‘अन्धकार सुरुङको पल्लो छेउमा उज्यालो’ भन्ने उक्ति सुन्न थालेको धेरै भयो। जहिले पनि यसको एउटै अर्थ लाग्यो– जतिसुकै लामो र अँध्यारो भए पनि सुरुङबाट निस्कन सम्भव हुन्छ तर त्यो आशा साँच्चै नै त्यतिबेला मात्र जाग्रत हुन्छ, जब सानो विन्दुका रूपमा पल्लो छेउमा उज्यालो देखिन्छ। तर सुरुङ बाङ्गोटिङ्गो रहेछ भने त नजिकै पुगिसक्दा पनि त्यो उज्यालोको थोप्लो नदेखिन पनि सक्ला। के हामी हिंँडिरहेको अँध्यारो सुरुङ पनि बाङ्गोटिङ्गो भएकै कारणमात्र हो त उज्यालो देख्न नसकेको? निकासचाहिँ अब नजिकै छ त? यसो भए त गज्जब हुनेथियो। कि यो अँध्यारो सुरुङ अति लामो भएर हो जति हिँडे पनि त्यो उज्यालोले दर्शन नदिएको? अझ डरलाग्दो चिन्ता त के भने कहीँ निकासै नभएको अँधेरो सुरुङभित्र त हिँड्दै छैनौँ हामी?