काठमाडौं, फागुन १ (नागरिक) – एक हजार आठ सय २० रुपैयाँमा अब नयाँ टेलिफोन लाइन लिन सकिने भएको छ।
टेलिकमले फागुन १ देखि नयाँ लाइन जडान गर्दा धरौटी र जडान खर्च घटाएपछि यो शुल्कमा नयाँ टेलिफोन लिन संभव भएको हो।
टेलिकमले सातौं वार्षिक उत्सवको अवसरमा फागुन १ देखि धरौटीलाई घटाएर एक हजार पाँच सय र जडान शुल्क नौ सयलाई घटाएर तीन सय २० रुपैयाँमात्र लिने निर्णय गरेको छ।
टेलिकमले तीन वर्ष अघि पाँचहजार रुपैयाँ धरौटीलाई घटाएर तीनहजारमात्र गरेको थियो। यसलाई यसपटक फेरि घटाएर एक हजार पाँच सय रुपैयाँमात्र गरिएको टेलिकमले जनाएको छ।
फागुन १ देखि राति १० बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्म मोबाइलबाट कल गर्दा प्रतिमिनेट ७५ पैसा लाग्ने गरेकोमा त्यसलाई घटाएर ५५ पैसामात्र लाग्नेछ। राति फोन गर्नेलाई यो महसुलले केही राहत दिने टेलिकमका अधिकारीहरुले बताए।
प्रकाशित: २९ माघ २०६७ २२:५१ शनिबार





