टेलिकमले मात्र अहिलेसम्म झन्डै १ लाख टेलिफोन लाइन ब्लक गरेको छ।
भीओआइपी (भ्वाइस ओभर इन्टरनेट प्रोटोकल) इन्टरनेटको बाटो हुँदै आउने टेलिफोन कल हो। इन्टरनेट हुँदै आएको कललाई यहाँ भीओआइपी सञ्चालकले राखेको उपकरणले जुन व्यक्तिको टेलिफोनमा पठाउनुपर्ने हो अटोमेटिक रुपमा पठाउँछ। जसबाट भीओआइपी सञ्चालकले विदेशी टेलिफोन कम्पनीसँग 'सेयरिङ' वापत एक मिनेटको २ देखि १० सेन्टसम्म लिन्छन्।
सबैभन्दा ठूलो टेलिफोन सेवा प्रदायक नेपाल टेलिकमले विदेशबाट आएको कल बापत अघिल्लो वर्ष तीन अर्ब ३८ करोड रुपैयाँ कमाएको थियो। आव २०६६/६७ मा चार अर्ब रुपैयाँ आम्दानी भएको अनुमान टेलिकमको छ।
टेलिकमबाहेक अरु कम्पनीको आम्दानीमा सबैभन्दा ठूलो हिस्सा विदेशबाट आउने कलको छ। नेपालमा वार्षिक १० अर्ब रुपैयाँको कल विदेशबाट आउने अनुमान छ। यसमध्ये ५० प्रतिशत भीओआइपी सञ्चालकहरुले खान्छन्।
लाइसेन्स नलिएका कम्पनीले विदेशबाट कल भित्र्याउँदा करोडौं रुपैयाँ लाइसेन्स शुल्क सरकारलाई तिरेर सेवा चलाइरहेका कम्पनीहरुलाई आर्थिक नोक्सानी भएको छ। लाइसेन्स लिएका कम्पनीले विदेशबाट कल आउँदा मिनेटको १२ देखि १६ सेन्टसम्म पाउँछन्। अवैध भीओआइपीले गर्दा पाँच अर्ब रुपैयाँ टेलिफोन सेवा प्रदायकहरुले गुमाइरहेका छन्।
जति बन्द गर्दा पनि गैरकानुनी रुपमा चलेका भिओआपीलाई ठप्पै पार्न नसकिएको अनुभव टेलिकमका अधिकारीहरुको छ। कारबाहीबाट मात्र भीओआइपी रोक्न नसकेपछि नम्बर पूरै ब्लक गर्ने अभियान थालेका हुन्।
'कारबाहीसँगै यस्ता नम्बरलाई पुरै ब्लक गर्ने अभियान सुरु गरिएको छ,' टेलिकम स्रोतले भन्यो। दैनिक दुई हजार लाइन ब्लक गर्दा पनि यो समस्याको दिगो समाधान भएको छैन।
'हामी दैनिक तीन सयदेखि पाँचसय मोबाइल नम्बर ब्लक गरिरहेका छौं,' स्पाइस नेपालकी कर्पोरेट कम्युनिकेसन मेनेजर सन्जु कोइरालाले भनिन्। मोबाइल टेलिफोन वितरण गरिरहेका कम्पनीहरुले आफ्नो नम्बर भीओआइपीमा प्रयोग भएको पुष्टि हुनासाथ त्यसका ग्राहकलाई जानकारीसमेत नदिई ब्लक गर्न थालेका छन्।
युटिएलले दैनिक तीनदेखि चारसयको हाराहारीमा नम्बर ब्लक गरिरहेको छ। सुरक्षाका कारण नाम उल्लेख नगर्न आग्रह गर्दै युटिएलका एक उच्च अधिकारीले अहिलेसम्म ४० हजार लाइन ब्लक गरिसकेको बताए।
विदेशबाट नेपालमा आउने टेलिफोन कल चारवटा कम्पनीका नेटवर्क हुँदै मात्र आउन पाउँछ। नेपाल टेलिकम, स्पाइस नेपाल, युटिएल र एसटिएम टेलिकमले मात्र विदेशबाट नेपाल आउने कल भिœयाउन पाउँछन्। यी कम्पनीहरुले विदेशबाट आएको कल भिœयाउनको निम्ति आइएलडी गेटवे चलाउन लाइसेन्स लिएका छन्। आइएलडी गेटवे लाइसेन्स लिन चार कम्पनीहरु हरेकले ६ करोड २५ लाख रुपैयाँ तिरेका छन्।
