२४ पुस २०८२ बिहीबार
image/svg+xml
प्रविधि

'इमेलहरुमा एउटै पासवर्ड असुरक्षित'

काठमाडौं, जेठ २१ (नागरिक) - तपाईको याहु, हटमेल, जिमेल जस्ता निशुल्क इमेल आइडी खोल्नुभएको छ? छ भने सबैमा एउटै पासवर्ड नराख्दा राम्रो।
'एउटै पासवर्ड राख्दा सबै इमेलहरु ह्याकिङ हुने संभावना धेरै हुन्छ,' प्रमाणिकरण नियन्त्रक कार्यालयका प्रमुख राजनराज पन्तले भने। निशुल्क रुपमा उपलव्ध भैरहेका याहु, हटमेल, जिमेल लगायत अधिकांश इमेलहरु आफैंमा असुरक्षित हुन्। थपमा सबैको एउटै पासवर्ड हुँदा ह्याकिङ हुने संभावना धेरै हुन्छ।

विज्ञान तथा प्रविधि मन्त्रालयले विहीबार आयोजना गरेको 'इमेल ह्याकिङ' विषयको छलफल कार्यक्रममा पन्तले इमेल पिच्छे फरक फरक पासवर्ड राखेमा ह्याकिङ हुने संभावना थोरै मात्र हुने बताए। ह्याकिङ भएपछि संबन्धित व्यक्तिले त्यस्ता निशुल्क इमेलहरु प्रयोग गर्न सक्दैनन्।

'कुनै विशेष अर्थ नलाग्ने, पत्नी छोराछोरीको नामसँग नमिल्ने र शव्दकोषमा अर्थ नभएको पासवर्ड राखेमा इमेल ह्याकिङको संभावना कम हुन्छ,' उनले भने। इमेललाई ह्याकिङ हुनबाट जोगाउन हरेक ३/३ महिनामा पासवर्ड फेर्नुपर्ने सुझाव उनले दिएका छन्।

मनोरञ्जन लिन र अर्कालाई दुःख दिने नियतले नेपालमा पनि इमेल ह्याकिङका घटनाहरु बढिरहेका छन्। इमेल सेवा प्रदायक कम्पनीसँग शुल्क तिरेर लिने इमेल सुरक्षित हुने र ह्याकिङ भएपनि पछि चलाउन सकिन्छ। निशुल्क रुपमा उपलव्ध हुने हटमेल, याहु, जिमेल, र्‍याडिफमेल भने एकपटक ह्याकिङ भएपछि त्यसलाई चलाउन सकिदैन।

इमेल ह्याकिङबाट जोगिन स्पाम मेल, फिसिङ मेलहरु नखोल्न पनि उनले सुझाव दिए। अहिले निशुल्क इमेल ठेगानामा आउनेमध्य ७० देखि ८० प्रतिशत इमेलहरु स्पाममेल हुन्छन्। बिभिन्न व्यक्ति वा कम्पनीले अनावश्यक रुपमा पठाउने इमेललाई स्पाममेलको रुपमा चिनिन्छ।

कतिपयको इमेलमा अपडेट गर्न लागेको भन्दै पासवर्ड मागिन्छ। त्यस्तो अवस्थामा पासवर्ड पठाउँदा गलत व्यक्तिको हातमा पासवर्ड पुगेर ह्याकिङको संभावना हुन्छ।

साइबर क्याफे, सार्वजनिक स्थानका कम्प्युटरमा सकभर आफ्नो इमेल नखोल्न र खोलिहालेमा पुरै डिलिट गरेमा ह्याकिङबाट जोगाउन सकिन्छ।

प्रकाशित: २० जेष्ठ २०६७ १९:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App