साबिक विजेता स्पेनले कुनै बेला पोल्यान्ड र युक्रेनमा प्रतियोगिता चलेसम्म टि्वटर चलाउन आफ्ना खेलाडीलाई प्रतिबन्ध लगाए पनि थुप्रै देशले भने इटालीलाई उदाहरण बनाउँदै खेलाडीलाई सामाजिक सञ्जाल उपयोग गर्नमा स्वतन्त्र छोडेका छन्।
'यहाँ कुनै प्रतिबन्ध छैन,' एक इटालियन अधिकारीले भने, 'खालि प्रयोगकर्ताले विचार पुर्याउनुपर्छ भन्ने हो।' इन्टरनेट मैत्री खेलाडीलाई टि्वटर प्रयोग गर्दा कस्ता कुरा लेख्ने भन्नेमा भने टिमले निश्चित निर्देशन दिएका छन्। जर्मनीका प्रशिक्षक जोचिम लोउले साप्ताहिक पत्रिका डाई जेइटलाई हालै दिएको अन्तर्वार्तामा आफ्नो टोलीका प्रत्येक सदस्यलाई सामाजिक सञ्जालमय साइटहरू चलाउँदा प्रस्ट नियम बनाएको बताएका थिए।
'ड्रेसिङ रूममा के हुन्छ, हामी टिम बारे के कुरा गछार्ंै, रणनीति, चोट, टिम सहयात्री वा टिम व्यवस्थापन सदस्यको व्यक्तिगत जीवनलगायतका विषय सामाजिक सञ्जालमा उल्लेख नगर्न मैले सबैलाई प्रस्ट पारिसकेको छु,' लोउले भनेका थिए। खेलाडीले नियम पालना गरे नगरेको बुझ्न जर्मनीको टिम व्यवस्थापनले सुपरीवेक्षण गरेको छ? भन्ने प्रश्नमा लोउको उत्तर थियो, 'कसैले नियम तोडेमा के हुन्छ भन्ने सबलाई थाहा छ। म आफैले इन्टरनेट सर्फ गर्नुपर्दैन।'
फ्रान्सेली टोलीका मिडफिल्डर फ्लोरेन्ट मालोडाले आफूलाई कसैले टि्वटर नचलाउन निर्देशन नदिएको बताए। उनले सामाजिक सञ्जाल प्रयोग गर्दा आफै सचेत हुनुपर्ने बताए। 'हामीलाई कसैले केही भनेको छैन, आफूले गरेको कुनै पनि कामले टोली वा टोलीका अरु कसैलाई कुनै नकारात्मक असर नपरोस् भन्नेमा आफै सचेत हुनुपर्छ। त्यो इन्टरनेट प्रयोग गर्दा मात्र नभई अरु काममा पनि लागू हुन्छ,' मालोडाले भने, 'टि्वटर नयाँ कुरा नभएको भए मेरो आफ्नै एउटा एकाउन्ट हुन्थ्यो र म त्यहाँ फुटबलबारे बिरलै मात्र कुरा गर्थें, आफ्नैबारे कुरा गर्थें। तर हामीकहाँ प्रतिबन्ध लागेको छैन।'
इङ्ल्यान्ड टोलीमा पनि टि्वटर प्रयोग छुट छ। इङ्ल्यान्डका केही खेलाडी टि्वटरमा नियमित भए पनि समर्थकको भने ठूलो संख्याले टि्वटर पछ्याउने गरेको छ। इङ्ल्यान्डको पहिलो रोजाइमा पर्नेमध्ये रक्षक ग्लेन जोन्सन मात्र नियमित टि्वट गर्ने गर्छन्। उनले बुधबार ट्वीट गर्दै भनेका छन, 'पोल्यान्ड लाग्दै।'
स्पेनमा टि्वटर प्रतिबन्धित भएको खबर पनि फर्नान्डो लोरेन्टेको टि्वटबाटै सार्वजनिक भएको थियो। सप्ताहन्तमा उनले आफूलाई पछ्याइरहेकाहरूलाई यसरी टि्वट गरेका थिए, 'मैले अब विदा लिनुपर्ने भएको छ। हामीलाई अभ्यास शिविरबाट टि्वट गर्ने अनुमति छैन।' प्रतिबन्ध धेरै दिन टिकेन। सोमबार सेस फाब्रिगासले अर्को टि्वट गरे, 'सुखद समाचार! अन्ततः हामीले सामाजिक सञ्जाल प्रयोगको अनुमति पाएका छौं। अब हामी युरो दौरान पनि सम्पर्कमा रहने छौं।'
टि्वटरमा अत्यन्तै रमाउने निकलस बेन्डटनर र क्रिस्टियन इरिक्सनका लागि भने डेनिस प्रशिक्षक मोर्टेन ओल्सेनले टि्वटरमा गरेको प्रतिबन्धले पीडित तुल्याएको छ। ओल्सेनले टोलीका प्रत्येक सदस्यलाई टि्वटर प्रयोगमै प्रतिबन्ध लगाएका छन्। 'च्याम्पियनसिप दौरान धेरै भेटघाट र सम्पर्क हुन्छ। त्यसैले हामी यसबीचमा संचारमाध्यमसँगको सम्पर्कलाई कम गर्न चाहन्छांै,' डेनिस फुटबल संघका प्रवक्ता लार्स बेरेन्डिटले भने।
युरोपेली फुटबलको सर्वोच्च निकाय युइएफएका संचार निर्देशक एलेक्जेन्डर फोरटोएले टि्वटर प्रयोगमा आफ्नो कुनै सुझाव नभए पनि प्रसारण अधिकारबारे ध्यान दिनुपर्ने बताए। 'कुनै खेलाडी, पत्रकार वा कसैले खेलको हिस्सा खिचेर फेसबुक वा टि्वटरमा राखेमा त्यसले हाम्रो प्रसारण अधिकार हनन गरेको ठहर्छ,' उनले भने, 'हामी कसैको अभिव्यक्ति स्वतन्त्रता हनन गर्ने पक्षमा छैनौं। हरेक टोलीले आफ्नो नियम बनाउन सक्छन्। तर कुनै खेलाडीले टि्वटरमा कुनै रेफ्रीको अपमान गरे त्यो पत्रकार सम्मेलनमा गरेझै मानिन्छ र उसलाई अनुशासनको कारबाही हुनसक्छ।'
फोरटोएले सामाजिक सञ्जाल युइएफएका लागि नयाँ विषय नभएको बताउँदै आफूहरूले नजिकबाट फुटबलकर्मीलाई यस्ता सामाजिक सञ्जालमा पछ्याइरहेको जानकारी गराए। अहिलेसम्म युइएफएले यस्तो विषयमा कुनै समस्या भोग्नु नपरेकाले यसपालि पनि आफूहरू चिन्तित नभएको उनको भनाइ थियो।
प्रकाशित: २४ जेष्ठ २०६९ १५:०८ बुधबार





