२ पुस २०८२ बुधबार
image/svg+xml
प्रविधि

नयाँ प्रविधिमा जान नसक्ने १४ इन्टरनेट कम्पनी बन्द

रामचन्द्र भट्ट, काठमाडौं, कात्तिक २८ - उपभोक्ताको मागअनुसार नयाँ प्रविधिबाट इन्टरनेट सेवा दिन नसक्ने १४ कम्पनी बन्द भएका छन्। संसारमा सबैभन्दा छिटो परिवर्तन हुने सूचना प्रविधि क्षेत्रमा अपडेट भएर उपभोक्तालाई सेवा दिन नसकेपछि कम्पनी बन्द हुन बाध्य भएका हुन्। अहिले वाइम्याक्स, वाइफाई एडिएसएल, केबुल(अप्टीकल फाइवर) जस्ता प्रविधि आइसक्दा पनि यी कम्पनीहरु डायलपभन्दा बाहिर निस्कन सकेका थिएनन्। दूरसञ्चार प्राधिकरणबाट इन्टरनेट सेवा चलाउन लाइसेन्स लिने पहिलो कम्पनी क्यापिटल अनलाईन समेत बन्दा हुने कम्पनीमा परेको छ।
यस्तै केही वर्ष अघिसम्म इन्टरनेटको क्षेत्रमा निकै चलेको सिसिएसएल (कम्प्युटर ल्यान्ड कम्युनिकेसन सिस्टम) बन्द भएको छ। सूचना प्रविधिको उपकरण बेच्ने कास ट्रेडिङ हाउस समूहले यो कम्पनी चलाएको थियो।
त्यस्तै, क्यापिटल अनलाईन, हाइटेक पायोनियर लिमिटेड, नेटवर्क टेक्नोलोजी, पर्सनल ब्रोडव्याण्ड जस्ता इन्टरनेट क्षेत्रमा नाम चलेका आइएसपीसमेत बन्द भएका छन्। नेटवर्क टेक्नोलोजीमा भारतीय कम्पनी सत्यमले समेत लगानी गरेको थियो।
'केही वर्ष अघिसम्म चलेका आइएसपीहरु बन्द हुँदा तिनीहरुबाट सरकारले उठाउनुपर्ने राजश्व समेत गुमेको छ,' दूरसञ्चार प्राधिकरण अनुमतिपत्र शाखाका प्रमुख दिपेश आचार्यले भने।
आइएसपी सञ्चालन गरिरहेका व्यबसायीहरुले अहिलेकै प्रविधिबाट सेवा दिने हो भने उपभोक्ता बढ्ने भन्दा गुम्दै जाने बताएका छन्। 'नयाँ प्रविधिमा नजाने हो भने अब हामी जस्ता आइएसपीको भविष्य देखेको छैन,' इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान) का अध्यक्ष विनय बोहोराले भने।
इन्टरनेट सेवा सुरु हुँदा चलाइने डायलअप प्रविधि अहिले संसारका अधिकांश देशहरुमा लगभग विस्थापित भैसकेको छ। नेपालमा अहिले बन्द भएका आइएसपीहरु डायलअप प्रविधिमा सिमित थिए। नयाँ प्रविधिबाट इन्टरनेट सेवा सुरु गर्न ठूलो रकम लगानी गर्नुपर्ने भएकोले आगामी एक वर्षभित्र अधिकांश कम्पनीहरु बन्द भैसक्ने अवस्था आएको छ।
'टेलिकमले एडिएसएल सुरु गरेपछि हाम्रो व्यबसाय चौपट भयो,' हाइटेक पायोनियरका प्रमुख मुनीबहादुर शाक्यले भने। आइएसपी बन्द भएपछि शाक्यले अहिले दुर्गम जिल्लाहरुमा टेलिमेडिसिन सेवा सुरु गरेका छन्।
डायलअप प्रविधिबाट इन्टरनेट प्रयोगकर्ता घटेपछि ब्रोडलिङले भरखरै ठूलो लगानी गरेर वाइफाइ सेवा सुरु गरेको छ। 'सहरमा बस्ने अधिकांशसँग ल्यापटप भएकाले वाइफाइ तर्फ लागेका हौं,' ब्रोडलिङका व्यापार प्रमुख विष्णु अधिकारीले भने। ल्यापटप र अहिले बजारमा चल्तीमा रहेका अधिकांश मोबाइल फोनमा वाइफाई चल्ने प्रविधि हुन्छ।
