उपत्यकादेखि पूर्वमा मोबाइलको नेटवर्कमा समस्या आएर उपभोक्ताले पटकपटक यस्ता हैरानी व्यहोर्नुपरेपछि टेलिकम बनेपामा गुनासो लिएर जाने गरेका छन्। बनेपाको गोदामचोकमा मोबाइल नेटवर्क राम्रो नआएपछि स्थानीय रामकृष्ण हुमागाईंसहित ७० ग्राहकले निवेदन दर्ता गराएको लामो समय बित्दासमेत कारबाही भएको छैन। यस्तो समस्याबारे गाउँगाउँका सहकारी, समूह, क्लब तथा सामुदायिक संस्थाहरुबाट हरेक दिनजस्तो टेलिकम बनेपामा निवेदन दर्ता हुने गरेको छ।
'मोबाइल सेवा निर्देशनालय छुट्टै भए पनि हामीले पटकपटक पत्र र फोनमार्फत समस्याबारे जानकारी गराउँदै आएका छौं। उतैबाट प्राविधिक आएर समस्या समाधान हुनु पर्ने हो। तर, त्यसो किन भइरहेको छैन?', आफुले गरेका पत्रचारको मोटो फाइल देखाउँदै शाहले नागरिकसँग भने।
टेलिकमको बनेपामा काभ्रे जिल्लासहित पूर्वी पहाडीक्षेत्रका लागि मोबाइल नेटवर्कको लिंक छ। कार्यालय परिसरमै शक्तिशाली बिटिएस(टावर) पनि छ। तर बनेपा आसपासमा मात्रै नभई त्यही कार्यालयभित्र मोबाइल गर्दा उपभोक्ताले हैरानी खेप्दै आएको लामो समय भइसक्यो।
'बीचमै काटिने, पूरा टावर देखाउँदा पनि प्रष्ट कुरा नसुनिनेजस्ता समस्याले हैरानी बढाएको छ। कुरा नै सुनिँदैन तर पैसा भने काटेको काट्यै छ,' जयराम हुमागाईंले गुनासो गरे।
टेलिकमको जिएसएम मोबाइलमा यस्तो समस्या देखिनु दैनिकी नै भएपछि हुमागाईंले विकल्पमा सिडिएमएको पोस्टपेड रिम किनेका छन्। 'आफूलाई खोजेको बखत सम्पर्क नभएपछि सेवाग्राहीले अन्यत्र जाने भएकाले दुईवटा मोबाइल बोक्न बाध्य हुनुपर्यो,' उनले थपे, 'अब सिडिएमएले पनि काम चलेन भने अर्को कम्पनीको किन्नु पर्ला।'
टेलिकम बनेपाले दैनिक ६० भन्दा बढी जिएसएम पोस्टपेड र प्रिपेड सिम बिक्री(परिवर्तन समेत ) गर्ने गरेको छ। तर, सिम एक्टिभेट लगत्तै डायल गर्दा आउने 'नेटवर्क बिजी', 'स्विच अफ', 'नम्बर नट इन युज' 'इरर इन कनेक्सन', जस्ता फरकफरक खालका स्वचालित जवाफले उपभोक्ताहरु वाक्क हुने गरेका छन्।
काठमाडौं विश्वविद्यालयलगायत जिल्लाका क्याम्पसहरुमा अध्ययनरत विद्यार्थीहरु पनि टेलिकमको मोबाइल सेवाबाट पीडित बन्न थालेका छन्। 'टाढाबाट पढ्न आइएको छ। घरपरिवारले सम्पर्क गर्न खोज्दा रहेछन्। हरेकपटक मोबाइलबाट फरक फरक खालका स्वचालित जवाफ जाँदा गाली खानु परेको छ,' काभ्रे बहुमुखी क्याम्पसका विद्यार्थी असिम कोइरालाले भने।
मोबाइल नेटवर्कको समस्याबाट सबैभन्दा पीडित काभ्रेका उद्योगी, व्यापारी तथा रिसोर्ट एवं होटल सञ्चालकहरु बन्न पुगेका छन्। 'टेलिकमको नेटवर्क नै नभएपछि गेस्टहरुलाई मोबाइलमा सम्पर्क गर्न नसकिने भयो। अरु सेवा प्रदायकलाई रोज्नुबाहेक विकल्प भएन,' हिमालय होराइजन होटलका सञ्चालक सुरेन श्रेष्ठले गुनासो गरे।
टेलिकमको मोबाइल सेवा निर्देशनालयले काभ्रेमा बिटिएस राख्ने क्रममा बनेपा एक्सचेन्जसँग समन्वय नगरी सोझै बिटिएस राख्ने गरेको पाइएको छ। यस्तो हुँदा मोबाइलको घनत्व बढी भएको स्थानमा बिटिएसको अभाव खड्किएको छ। चालु हालतमा रहेका बिटिएसमध्ये आधाजतिमात्र काम गरिरहेका छन्।
'बनेपा-पनौतीसडकको श्रीखण्डपुरदेखि ठाडोबाटोसम्मको तीन किलोमिटर खण्डमा नेपाल टेलिकमको नेटवर्क नै टिप्दैन। समस्या लिएर पटकपटक गुनासो गर्यांै, तर सुनुवाइ भएन', लक्ष्मी पोल्ट्री फमर्का सञ्चालक राजेन्द्र थापाले आक्रोश व्यक्त गरे। एक वर्षअघि नै सो स्थानका उपभोक्ताहरुले नयाँ बिटिएसका लागि सामूहिक निवेदन दर्ता गराएका थिए।
टेलिकमको प्रतिस्पर्धी एनसेल र काभ्रेबाटै जिएसएम सेवा थालनी गरेको स्मार्ट सेलले गाउँ गाउँ र बनेपामै पनि गुणस्तरीय सेवा दिइरहेको अवस्था विद्यमान छ। अर्कातिर, मुलुकको सबैभन्दा ठूलो मोबाइल सेवा प्रदायक नेपाल टेलिकमले सिडिएमए र जिएसएम मोबाइल सेवा ग्रामीण भेगसम्म पुर्याए पनि सेवाको गुणस्तरमा सुधार गर्न नसकेकोमा आम उपभोक्ताहरु आक्रोशित बनेका छन्।
'यतिखेर के सहर के गाउँ, दुवैतिरका टेलिकमका मोबाइल प्रयोगकर्ताहरु सुविधाभन्दा बढी समस्यामा छन्। उनीहरु फोन नलागेर हैरान छन्। बीचमै काटिने, नेटवर्क बिजी र कनेक्सन इररको समस्या बढ्दो छ,' राष्ट्रिय उपभोक्ता मञ्च, काभ्रेका अध्यक्ष एवं अधिवक्ता रमेशप्रसाद हुमागाईंले भने, 'टेलिकमको मोबाइल सेवाको गुणस्तर सुधारका लागि केन्द्रमै गएर दवाब दिने योजना बनाएका छौं। नसुधि्रए टेलिकमविरुद्ध आन्दोलन गर्नुको विकल्प छैन।'
प्रकाशित: १ वैशाख २०६९ १२:३६ शुक्रबार





