२८ माघ २०८२ बुधबार
image/svg+xml
राजनीति

एमाले महाधिवेशन: नेतृत्व चयनमा ‘हाइटेक’ अभ्यास, विद्युतीय मतदानमा उत्साहित प्रतिनिधि

नेकपा (एमाले) को ११ औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि राजधानीको भृकुटीमण्डपमा विद्युतीय मेसिनबाट मतदान भइरहेको छ।

कागजको मतपत्रको साटो विद्युतीय भोटिङ मेसिनको प्रयोग गर्दा समय केही बढी लागे पनि मत बदर नहुने र पारदर्शी हुने भन्दै मतदाताहरू उत्साहित देखिएका छन्।

निर्वाचन आयोगले व्यवस्था गरेको ८० वटा विद्युतीय भोटिङ मेसिनमा लामबद्ध भएर प्रतिनिधिहरूले आफ्नो मताधिकार प्रयोग गरिरहेका छन्।

देशभरबाट आएका प्रतिनिधिहरूले पहिलो पटक प्रविधिको प्रयोग गरी आफ्नो नेता छान्न पाउँदा यसलाई नौलो र सकारात्मक अनुभवका रूपमा लिएका छन्।

१९ पदाधिकारीसहित ३०१ सदस्यीय जम्बो केन्द्रीय कमिटी चयन गर्नुपर्ने र ६४२ जना उम्मेदवार चुनावी मैदानमा रहेका कारण मतदान प्रक्रिया केही लामो देखिए पनि यसको स्वच्छता र विश्वसनीयतालाई लिएर मतदाताहरूले प्रशंसा गरिरहेका छन्।

भौगोलिक र प्राविधिक साक्षरताका हिसाबले विविधतायुक्त प्रतिनिधिहरू सहभागी महाधिवेशनमा धेरैका लागि विद्युतीय मतदान नितान्त नौलो अनुभव थियो।

रौतहटबाट महाधिवेशन प्रतिनिधिका रूपमा आएकी गौरी न्यौपानेले भोटिङ मेसिनको प्रयोग पहिलो पटक गरेकी हुन्। ‘मैले यसरी भोट हालेको जीवनमै पहिलो पटक हो। अनुभव एकदमै फरक र नयाँ रह्यो,’ न्यौपानेले आफ्नो अनुभव सुनाइन्।

उनलाई मतदान प्रक्रिया पूरा गर्न करिब आधा घण्टा समय लाग्यो। समय अलि बढी लागे पनि आफूले चाहेको उम्मेदवारको तस्बिर र नाम स्पष्ट हेरेर मतदान गर्न पाउँदा उनी ढुक्क देखिइन्।

न्यौपानेले थपिन्, ‘कागजको मतपत्रमा जस्तो मसी लतपतिएला वा च्यातिएला भन्ने डर भएन। विद्युतीय मतदान गर्दा पारदर्शी हुने, कसैले जालझेल गर्न नसक्ने, झन्झट पनि नहुने र गणना गर्न पनि सजिलो हुने देखियो। मेरो मत सही ठाउँमा पर्‍यो भन्नेमा म पूर्ण विश्वस्त छु।’

नेपालका अधिकांश निर्वाचनहरूमा मत बदर हुने समस्या प्रमुख चुनौतीका रूपमा रहँदै आएको छ। तर, एमालेको महाधिवेशनमा प्रयोग गरिएको प्रविधिले ‘मत बदर’ को समस्यालाई शून्यमा झारिदिएको छ। रौतहटबाटै आएकी अर्की प्रतिनिधि मुना सुवेदीलाई यो पक्षले निकै प्रभावित पारेको छ।

करिब ३० मिनेट लगाएर मतदान गरेकी सुवेदीले भनिन्, ‘भोट हाल्दा कसैलाई छोड्छु भन्दा पनि नपाइने रहेछ। जति सङ्ख्यामा उम्मेदवार छान्नुपर्ने हो, त्यति नै छान्नै पर्ने सिस्टम रहेछ। सङ्ख्या नपुगेसम्म मेसिन अगाडि नै बढ्दैन।’

उनले आफूले दिएको मत खेर नजाने ग्यारेन्टी देखेपछि खुसी व्यक्त गरिन्। ‘यो माध्यम मलाई गज्जब लाग्यो।’ उनले भनिन्।

प्रविधिले स्वच्छता ल्याए पनि समय व्यवस्थापन र कम साक्षर मतदाताका लागि भने केही चुनौतीहरू देखिएका छन्।

महोत्तरीबाट आएका प्रतिनिधि सञ्जय स्वाराजलाई मतदान सम्पन्न गर्न ४२ मिनेट लाग्यो। ३०१ जनाको विशाल कमिटी चयन गर्नुपर्ने र सयौँ उम्मेदवारको सूचीबाट आफ्नो रोजाइको व्यक्ति छान्नुपर्ने बाध्यताले समय बढी लागेको उनको अनुभव छ।

‘नाम धेरै छन्, कोलम धेरै छन्। आफूले रोजेको र खोजेको उम्मेदवार पत्ता लगाउन अलि समय खर्चिनुपर्ने रहेछ। त्यसैले मलाई ४२ मिनेट लाग्यो,’ स्वाराजले भने।

