९ चैत्र २०८२ सोमबार
image/svg+xml
कला/साहित्य

बाँकेमा ‘शान्तिको खोज’ लाेकार्पण

‘हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान’ कोहलपुर, बाँकेले कवि रवि गिरीको कवितासङ्ग्रह ‘शान्तिको खोज’ लाेकार्पण गरेको छ। पुस्तक हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानले प्रकाशनमा ल्याएको हो।

कार्यक्रमका प्रमुख अतिथि युवराज नयाँघरे, पूर्णिमाका अध्यक्ष डा. पुष्कर रिजाल, प्राज्ञद्वय महानन्द ढकाल र शशिराम कार्कीले ‘शान्तिको खोज’ काे लाेकार्पण गरेका हुन्।

प्रमुख अतिथि नयाँघरेले कोहलपुरमा साहित्य उर्वर रहेको र नयाँ स्रष्टा बाहिर ल्याउन पूर्णिमा साहित्य प्रतिष्ठानकाे भूमिका उल्लेख्य रहेकाे बताए।

कार्यक्रममा साहित्यकार सागर गैरेले लाेकार्पित कवितासंग्रह र कविको परिचय प्रस्तुत गरेका थिए।

स्रष्टा संवादमा युवराज नयाँघरेका साहित्यिक अनुभव र लेखनशैलीबारे सुनियो। नयाँघरेले लुम्बिनी र कर्णाली क्षेत्र भाषा, साहित्य र लोकसंस्कृतिको भण्डार रहे पनि त्यसमा थुप्रै काम गर्न बाँकी रहेको बताए। आफूले धेरै देश घुमे पनि नेपाली संस्कृति र गौरवपूर्ण इतिहास कतै नभेटेको बताए। उनले निबन्ध र नियात्रा कोरा विवरण नभई अनुभूतिको सरस अभिव्यक्ति भएकाले निबन्धमा ससाना अनुभव समेटिन सक्दा उत्कृष्ट बन्ने धारणा राखेका थिए।

नयाँघरेले निबन्धमै २०६५ को मदन पुरस्कार जितेको प्रसंग उल्लेख गर्दै डा. पुष्कर रिजालले उनका निबन्ध मौलिक, प्रयोगशील भैकन पनि सरल, सरस र विशिष्ट भएको बताए। भाषिक कौशल र नेपाली जातीयताको सम्मोहक सौन्दर्य पाइने नयाँघरेका निबन्ध जीवन जगतका ताजा अनुभवमा आधारित हुन्छन्।

उपाध्यक्ष डा. खोपीराम वलीकाे स्वागत मन्तव्य र सचिव केशव निमेषकाे सञ्चालनमा भएकाे कार्यक्रममा साहित्यकार खगेन्द्र गिरि कोपिला, जितबहादुर शाह, विष्णु पादुका, सुमित्रा न्यौपाने, निरन्जना चन्द निरू, भरत रानाभाट, सनत सापकोटा, प्रितमसिंह राजभण्डारी, बद्री ढकाल लगायतकाे उपस्थिति रहेकाे थियाे।

प्रकाशित: ३ पुस २०८२ १०:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App