नेपाल टेलिकमले कर्णाली प्रदेशको जुम्ला जिल्लाको पातारासी गाउँपालिकामा मोबाइल सेवा विस्तार गरेको जनाएको छ। पातारासी गाउँपालिका–२ मा नयाँ साइट निर्माण गरी सोमबारदेखि २जी र ४जी मोबाइल सेवा सञ्चालनमा ल्याइएको हो।
अत्यन्त दुर्गम स्थानका रूपमा चिनिने पातारासी गाउँपालिकामा नेपाल टेलिकमले मोबाइल सेवा सञ्चालन गरेसँगै, यहाँका गडीगाउँ, तल्फीगाउँ, माताचौरगाउँ, छुमचौरगाउँलगायत स्थानका बासिन्दाहरू पहिलोपटक दूरसञ्चार सेवाबाट लाभान्वित भएका छन्।
नेपाल टेलिकमले दूरदराजका क्षेत्रका ग्राहकहरूको मागलाई ध्यानमा राख्दै भ्वाइस र डेटा सेवाको विस्तार गरेको छ। यससेवा विस्तारले यहाँका स्थानीयवासी, पर्यटक र व्यवसायीलाई आधुनिक दूरसञ्चार सेवाको प्रयोग गरेर लाभ लिन सघाउने विश्वास व्यक्त गरिएको छ।
प्रकाशित: १८ मंसिर २०८१ ०८:२१ मंगलबार