१८ चैत्र २०८१ सोमबार
image/svg+xml २२:४८ अपराह्न
प्रविधि

युवाहरूमा लोकप्रिय बन्दै ‘आइटी कोर्ष’

सूचना प्रविधिको क्षेत्र र त्यसका अवसरहरूलाई फराकिलो बनाउँदै त्यसैबाट बलियो आर्थिक उर्पाजन गर्ने उद्देश्यले ताप्लेजुङको फुङलिङमा करिब ८५ प्रतिशत अनुदानमा ‘आइटी कोर्ष’आम्दानीको बलियो स्रोत बन्न थालेको छ । सन् २०२२ बाट सुरु भएको उक्त कोर्षबाट २०२५ को चालु महिना (फेब्रुअरी) सम्ममा आइटी एकेडेमीबाट झण्डै १ सय ५० जना दीक्षित भएका छन् । 

फुङलिङ अम्बिटारस्थित भानुजन मावि परिसरसमा स्थापित आइटी एकेडेमीमा यो वर्षबाट वेबसाइट बनाउने कोर्ष समेत सुरु भएको छ । यो कोर्ष ‘पाइलट प्रोजेक्ट’को रुपमा रहेको र यसलाई थप परिस्कृत र व्यवस्थित गरी नयाँ रूपबाट प्रयोगमा ल्याउने उद्देश्य राखिएको हेडअफ आइटी एकेडेमी वसन्त पालुङ्वाले जानकारी दिए । उनका अनुसार पाइलट प्रोजेक्टको रुपमा रहेको वेबसाइट बनाउने तालिमका २० जना सहभागी छन् । सूचना प्रविधि क्षेत्रमार्फत नेपालमै बसेर अन्तर्राष्ट्रिय क्षेत्र सम्मका काम गर्न सक्ने गरी ‘स्वतन्त्र रुपमा’ रोजगारी पाउन सक्ने अभियानको रुपमा आइटी एकेडेमी सुरु भएको हो ।

हेडअफ आइटी एकेडेमी पालुङ्वाका अनुसार आइटी एकेडेमीमा मुख्यतःग्राफिक डिजाईनिङ र डिजिटल मार्केटिङका कोर्षहरु नियमित भइरहेका छन् । यो साता मात्र ४२ जना मुख्यतःग्राफिक डिजाईनिङ र डिजिटल मार्केटिङ कोर्षबाट दीक्षित भएका छन् । ‘पाइलट प्रोजेक्ट’को रुपमा सुरु भएको वेबसाइट डिजाईनिङ तालिमलाई समेत नियमित कोर्षमा समावेश गरेर एकेडेमीले युवाहरूलाई सूचना प्रविधिको क्षेत्रबाट भविष्य स्थापित गर्ने योजना लिएको हेडअफ आइटी एकेडेमी पालुङ्वाले बताए ।

‘पाइलट प्रोजेक्ट’को रुपमा रहेकोले वेबसाइट डिजाईनिङ तालिम निःशुल्क रहेको छ । ह्युमन प्राक्टिस फाउन्डेसन(एचपिएफ)को संयोजन, भानुजन माविको अगुवाइ र डेनमार्कका नागरिक वाल्डेमर स्मिथको योजनामा सुरु भएको आइटी एकेडेमीको अहिले आफ्नै भवन रहेको छ । सन् २०२३ को नोभेम्बरमा भवन निर्माण सम्पन्न भई आफ्नै भवनबाट आइटी कोर्ष सञ्चालन भइरहेको छ । आइटी एकेडेमीको भवन निर्माण अघि भने भानुजन माविको आइटी कक्षबाट सन् २०२२ बाटै आइटी कोर्षहरु सञ्चालनमा थिए । अहिले सम्म १ सय ३२ जना ग्राफिक डिजाइनतर्फ र १८ जना डिजिटल मार्केटिङतर्फ दीक्षित भइसकेको आइटी एकेडेमीले जनाएको छ ।

