७ पुस २०८२ सोमबार
image/svg+xml
प्रविधि

स्मार्टले ७ जिल्लामा मोबाइल चलाउने

रामचन्द्र भट्ट, काठमाडौं, वैशाख ३१ - स्मार्ट टेलिकमले दुई महिनाभित्र मुलुकका सात जिल्लामा मोबाइल टेलिफोन चलाउने भएको छ।
दूरसञ्चार प्राधिकरणले स्मार्टलाई मोबाइल चलाउन स्वीकृति प्रदान गर्दै १० अंकको नम्बर दिएको छ। स्मार्टलाई '९६१' अंक अगाडि हुनेगरि नम्बर दिइएको हो।
'हाम्रो योजना अनुसार काम गर्दा कतै समस्या नआए असाभत्रै मोबाइल टेलिफोन सुरु गछौं,' स्मार्टका प्रमुख कार्यका अधिकृत सुवास बज्राचार्यले भने।

सुरुमा स्मार्टले प्राधिकरणबाट स्विकृती पाएका ७ जिल्लामा मोबाइल सुरु गर्नेछ। प्राधिकरणले काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, दोलखा, रामेछाप र सिन्धुलीमा सेवा संचालन गर्ने अनुमति दिएको छ। 'हामीले यसबाहेक थप ४० जिल्लामा मोबाइल सेवा पुर्‍याउने गरि काम सुरु गरिरहेका छौं,' बज्राचार्यले भने। स्मार्टले तत्काल राजधानीका तीन जिल्लामा मोबाइल चलाउन अनुमति पाएको छैन।

स्मार्ट टेलिकम नेपाली र बिदेशीको संयुक्त लगानीको कम्पनी हो। यसमा ८० प्रतिशत सेयर बिदेशीको छ। लालसाहु डिस्ट्रिब्युटर सिंगापुरको ७० प्रतिशत र जिल्याट स्याटेलाइट नेटवर्क इजरायलको १० प्रतिशत सेयर छ। स्मार्टले नेपालमा मोबाइल टेलिफोन विस्तारका लागि आगामी तीन वर्षभित्र एकअर्ब ५० करोड रुपैयाँ लगानी गर्ने घोषणा गरेको छ।

यो कम्पनीले गत मंसिरदेखि साधारण टेलिफोन सेवा सुरु गरेको छ। मंसिर ११ मा सञ्चार मन्त्री शंकर पोखरेलले यसको सेवा उद्घाटन गरेका थिए। फिक्स तारवाला टेलिफोनका लागि भने प्राधिकरणले स्मार्टलाई अगाडिको नम्बर '९९' दिएको थियो।

स्मार्ट बाहेक अहिलेसम्म सञ्चालनमा रहेका पाँचवटै दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुले मोबाइल चलाउन अनुमति र नम्बर समेत पाइसकेका छन्। स्मार्ट छैठौं मोबाइल कम्पनी भएको छ।

स्मार्टको मोवाइलमा ९६१ नम्बरपछि दुई अंकको एरिया कोड नम्बर र बाँकी पाँच अंकको ग्राहक नम्बर हुनेछ। यसअघि यस्तै प्रविधिमा मोबाइल चलाउन लाइसेन्स पाएको नेपाल स्याटेलाइट टेलिकमलाई प्राधिकरणले '९६३' नम्बर दिएको छ। स्मार्टको मोबाइल नम्बर भने जिल्ला अनुसार फरक फरक हुनेछ। अहिले मोबाइल टेलिफोन चलाइरहेका नेपाल टेलिकम, स्पाइस नेपालको नम्बर एउटा अञ्चलभरिको लागि एकै किसिमको छ।

स्मार्ट टेलिकम र नेपाल स्याटेलाइटलाई मोबाइल टेलिफोनका लागि दिइएको '९६' नम्बर पाँचवर्ष अघि पेजर कम्पनीहरुले प्रयोग गरेका थिए। पेजर कम्पनी बन्द भएपछि खाली रहेको यो नम्बर अहिले 'लिमिटेड मोबिलिटी' सेवा प्रदायकलाई दिइएको हो ।

प्रकाशित: ३० वैशाख २०६७ २३:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App