व्यावसायिक अनुमतिसम्बन्धी विद्युतीय पोर्टलको प्रधानमन्त्री बाबुराम भट्टराईले सुरुवात गर्नेछन्। मुलुकमा कुनै व्यवसाय गर्न प्रचलित कानुनबमोजिम प्रदान गरिने अनुमति, सिफारिस, प्रमाणीकरण, दर्तालगायत सम्पूर्ण विवरण उक्त पोर्टलमा राखिने छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अगुवाइमा सञ्चालन हुने उक्त पोर्टलमा १३० वटा व्यावसायिक कार्यको विस्तृत विवरण समावेश गरिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता जगदीश रेग्मीले बताए।
व्यावसायिक अनुमतिसम्बन्धी अद्यावधिक सूचना तथा विवरण विद्युतीय माध्यममार्फत एकीकृत तथा व्यवस्थित रूपले उपलब्ध गराउन व्यावसायिक अनुमतिसम्बन्धी पोर्टल सञ्चालन हुने र त्यससम्बन्धी निर्देशिका आगामी भदौ १ गते लागु हुने जानकारी उनले दिए। विदेशी लगानी आकर्षित गर्न पोर्टल सहयोगी हुने र यसले लगानी वर्ष सफल पार्न महŒवपूर्ण भूमिका निर्वाह गर्ने रेग्मी बताउँछन्।
नेपाली र अंग्रेजी दुवै भाषामा सञ्चालन हुने पोर्टल प्रयोगमैत्री र प्रणालीमा निर्माण गरिएको छ। पोर्टलमा व्यावसायिक अनुमति, त्यस्तो अनुमति खारेज वा रद्दसम्बन्धी जानकारी, व्यावसायिक अनुमति प्राप्त गर्न आवश्यक योग्यता, कागजात तथा दस्तुर, धरौटी, समय, पूरा गर्नुपर्ने प्रक्रिया तथा जिम्मेवार अधिकारीसम्बन्धी जानकारी, अनुमतिको अवधि, नवीकरण, व्यवसाय गर्न पाउने क्षेत्रलगायत सान्दर्भिक सूचना समावेश गरिने छ।
प्रवक्ता रेग्मीका अनुसार पोर्टलमा व्यावसायिक अनुमति प्रदान गर्ने तथा नियामक निकायक निकायको स्थलगत नक्सासहित विस्तृत विवरण, व्यवसाय गर्दा पाउने सहुलियत, सुविधा वा छुट, व्यावसायिक अनुमतिसम्बन्धी फाराम पनि राखिने छ। रासस
प्रकाशित: ३१ श्रावण २०६९ ०९:१६ बुधबार





