हालै अमेरिकामा एउटा यस्तै नजिर बस्न सक्ने घटना भएको छ। राष्ट्रिय श्रमिक सम्बन्ध बोर्डले फेसबुकमा आफ्ना हाकिमबारे आलोचनात्मक, बेइज्जतिपूर्ण कमेन्ट लेख्ने एक महिला कर्मचारीलाई बर्खास्त गरेको विषयमा उजुरी दर्ता गरेको छ।
अमेरिकन मेडिकल रेस्पन्स नामको एम्बुलेन्स सेवा कम्पनीमा काम गर्ने आपतकालीन चिकित्सा प्राविधिक डनमेरी सुजालाई फेसबुकमा लेखिएको कमेन्टका कारण नभई उनको आपत्तिजनक व्यवहारको कारण बर्खास्त गर्नुपरेको व्यवस्थापनले दावी गरेको छ।
सुजाले आफ्ना हाकिमलाई मानसिक रोग लागेको बिरामीसँग तुलना गरी गाली गर्दै फेसबुकमा लेखेका थिए।
श्रमिकहरुको हकहितका लागि गठित संघीय एजेन्सी लेबर बोर्डले उनलाई गैरकानुनी रुपमा बर्खास्त गरिएको बताएको छ।
बोर्डले कर्मचारीहरुले आफ्ना हाकिमहरुको बारेमा फेसबुक जस्ता सोसल नेटवर्किङ साइटहरुमा गर्ने आलोचना सामान्यतया कानुनद्वारा संरक्षित काम भएको जिकिर गरेको छ।
बोर्डले भनेको छ- आफ्नो काम गर्ने वातावरण बारे कुरा गर्न कामदारले पाउँछन्। इन्टरनेटको सोसल नेटवर्किङ साइटलाई समेट्ने भएकोले यो मुद्दालाई नजिर बन्ने मुद्दाको रुपमा लिइएको छ।
यो विषयमा लेबर बोर्डले आगामी जनवरी २५ मा आगामी सुनुवाई राखेको छ। (एजेन्सीहरु)
प्रकाशित: २५ कार्तिक २०६७ ०२:०९ बिहीबार





