एनसेलले ल्यापटप कम्प्युटरका उपभोक्तालाई लक्षित गरेर 'एनसेल कनेक्ट' नाम दिइएको द्रुत इन्टरनेट प्याकेज ल्याएको छ। डाटा डिभाइसमा सिमकार्ड राखेर ३ दशमलव ६ मेगाबिट प्रति सेकेन्डसम्मको स्पिडको इन्टरनेट चलाउन सकिन्छ।
'हरेकलाई इन्टरनेटको पहुँचमा सजिलै जोड्न एनसेलले यो डाटाकार्ड ल्याएको हो,' एनसेलका प्रमुख कार्यकारी अधिकृत पासी कोइस्टिनेनले भने। डाटाकार्ड सेवा लिएपछि उपभोक्ताले एनसेलको सेवा पुगेको सबै स्थानबाट इन्टरनेट चलाउन सक्नेछन्।
डाटाकार्डलाई ग्राहकले घर वा कार्यालयमा रहेको डेक्सटप कम्प्युटरमा समेत राखेर इन्टरनेट चलाउन सक्नेछन्। यसको लागि एनसेलले कम्प्युटरको युएसबी पोर्टमा जोड्न मिल्ने डाटारिडर डिभाइस ल्याएको छ।
ग्राहकले एनसेलको इन्टरनेट सेवा लिन एकहजार नौसय ९९ रुपैयाँ तिरेर यो डाटा रिडर डिभाइस किन्न सक्छन्। 'अहिलेलाई काठमाडौंमा मात्र हामी यो डिभाइस बेच्दैछौं, तर इन्टरनेट भने हाम्रो सेवा पुगेका सबै ठाउँमा चलाउन सकिन्छ,' एनसेलकी कर्पोरेट कम्युनिकेसन मेनेजर सन्जु कोइरालाले भनिन्।
एनसेलले इन्टरनेट चलाउनको लागि छुट्टै डाटाकार्डको व्यबस्था गरेको छ। उपभोक्तो ९९ रुपैयाँ तिरेपछि ५० रुपैयाँ व्यालेन्स भएको डाटाकार्ड पाउँछन्। एनसेलकै सिमकार्डबाट भने इन्टरनेट चलाउन सकिदैन।
एनसेलले यो कार्डबाट मासिक पाँचसय एमबीसम्म डाटा प्रयोग गर्न पाउनेगरि ४ सय ९९ रुपैयाँको स्किम ल्याएको छ। त्यस्तै, एकहजार एमबीको लागि ८ सय ९९ र पाँचहजार एमबीको लागि तीनहजार ९ सय ९९ रुपैयाँ तिर्नुपर्छ। यो स्किम अन्तरगत ग्राहक बनेकाहरुले एक महिनामा डाटा प्रयोग गरिसक्नुपर्ने हुन्छ।
'लिएको डाटा भन्दा बढी आवश्यक पर्ने भएमा प्रति एक एमबी बराबर थप दुई रुपैयाँ तिर्नुपर्छ,' पासीले भने। घर बाहिर हुने र द्रुत इन्टरनेट आवश्यक पर्नेलाई एनसेलको सेवा उपयुक्त हुने उनले बताए।
मासिक स्किममा समावेश नहुनेले पनि एनसेलको डाटाकार्डबाट इन्टरनेट चलाउन सक्छन्। तर, त्यस्तो सेवा भने महंगो पर्नेछ। मासिक स्किम भन्दा बाहेक इन्टरनेट ग्राहक बन्दा प्रति एमबी ६ रुपैयाँ तिर्नुपर्नेहुन्छ। यो जिपिआरएसको दर हो।
एनसेलको डाटाकार्डलाई बजारमा पाइने रिचार्ज कार्डबाटै पैसा थप्न सकिन्छ। अहिले एनसेलका ग्राहकलाई प्रयोग गरिरहेको सिमकार्डमा भने डाटा सेवा उपलव्ध नगराउने घोषणा एनसेलले गरेको छ।
प्रकाशित: १३ आश्विन २०६७ १९:२४ बुधबार