आफ्ना ग्राहकलाई अरु आइएसपीले आकर्षित गर्न नसकुन् भनेर वाइफाइ सेवा सुरु गरे पनि यो प्रविधि अझै आधुनिक र प्रभावकारी भने होइन। 'ताररहित वाइम्याक्स यसको अहिलेका लागि सबैभन्दा प्रभावकारी हुनसक्छ, हामी यसतर्फ लागिसकेका छौं,' आइस्पान अध्यक्ष बोहोराले भने।
पछिल्लो समयमा नेपाल टेलिकमले एडिएसएल प्रविधिबाट इन्टरनेट सुरु गरेपछि डायलअपमा सिमित अधिकांश आइएसपीका ग्राहक ह्वात्तै घटेका छन्। आफ्ना ग्राहक टिकाइराख्न ठूला लगानीका केही आइएसपीहरुले केबुल र वाइफाइ प्रविधिबाट इन्टरनेट सुरु गरिसकेका छन्।
मोबाइल र साधारण टेलिफोन सेवा सञ्चालन गरिरहेका कम्पनीहरु अहिले इन्टरनेट सुरु गरेका छन्। युटिएलले अहिले मासिक पाँचसय ६५ रुपैयाँमा एकसय २८ किलोबिट् प्रति सेकेन्ड स्पिडको इन्टरनेट दिएरहेको छ। त्यस्तै, एनसेलले ग्राहकको आवश्यकता अनुसार ब्रोडव्याण्ड उच्चगतिको थि्रजी इन्टरनेट सेवा सुरु गरिसकेको छ।
ब्रोडव्याण्ड सेवा सुरु भएपछि न्यारोव्याण्ड सेवा अन्तरगत पर्ने डायलअपका ग्राहक ह्वात्तै घटेका हुन्। नेपालमा २५६ किलोबिट्स प्रतिसेकेण्ड स्पिडको इन्टरनेटलाई ब्रोडव्यान्डको रुपमा लिइन्छ।
प्राधिकरणका आचार्यले लगानी बन्द भएका आइएसपीहरुमा अधिकांश साना लगानीका रहेको बताए। डायलअप प्रविधिबाट इन्टरनेट चलाउन नेपाल टेलिकमको तारवाला (पिएसटिएन) फोनमा भर पर्नुपर्छ। डायलअप प्रविधिबाट इन्टरनेट चलाउँदा उपभोक्ताले दोहोरो शुल्क तिर्नुपर्ने भएपछि उपभोक्ताहरु अहिले एडिएसएल, थि्रजी, सिडिएमए र फाइबर तिर आकर्षित भएका छन्।
डायलअप प्रविधिबाट इन्टरनेट सेवा प्रयोग गर्दा हरेक चार मिनेटमा एक लोकल कल बराबरको महसुल तिर्नुपर्छ। त्यस्तै इन्टरनेट सेवाको लागि संबन्धित आइएसपीलाई पनि स्पिड अनुसार कम्तिमा मासिक एकहजार रुपैयाँ तिर्नुपर्छ। यसले गर्दा सेवा प्रयोग गर्ने उपभोक्ताले दोहोरो शुल्क तिर्नुपर्छ।
अहिले हरेक वर्ष ४/५ नयाँ आइएसपीहरु थपिइरहेका छन्। नयाँ आउने अधिकांश कम्पनीहरुले केबुलबाट इन्टरनेट दिन थालेका छन्।
'फ्रिक्वेन्सीको प्रयोग हुने वाइम्याक्स जस्ता प्रविधिमा अब आइएसपीहरु जानुपर्ने अवस्था छ,' बोहोराले भने। वाइम्याक्स प्रविधिबाट इन्टरनेट चलाउँदा तार चाहिदैन। लगानी गर्न सक्ने केही आइएसपीहरु अहिले वाइम्याक्सको लागि तयार भएका छन्। वर्ल्डलिङ्क, मर्कन्टाइल, भायानेट जस्ता आइएसपीले वाइम्याक्स सेवा सुरु नगरेसम्म आफ्ना ग्राहक टिकाइराख्न केबुल इन्टरनेट सुरु गरेका छन्।

प्रकाशित: २८ कार्तिक २०६७ ०४:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App