकम दुई महिनाभित्र उपभोग गरिसक्नुपर्नेछ।
त्यसैगरी जीएसएम पोस्टपेड मोबाइल, ल्यान्डलाइन, सी फोन पोस्टपेडका ग्राहकलाई उपलब्ध गराइएको छुट कात्तिक महिनाको बिलमा समायोजन गरिने टेलिकमले जनाएको छ।
कम्पनीले कात्तिक १ गतेदेखि एक्सेस कोड १४२४ मार्फत् पाँच देशमा हुने नयाँ महसूल दरलाई मंसिर ३० सम्म निरन्तरता दिइने जनाएको छ। नयाँ महसूल अन्तर्गत अस्ट्रेलियामा ७/७५, चीन र हङकङमा ३ रुपियाँ, बंगलादेशमा ४ रुपियाँ र कुवेत र बहराइनमा ८ रुपियाँ प्रति मिनेट शुल्क लाग्छ।
प्रकाशित: ५ मंसिर २०६९ ०६:३७ मंगलबार