मोबाइल टेलिफोन चलाइसकेको नेपाल टेलिकम, चलाउने तया गरिरहेका नेपाल स्याटेलाइट टेलिकम र स्मार्ट टेलिकमले एउटै नेटवर्क कोड प्रयोग गरेको तथ्य पत्ता लागेको हो। स्मार्ट टेलिकमलाई नेपाल दूरसञ्चार प्राधिकरणले ‘४२९०३' कोड नम्बर प्रयोग गर्न स्विकृती दिएको थियो। तर, स्मार्टलाई दिएको नम्बर पहिलेदेखिनै नेपाल टेलिकमले सिडिएमए मोबाइल र नेपाल स्याटेलाइटको जिएसएम मोबाइलमा प्रयोग गरिरहेको छ।
आइटियूले दिने पाँच अंकको मोबाइल नेटवर्क कोड नम्बरमा अगाडिको तीन अंक देश अनुसार अलग अलग हुन्छ। पछाडिको दुई अंक भने संबन्धित देशको दूरसञ्चार प्राधिकरणले बाँडफाँड गर्ने चलन छ। नेपाल टेलिकमका मोबाइल ग्राहकले आफ्नो सेटमा समय समयमा देख्ने ४२९०१ नम्बर आइटियूले उपलव्ध गराएको नेटवर्क कोड हो। यो नम्बर अरु कम्पनीसँग जुध्यो भने मोबाइलले काम नगर्ने, कुराकानी नसुनिने समस्या हुन्छ।
नेटवर्क कोड नम्बरलाई उपकरण निर्माताले सेभ गरेर उसको सिस्टममा राख्छ। स्मार्ट टेलिकमलाई दिइएको कोड नम्बर टेलिकम र नेपाल स्याटेलाइटले प्रयोग गरेको पत्ता लागेपछि स्मर्टलाई अर्कै नम्बर दिइएको छ।
हरेक देशका मोबाइल कम्पनी पिच्छे फरक फरक नेटवर्क कोड नम्बर हुन्छ। आइटियूले निर्धारण गरेको नम्बरमध्यबाट संबन्धित देशको दूरसञ्चार प्राधिकरणले मोबाइल नेटवर्क कोड वितरण वितरण गर्छ। एउटै नेटवर्क कोड नम्बर प्रयोग गर्दा प्राविधिक रुपमा मोबाइल फोनबाट कुराकानी गर्दा एक आपसमा जुधेर कुराकानी गर्न सकिदैन।
‘हामीले ४२९०३ नम्बर स्मार्ट टेलिकमलाई दिने निर्णय पहिला गरेका थियौं,' प्राधिकरणका निर्देशक आनन्दराज खनालले भने। तर, यो नम्बर पहिलेनै नेपाल टेलिकम र नेपाल स्याटेलाइटले प्रयोग गरेको पत्ता लागेपछि स्मार्टलाई ४२९०४ नम्बर दिइएको छ।
मोबाइलको नेटवर्क नम्बर ४२९०३ लाई अहिले नेपाल टेलिकमले सिडिएमए र स्याटेलाइट टेलिकमले जिएसएममा प्रयोग गरिरहेको छ। ‘एउटै नेटवर्क नम्बर दुईवटा कम्पनीले चलाउँदा ठूलो समस्या आउन सक्छ, तर अलग अलग प्रविधि भएकोले त्यस्तो समस्या यहाँ नआउन सक्छ,' नेपाल स्याटेलाइटका प्रमुख कार्यका अधिकृत मणि चौलागाईले भने।
स्विकृती नलिइ नेटवर्क कोड नम्बर प्रयोग भएको तथ्य फेला परेपछि मोबाइल टेलिफोन सेवा प्रदायक कम्पनीले प्रयोग गरेको कोड नम्बरको विषयमा प्राधिकरणले विवरण मागेको छ। ‘नेटवर्क कोड नम्बर एउटै पर्दा मोबाइलमा समस्या आउने भएकोले यसलाई व्यवस्थित गर्नुपर्ने अवस्था आएको छ,' खनालले भने।
स्मार्ट टेलिकमका प्रमुख कार्यका अधिकृत सुवास बज्राचार्यले एउटै नेटवर्क नम्बरले सेवा विस्तारमा समस्या आएपनि फरक नम्बर पाएकोले समस्या समाधान भैसकेको वताए। ‘हामीले अर्को नम्बर पाइसक्यौं,' उनले नागरिकसँग भने।
प्रकाशित: २० चैत्र २०६६ ००:०० शुक्रबार





