काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले वार्ता र सम्वादमा आउन नेत्रविक्रम चन्द (विप्लव) समूह र नेकपा नेतृत्वको कम्युनिस्ट सरकारलाई आग्रह गरेको छ।
आइतबार राजधानीमा भएको बम आतंकपछि प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गरेर हिंसाको राजनीति परित्याग गर्न र सम्वादबाट समाधान खोज्न दुबै पक्षलाई अपिल गरेका छन्। ‘नेपाली कांग्रेस हिंसाको राजनीति परित्याग गर्न विद्रोही नेकपालाई र निषेधको राजनीति परित्याग गरी समाधान खोज्न सत्तारुढ नेकपा र सरकारलाई सार्वजनिक अपिल गर्दछ’, विज्ञप्तिमा भनिएको छ।
कांग्रेसले लामो हिंसाबाट जर्जर भएर बल्ल शान्तिको सास फेरिरहेको नेपालमा पछिल्ला घटनाक्रमहरुबाट अन्तत कसैको विजय नहुने विषयप्रति गम्भीर बन्न राज्य र विद्रोही पक्ष दुवैलाई सचेतसमेत गराएको छ।
यस्तै, कांग्रेसले काठमाडौंका विभिन्न स्थानमा भएको बम विस्फोट र त्यहाँबाट भएको मानव जीवनको क्षतिप्रति दुःख व्यक्त गरेको छ। नेपाली जनताको लामो संघर्षबाट प्राप्त आजका उपलब्धिको रक्षा र विकासमा सबै थरी शक्ति ऐक्यबद्ध ढङ्गले अघि बढ्नुपर्ने बेला यस्ता घटनाले आम जनतालाई त्रसित बनाएको विज्ञप्तिमा उल्लेख छ।
‘बम विस्फोटमा परेर जीवन गुमाउनेहरु विद्रोही पक्षका हुन् या विपक्षका तर अमूल्य जीवन गुमेको छ र शान्ति स्थापनापछिको नेपाली समाजलाई हार्दिक ढङ्गले अघि लिएर जाने आम नेपालीको चाहनालाई मर्माहत बनाएको छ’, विज्ञप्तिमा भनिएको छ।
कांग्रेसले घटनामा जीवन गुमाएका सबैको आत्माको चिरशान्ति कामना गर्दै सबै घाइतेहरुको सम्पूर्ण उपचार गर्न सरकारसमक्ष आग्रह गरेको छ।
प्रकाशित: १२ जेष्ठ २०७६ १६:३६ आइतबार