'सोसल मिडियामा आउने स्टायटस र ट्विटजस्ता सामाग्री नेपाली पत्रकारहरुको समाचारको स्रोत बनेको छ', सीएमआर नेपालले आज सार्वजनिक गरेको सर्वेक्षणको नतिजामा भनिएको छ- '३०.७ प्रतिशत पत्रकारहरु सोसल मिडियामा भेटिने सामाग्री भरपर्दो मान्छन्।'
त्यसैगरी अधिकांश पत्रकारहरुले रिपोर्टिङ र आफ्ना समाचारहरुलाई पाठकसमक्ष पुर्याउनका लागि सोसल मिडिया र इन्टरनेटको सहायता लिने गरेको सर्वेक्षणले देखाएको छ। यसले सोसल मिडिया न्युजरुमको अलग्याउन नसकिने पाटो हुँदै गरेको देखाएको छ। 'मूलधारका मिडियामा समाचार उत्पादन गर्ने प्रक्रियालाई यसले पुनर्परिभाषित गर्नेछ', सीएमआर-नेपालले भनेको छ।
लगभग सबै पत्रकार फेसबुकमा
सर्वेक्षणमा सहभागी देशभरका १९२ पत्रकारमध्ये लगभग सबै पत्रकार (झण्डै ९७ प्रतिशत)सँग फेसबुक खाता रहेको देखिएको छ। माइक्रोब्लगिङमा भने ट्विटर सबैभन्दा लोकप्रिय छ। झण्डै ४० प्रतिशत पत्रकारसँग ट्विटर छ, जसले आफूसित भएका सूचना बाँड्न र लिन यसको प्रयोग गर्ने गर्छन्।
गुगल र जीमेल बढी लोकप्रिय
नेपाली पत्रकारहरु माझ गुगलका उत्पादन लोकप्रिय देखिएको छ। सर्च इन्जिनका लागि झण्डै ९९ प्रतिशत पत्रकारहरुले गुगलको प्रयोग गर्छन्। त्यसैगरी इमेलमा गुगल कै जीमेल नेपाली पत्रकारहरु माझ सबैभन्दा (झण्डै ९३ प्रतिशत) लोकप्रिय छ। इमेलमा दोस्रो लोकप्रिय याहू (४४.३) रहेको छ भने हटमेल चलाउने ३०.२ प्रतिशत रहेका छन्। कार्यालयकै डोमेनको इमेल प्रयोग गर्ने ६.३ प्रतिशत मात्र छन्।
प्रकाशित: ३० जेष्ठ २०६९ ०३:२० मंगलबार





