प्राधिकरण स्रोतका अनुसार www.nepalicalls.com, www.rynga.com, www.smartvoip.com, www.jumblo.com र ७४.१३३.१२५.११४ डोमेन भएका साइट छन्।
'यी साइटबाट अवैध रुपमा टेलिफोन चलाइएको पाइएकोले बन्द गर्न निर्देशन दिइएको हो,' प्राधिकरण अनुमति शाखाका प्रमुख दिपेश आचार्यले भने। यी साइटहरुमा गएपछि त्यसबाट बढीमा प्रति मिनेट एक रुपैयाँ तिरेर संसारभरि जहाँसुकै पनि फोन गर्न सकिन्थ्यो।
अपराधिक घटनामा पनि यस्तो साइट हुँदै गएका कलहरु प्रयोग भएको देखिएपछि प्राधिकरणले रोक लगाउने निर्णय गरेको हो। यस्ता साइटहरुले गर्दा कानुनी प्रकृया पुरा गरेर टेलिफोन चलाउने कम्पनीलाई नोक्सानी पुगेको, सरकारी राजश्व गुमेको छ। दूरसञ्चार सेवा प्रयोग गर्दा १३ प्रतिशत भ्याट र १० प्रतिशत दूरसञ्चार सेवा शुल्क तिर्नुपर्छ।
'प्राधिकरणको निर्देशन अनुसार हामीले सोमबारबाट ती सबै साइटहरु बन्द गरिसक्यौं,' इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान) का अध्यक्ष विनय बोहोराले भने। अधिकांश साइबर क्याफेहरुले यिनै साइटमा गएर सस्तोमा विदेश कल गराउँदै आएका थिए।
यी साइटहरु मार्फत घरबाट पनि विदेश फोन गर्न सकिने गरि साइबर क्याफेले ग्राहकलाई व्यबस्था गरेका थिए। 'ग्राहकको हिसाबले सस्तो भएपनि सुरक्षा, राजश्वको हिसाबले यो अवैध हो, त्यसैले बन्द गर्ने निर्णय गरेका हौं,' आचार्यले भने। साइबर क्याफेले यी साइटहरु मार्फत विदेशबाट पिन नम्बर लिने र यस्ता पिन नम्बर यहाँ बेचेर ठूलो रकम अपचलन समेत गरिरहेको भनाई प्राधिकरणको छ।
इन्टरनेट मार्फत फोन गराउन दूरसञ्चार प्राधिकरणबाट स्विकृती लिनुपर्छ। यस्तो फोन चलाउन अहिले १९ वटा कम्पनीले मात्र अनुमति लिएका छन्। इन्टरनेटबाट विदेशमा कल गर्नको लागि यहाँका कम्पनीले विदेशको संस्थासँग सम्झौता गरेको हुनुपर्छ। प्रतिवन्ध लगाइएका यी साइटहरुले नेपालमा एक पैसा पनि नतिरी क्रेडिट कार्डमार्फत पैसा लिएर बिदेशमा कल गर्ने व्यबस्था गरेका थिए।
प्राधिकरणले यी साइटहरु तत्काल बन्द गर्न नेपाल टेलिकम, स्पाइस नेपाल, युटिएल र एसटिएम टेलिकमलाई पनि निर्देशन दिएको छ। टेलिफोन कम्पनीहरुसँग पनि इन्टरनेटका ग्राहकहरु धेरै भएकोले ती कम्पनीलाई पाँचवटा साइट बन्द गर्न निर्देशन दिइएको हो।
'अवैध रुपमा विदेश कल गर्न सकिने यस्ता साइटहरु पाँचवटा मात्र होइन धेरै छन्,' सूचना प्रविधिसँग संवन्धित एक विज्ञले भने। प्राधिकरणले गैर कानुनी रुपमा सञ्चालन भएका साइटहरुको विषयमा गुनासो आएमा अनुसन्धानपछि वन्द गर्ने जनाएको छ।
प्रकाशित: ७ भाद्र २०६७ २३:२० सोमबार





