११ चैत्र २०८२ बुधबार
image/svg+xml
खेल

नौ वर्षपछि लिभरपुल छोड्दै मोहम्मद सलाह

लिभरपुलका स्टार फरवार्ड मोहम्मद सलाहले मंगलबार सिजनको अन्त्यमा क्लब छोड्ने औपचारिक घोषणा गरेका छन्। इजिप्टका ३३ वर्षीय यी खेलाडी नौ वर्षपछि एनफिल्डबाट बिदा हुँदै छन्।

क्लबका लागि ४३५ खेल खेल्दै २५५ गोल गरेका सलाहले आफ्नो सम्झौता ९सन् २०२७ सम्म० समाप्त हुनुभन्दा एक वर्ष अगाडि नै टोली छोड्ने सहमति भएको हो। सन् २०१७ मा रोमाबाट आएदेखि उनले दुई प्रिमियर लिग, एक च्याम्पियन्स लिगसहित कुल आठ उपाधि जितेका छन्।

सलाहले इन्स्टाग्राममा भिडियो सन्देश पोस्ट गर्दै भनेका छन्, ‘दुर्भाग्यवश त्यो दिन आइपुगेको छ। यो मेरो बिदाइको पहिलो भाग हो। म सिजनको अन्त्यमा लिभरपुल छोड्दै छु। लिभरपुल केवल फुटबल क्लब मात्र होइन, यो जोस, इतिहास र भावना हो। यो मेरो जीवनको यति गहिरो हिस्सा बन्यो कि मैले कहिल्यै कल्पना गरेको थिइनँ।’

लिभरपुलले सलाहलाई ‘क्लबको इतिहासकै एक महान् खेलाडी’ को रूपमा वर्णन गर्दै उनको समयलाई ‘उल्लेखनीय’ भनेको छ। समर्थकप्रतिको सम्मानका कारण उनले आफ्नो भविष्यबारे चाँडै जानकारी दिन चाहेको क्लबले जनाएको छ।  

फ्री एजेन्टको रूपमा क्लब छोड्ने भएकाले लिभरपुलले कुनै ट्रान्सफर शुल्क पाउने छैन। यसअघि सन् २०२३ मा साउदी अरेबियाको अल-इत्तेहादले ठुलो प्रस्ताव राखेको थियो, जसलाई लिभरपुलले अस्वीकार गर्‍यो।

पछिल्लो समय प्रबन्धक आर्ने स्लटसँगको सार्वजनिक मतभेद र फर्ममा आएको गिरावटका कारण सलाहको विरासतमाथि केही प्रश्न उठेका थिए। अफ्रिका कप अफ नेसन्सबाट फर्किएपछि उनले लय समात्न संघर्ष गरेका छन्। हाल मांसपेशीमा आएको चोटका कारण मैदानबाहिर रहेका सलाहले मे २४ मा ब्रेन्टफोर्डविरुद्ध एनफिल्डमा आफ्नो अन्तिम प्रिमियर लिग खेल खेल्ने सम्भावना छ। एजेन्सी

प्रकाशित: ११ चैत्र २०८२ १३:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App