गत आर्थिक वर्षसम्म साढे २७ अर्ब घाटामा रहेको प्राधिकरणले थोरै भए पनि आम्दानी बढाउन ६६ केभीभन्दा माथिका ठूला प्रसारण लाइनमा बनाएको अप्टिकल फाइबर भाडामा लगाउन सुरु गरेको हो।
प्राधिकरणले नेपाल टेलिकम, एनसेल, युटिएललगायत इन्टरनेट सेवा प्रदायक कम्पनीलाई अप्टिकल फाइबर भाडामा लगाएर गत वर्ष ७ करोड १० लाख रुपैयाँ कमाएको छ।
'चालु वर्ष १० देखि १२ करोड रुपैयाँ अप्टिकल फाइबर भाडामा लगाएर प्राप्त हुने आशा गरेका छौं,' विद्युत प्राधिकरणका महाप्रवन्धक रामेश्वर यादबले भने।
अप्टिकल फाइबर सूचना प्रविधिमा सबैभन्दा उच्चगतिमा डाटा प्रसारण हुने माध्यम हो। प्राधिकरणले बिभिन्न स्थानमा रहेका विद्युतगृह र केन्द्रबीच सम्पर्कको लागि प्रसारण लाइनमा राखेको अप्टिकल फाइबर टेलिफोन र इन्टरनेट सेवा प्रदायकहरुलाई भाडामा लगाउन सुरु गरेको हो।
पहिले क्षमता अनुसार प्रयोग नभएको यो लाइनलाई देशमा दूरसञ्चार कम्पनीको वृद्धिसँगै माग भएपछि भाडामा माग्ने क्रम सुरु भएको छ। यसबाट भ्वाइस, डाटा अत्यन्तै छिटो गतिमा प्रसारण हुने भएपछि इन्टरनेट कम्पनीले समेत भाडा तिर्नेगरि प्रयोग गरिरहेका छन्।
भाडामा समेत लाग्ने भएपछि प्राधिकरणले विभिन्न विद्युत केन्द्र र काठमाडौंलाई जोड्ने गरी बनेका र बन्न लागेका सबै प्रसारण लाइनमा अप्टिकल फाइबर राख्ने योजना बनाएको छ। यस क्रममा केही प्रसारण लाइनमा राखिसकेको छ। ६६ केभि भन्दा ठूला प्रसारण लाइनमा प्राधिकरण आफैंले अप्टिकल फाइबर राखेर भाडामा दिने र साना लाइनमा अप्टिकल फाइबर राख्न टेलिकमलाई भाडामा दिने भएकेा छ।
प्राधिकरणले यो वर्ष आफ्नो पोल प्रयोग गरेर अप्टिकल फाइबर राख्न ११ र ३३ केभीका ५ सय किलोमिटर प्रसारण लाइन दिने भएको हो। यस वापत समेत प्राधिकरणले लगानी बिनै फाइदा लिन पाउनेछ।
अहिले प्राधिकरणले सहरी क्षेत्रमा रहेको बिजुलीको पोल प्रयोग गरे वापत टेलिकमसँग वार्षिक दुई करोड २५ लाख रुपैयाँ कमाइरहेको छ। टेलिकमले प्राधिकरणका एक लाख १६ हजार पोलमा टेलिफोनको लाइन तानेको छ।
बिजुलीको पोलमा राखेको टेलिफोनको तार वापत हरेक २/२ वर्षमा भाडा पुनरावलोकन हुने गरी दुई संस्थाबीच सम्झौता भएको छ।
'हामीले दुई वर्षको भाडा वापत ५ करोड ६२ लाख रुपैयाँ टेलिकमबाट प्राप्त गरेका छौं,' प्राधिकरणका कार्यकारी निर्देशक दीपेन्द्रनाथ शर्माले भने।
प्राधिकरणले निर्माण गरेको अप्टिकल फाइबरलाई टेलिकम, एनसेल, युटिएललगायत केही इन्टरनेट सेवा प्रदायकले भाडा तिर्नेगरी प्रयोग गरिरहेका छन्। अप्टिकल फाइबरबाट सेवा विस्तार चाँडो हुने भएकाले प्राधिकरणसँग भाडामा लिन सबै कम्पनीले चासो दिइरहेका छन्।
ग्रामीण भेगमा ब्रोडब्यान्ड इन्टरनेट सेवा पुर्याउन दूरसञ्चार प्राधिकरणले यो वर्ष कार्यक्रम राखेको छ। प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषमा जम्मा भएको झन्डै चारअर्ब रुपैयाँ खर्च गरेर सबै जिल्ला सदरमुकामलाई अप्टिकल फाइबरले जोड्ने कार्यक्रम बनाएको छ।
सूचना प्रविधि विस्तारमा निकै महŒवपूर्ण अप्टिकल फाइबर विस्तार गर्न नेपालमा एसियाली विकास बैंकको सहयोगमा सासेक परियोजनासमेत सञ्चालनमा छ। ग्रामीण भेगसम्म प्राधिकरणको प्रसारण लाइन भएकाले विस्तार गर्न सजिलो पर्ने भएकाले टेलिकम र प्राधिकरण सहकार्य भएको हो।
प्रकाशित: २७ भाद्र २०६८ २१:१४ मंगलबार