कोर्षका लागि लाग्ने कुल शुल्कको १५ प्रतिशत मात्र अहिले तालिम लिने व्यक्तिले तिनुपर्छ । त्यो भनेको करिब ६ हजार ५ सय रुपैयाँ हुने पालुङ्वाले बताए । कोर्ष लिएवापतको कुल शुल्क भने झण्डै ४३ हजार ५ सय रुपैयाँ हुने गरेको छ । कोष लिनेले तिर्नुपर्ने कुल शुल्कमध्ये झण्डै ३७ हजार रुपैयाँ हाराहारी रकम भने एचपिएफले तिरिदिदैं आएको छ । लर्नियो आइटी एकेडेमीको प्राविधिक पक्ष हेर्ने निकाय हो । उसका प्रतिनिधिले यहाँ आएर तालिमको मुख्य सहजीकरण गर्ने गरेका छन् । 

दीक्षित विद्यार्थीहरूले कमाए ५१ लाख रुपैयाँ 

आइटी कोर्ष कुनै अन्य सेवामा रहेकाहरूले समेत उपयोग गर्न सक्छन् । आइटीमार्फत आर्थिक आम्दानीका लागि कार्यस्थलमै पुग्नुपर्ने जरुरी छैन । हेडअफ आइटी एकेडेमी पालुङवाका अनुसार यही सञ्चालित आइटी कोर्ष लिएकाहरूले आइटी बजारबाट यो अवधिमा करिब ३७ हजार डलर अर्थात् झण्डै ५१ लख रुपैयाँ बराबर आम्दानी गरिसकेका छन् । बढ्दो आधुनिकतासँगै आइटी कोर्ष लिनेहरूमा आकर्षण पनि बढ्दै गएको र कोर्ष अवधि पछि आर्थिक आम्दानी समेत हुन थालेपछि यसको व्यावसायिकतामा वृद्धि हुँदै गएको तालिममा सहभागी सञ्चारकर्मी दिलकुमार फेम्बु लिम्बू बताउँछन् । आफ्नो क्षमता र कौशलताको उपयोगबाट आम्दानी आर्जन गर्न सकिने भएकोले आइटी क्षेत्र बलियो आकर्षणको केन्द्र बन्ने फेम्बुको बुझाई छ । 

दिगोपनका लागि सहकार्यको योजना

आइटी क्षेत्रतर्फ बलियो व्यवसायिक भविष्य देखा पर्न थालेपछि आइटी एकेडेमीको निरन्तरता र दिगोपनका लागि एकेडेमीले यहाँका स्थानीय तह देखि अन्य सरोकारवाला निकाय समक्ष सहकार्य गर्ने योजना बनाएको छ । त्यसका लागि पालिका स्तरमा समेत आइटी कोर्षका बारेमा अवगत गराउने र यसको निरन्तरताको लागि सहकार्य गर्ने योजना अघि सारिएको पालुङ्वाले बताए । 

पालिकाहरूले हरेक बर्ष आफ्ना पालिका क्षेत्रका युवायुवतीलाई आइटी तालिमका लागि प्रोत्साहित गरी पालिका र एकेडेमीबिच आर्थिक सहकार्य समेत हुने गरी प्रस्ताव अघि सार्ने एकेडेमीको योजना रहेको छ । ९ स्थानीय तह रहेको प्रत्येक पालिकाबाट वार्षिक कम्तीमा ५०–६० जनाको दरले आइटी कोर्ष गर्ने युवायुवती एकेडेमी केन्द्रित गर्ने र त्यसबापत कोर्ष गर्दा लाग्ने व्यक्तिको शुल्क पालिकाले व्यहोरी दिने हो भने एकेडेमीको निरन्तरता र दिगोपनका लागि टेवा पुग्ने देखिन्छ । 

प्रकाशित: ४ फाल्गुन २०८१ ११:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App