हाइस्पिड इन्टरनेट हुँदै आएको भ्वाइस कललाई अवैध भीओआइपी सञ्चालकहरुले नेपाल टेलिकम, स्पाइस नेपाल र युटिएलको टेलिफोन हुँदै सम्बन्धित व्यक्तिको नम्बरमा कल पुर्याउँछन्। यही कारणले गर्दा विदेशबाट कल आउँदा यहाँ रिसिभ गर्ने व्यक्तिको फोनसेटमा लोकल नम्बर देखिएको हो। विदेशबाट आएको कलमा नेपाली नम्बर देखिँदा धेरै नेपाली उपभोक्ताहरु झुक्किन्छन्।
नेपालमा इन्टरनेटबाट विदेश कल गर्न खुल्ला भए पनि विदेशबाट इन्टरनेट हुँदै यहाँ टेलिफोन कल ल्याउन पाइँदैन। भीओआइपी मार्फत टेलिफोनको आगमन कल भिœयाउन पनि चारवटा कम्पनी बाहेकले अनुमति पाएका छैनन्।
विदेशबाट आएको कल चार कम्पनीको नेटवर्कबाट आउँदा कल उत्पत्ति गर्ने विदेशको कम्पनीले नेपाली कम्पनीहरुलाई सम्झौता अनुसार तोकिएको रकम सेयरिङ वापत दिन्छन्। सेयरिङ वापत प्राप्त हुने यो रकम टेलिफोन कम्पनीहरुको ठूलो आम्दानीको स्रोत हो। यही रकम पाउनको निम्ति व्यक्ति तथा समूह मिलेर अवैध रुपमा भीओआइपी सञ्चालन हुने गरेको छ। यस्ता व्यक्ति वा समूहले नेपाल टेलिकम, स्पाइस नेपाल र युटिएलको फोन प्रयोग गरेर कल वाइपास गर्छन।
अवैध भीओआइपी चलाएका कम्पनीबाट कल भित्रिँदा लाइसेन्स लिएर कारोवार गरिरहेका कम्पनीहरुको आम्दानीमा मात्र नभै सरकारी राजश्व पनि २३ प्रतिशत गुमेको छ। टेलिफोन सेवाबाट सरकारले १३ प्रतिशत भ्याट र १० प्रतिशत दूरसञ्चार सेवा शुल्क पाउँछ।
अवैध भीओआइपी चलाउनेले यस्तो कुनै पनि राजस्व तिर्दैनन्। यस्ता कम्पनीले यहाँ सम्बन्धित व्यक्तिको टेलिफोनमा कल पठाउँदा स्थानीय कल बराबरको शुल्कमात्र तिर्छन्। बरु, विदेशबाट टेलिफोन नेपाल पठाउने कम्पनीले यी कम्पनीलाई प्रतिमिनेटको ८ देखि १० सेन्टसम्म दिन्छन्। प्रतिमिनेट ८ देखि १० सेन्टको लागि यहाँ स्वदेशीदेखि लिएर विदेशी व्यक्ति समेतको संलग्नतामा कल बाइपास हुने गरेको छ।
'जसको टेलिफोन प्रयोग गरेर भीओआइपी चलाइएको भए पनि वैध रुपमा चलेकाहरुको आम्दानीमा असर गरेकोले ब्लक गर्न सुरु गरिएको हो,' टेलिकमका ती अधिकारीले भने। स्थानीय टेलिफोन कलबाट आउने आम्दानीको लोभमा भीओआइपीमा प्रयोग भएका टेलिफोन लाइन नकाट्ने हो भने अन्तर्राष्ट्रिय कलबाट आउने आम्दानी शून्यमा झर्नसक्ने सम्भावना भएपछि टेलिफोन ब्लक गर्न थालिएको हो।
'यो काममा अहिले प्रहरीले पनि सहयोग गरिरहेका छन्, यसले गर्दा प्रभावकारी भएको छ,' एनसेलकी कोइरालाले भनिन्।
प्रकाशित: १४ भाद्र २०६७ २२:१८ सोमबार





