एनसेलका थ्रीजी ग्राहकले करसमेत दुई रुपैयाँ ४७ पैसामा भिडियो कल गर्न सक्नेछन्। एनसेलले कुराकानीमात्र गर्न सकिने भ्वाइस कल र भिडियो कलको महसुल एउटै राखेको छ। पोस्टपेड र प्रिपेड दुवै प्रकारको मोबाइलमा एउटै महसुल लाग्नेछ।
यो महसुल एनसेलको आफ्नै नेटवर्कमा मात्र हुनेछ। एनसेलको नेटवर्कबाट टेलिकमको नेटवर्कमा कुराकानी गर्न सकिए पनि भिडियो कल भने तत्काललाई नजाने एनसेलका एक अधिकारीले जानकारी दिए।
'एनसेललाई भिडियो कलको करबाहेक प्रतिमिनेट एक रुपैयाँ ९९ पैसामात्र ग्राहकसँग लिन पाउने गरी महसुल स्वीकृत गरेका छौं,' प्राधिकरणका प्रवक्ता कैलाशप्रसाद न्यौपानेले भने।
अहिले एनसेल चलाइरहेका ग्राहकले एसएमएस गरेपछि भिडियो कल सेवा एक्टिभेट गरिदिने भएको छ। नयाँ सिमकार्ड लिन चाहने ग्राहकले भने सुरुमै भिडियो कलको सुविधा पाउँछन्।
भिडियो कुराकानी गर्न कल गर्ने र रिसिभ गर्ने दुवैले यो सुविधा लिएको हुनुपर्छ। दुवै प्रयोगकर्तासँग भिडियो कुराकानी गर्न सक्ने सेट हुन आवश्यक हुन्छ। एनसेलले देशका ठूला १० सहरहरुमा भिडियो कल गर्न सकिने गरी थ्रीजी सेवा विस्तार गरेको छ। यसको साथै सगरमाथा क्षेत्रमा थ्रीजी सेवा सुरु गरेको छ।
एनसेलले भिडियो कल सुरु गरे पनि अहिलेसम्म ग्राहकलाई घोषित रुपमा यो सेवा उपलब्ध गराइसकेको थिएन। भिडियो कल थि्रजी अन्तर्गतकै एउटा सेवा हो। दुई साता अघि सगरमाथाको आधारशिविरबाट एनसेलले भिडियो कल सेवा उद्घाटन गरेको थियो। प्राधिकरण सञ्चालक समितिको गत बिहीबारको बैठकले महसुल स्वीकृत गरेको हो।
नेपाल टेलिकमले झन्डै तीन वर्षदेखि भिडियो कल सेवा सुरु गरिसकेको छ। टेलिकमले पोस्टपेड र प्रिपेड मोबाइलको लागि छुट्टाछुट्टै महसुल लिइरहेको छ। एनसेलले पोस्टपेड मोबाइलमा चार रुपैयाँ र प्रिपेडमा पाँच रुपैयाँ करबाहेक महसुल लिइरहेको छ।
थ्रीजी मोबाइलमा उच्च गतिको इन्टरनेट सेवा पनि चल्छ। अहिले एनसेलका ३७ लाख ग्राहक पुगेका छन्।
दुई वर्षअघि युरोपको टेलिया सोनेराले ८० प्रतिशत सेयर लिए पनि आक्रामक रुपमा ग्राहक बढाउन लागेको एनसेलले एक वर्षभित्र सातअर्ब रुपैयाँ लगानी गरेर ७५ जिल्लामा सेवा पुर्याउने योजना घोषणा गरेको छ।
प्रकाशित: २३ कार्तिक २०६७ १३:१७ मंगलबार





