तत्काल सरकार छाड्ने कि नछाड्ने भन्ने विषयमा नवगठित पार्टी समाजवादी पार्टीमा तीव्र विवाद उत्पन्न भएको छ। पार्टी स्रोतका अनुसार पार्टीभित्र तत्काल सरकार छाड्ने/नछाड्ने भन्नेमा आधाआधा मत छ। नयाँ शक्तिबाट आएका अधिकांश नेताहरू तत्काल सरकार छाड्नुपर्ने पक्षमा छन् भने तत्कालीन संघीय फोरमका केही पदाधिकारी त्यसको विपक्षमा छन्। पार्टी अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवको भित्री चाहना तत्काल सरकार छाड्ने पक्षमा नरहेको पार्टीका एक पदाधिकारी बताउँछन्। उनी भन्छन्, ‘बाहिर जस्तो भाषण गरे पनि अध्यक्ष(यादव)को भित्री चाहना तत्काल सरकार छाड्नुपर्ने पक्षमा भएको देखिन्न। उहाँको चाहना त्यस्तो भएको भए अहिले पार्टीले सरकार छाडिसक्थ्यो।’