यद्यपि, उनलाई विगतको कागजको मतपत्र भन्दा यो माध्यम नै मन पर्‍यो। उम्मेदवारको तस्बिर र नाम दुवै हेर्न पाइने सुविधाले उनलाई आकर्षित गर्‍यो।

तर, उनले मधेस तथा ग्रामीण भेगबाट आएका र प्रविधिमा अभ्यस्त नभएका मतदाताका लागि भने यो प्रक्रिया केही जटिल हुनसक्ने औँल्याए। ‘अलिकति पढेलेखेको छ भने उसलाई ठिक हुन्छ, तर जसले पढेको छैन वा प्रविधि जानेको छैन, उसलाई तस्बिर ठम्याउन र मेसिन चलाउन धेरै गाह्रो हुन्छ,’ उनले सुनाए।

मुगु जस्तो दुर्गम जिल्लाबाट आएकी कविता गिरीलाई पनि मतदान गर्न ४५ मिनेट समय लाग्यो। तर, समय बढी लागे पनि उनको अनुभव सकारात्मक छ। ‘समय लागे पनि यो निष्पक्ष र झन्झटरहित छ। दुर्गमबाट आएका हामीलाई पनि यो माध्यम सही लाग्यो,’ उनले भनिन्।

प्रविधिमैत्री नयाँ पुस्ता र स्मार्टफोन चलाउन जान्नेहरूका लागि भने विद्युतीय मतदान निकै सहज देखिएको छ। सुदूरपश्चिमबाट आएकी माधवी साहुले अन्य वर्ष र विगतका निर्वाचनहरू भन्दा यो माध्यम साह्रै उत्कृष्ट लागेको बताइन्।

‘मोबाइल चलाउन जान्नेहरूलाई यो माध्यम निकै सहज छ। एमालेले आधुनिक प्रविधिहरू प्रयोग गरेको छ। यो सह्रानीय छ,’ साहुले भनिन्।

उनले आफूलाई मतदान गर्न २५ मिनेट मात्र लागेको जानकारी दिइन्। उनले अब अन्य राष्ट्रिय निर्वाचनमा पनि यसरी नै मतदान गर्ने व्यवस्था गरिनुपर्नेमा जोड दिइन्।

यसैगरी, बाँकेकी दीपा शर्माले सबैभन्दा छिटो अर्थात् २३ मिनेटमै मतदान सम्पन्न गरिन्। उम्मेदवारको अनुहार हेर्दै स्क्रिनमा छोएर मत हाल्न पाउँदा उनी निकै खुसी थिइन्। ‘विज्ञान र प्रविधिमा नेकपा एमाले अग्रसर छ भन्ने यो प्रमाण हो। समय अनुसार पार्टी चलेको देखेर खुसी छु,’ शर्माले भनिन्।

मकवानपुरकी भगवती पुडासैनीसँग भने यसअघि प्रदेश कमिटीको चुनावमा पनि विद्युतीय मेसिनबाट मतदान गरेको अनुभव थियो। पूर्वअनुभवका कारण उनलाई ३५ मिनेट लागे पनि प्रक्रिया निकै सहज लाग्यो।

‘यो माध्यम एकदमै सजिलो र पारदर्शी छ। यसले मागेको जति सङ्ख्यामा टिक लगाएपछि पेज ‘फास्ट चेन्ज’ हुन्छ। बदर हुने डर पनि भएन,’ उनले भनिन्।

बाराबाट आएकी दुर्गाकुमारी घिमिरे कोइरालाले यो अभ्यासलाई पार्टीभित्र मात्र सीमित नराखी राष्ट्रिय स्तरमै लैजानुपर्ने सुझाव दिइन्।

स्थानीय र संसदीय चुनावमा विद्युतीय माध्यम प्रयोग गरे चुनाव धाँधलीरहित हुने उनको विश्वास छ। ‘जनताले निष्पक्ष भोट हाल्न पाउने र मत परिणाम पनि छिटो र निष्पक्ष निस्किने देखियो,’ उनले भनिन्।

उनलाई पनि मतदान गर्न करिब ४५ मिनेट लागेको थियो। ‘छान्नुपर्‍यो, हेर्नुपर्‍यो, फोटो ठम्याउनुपर्‍यो, त्यसैले समय त लाग्ने नै भयो,’ उनले भनिन्।

एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार महाधिवेशन स्थलमा मतदान प्रक्रियालाई व्यवस्थित बनाउन विशेष ध्यान दिइएको छ।

‘हामीले ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरेका छौं। सरदरमा हेर्दा आधा घण्टाको अवधिमा ८० जना प्रतिनिधिले एकै पटक मतदान सम्पन्न गरिरहनुभएको छ,’ गौतमले भने।

बिहान ९:३० बजे सुरु भएको मतदानमा २ हजार २६३ प्रतिनिधिहरू सहभागी छन्। पार्टीको १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटीका लागि ६४२ उम्मेदवारहरू प्रतिस्पर्धामा छन्।

उम्मेदवारको लामो सूचीका कारण एक जनालाई मतदान गर्न औसतमा २० देखि ४५ मिनेटसम्म लागिरहेको छ। यद्यपि, लाइन व्यवस्थापन र मेसिनको सङ्ख्या पर्याप्त भएकाले मतदान प्रक्रिया उत्साहपूर्ण र शान्तिपूर्ण रूपमा अघि बढिरहेको गौतमले बताए।

प्रकाशित: २ पुस २०८२ १६:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App