आहा! रारा पोखरा गोल्डकप माघ अन्तिम साताबाट हुने भएको छ। आहा! रारा पोखरा गोल्डकपको २५ औं संस्करण आगामी माघ २७ गतेदेखि फागुन ९ गतेसम्म आयोजना हुने आयोजक सहारा क्लव पोखराले सोमबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो। प्रतियोगिता आयोजना गर्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले सो मिति उपलब्ध गराएको पत्रकार सम्मेलनमा आयोजक सहारा क्लब पोखराका अध्यक्ष केशबबहादुर थापाले जानकारी दिए।
२५ औं संस्करणलाई रजत वर्षको रूपमा मनाउने र यसलाई विशेष प्रतियोगिता बनाउने आयोजक सहारा क्लबको योजना छ।
प्रतियोगितामा यस वर्ष पनि १२ टिमले सहभागिता जनाउने भएका छन्। जसमा तीन विदेशी क्लब, ए डिभिजन क्लबहरू र आयोजक सहारा क्लब सहभागी हुने अध्यक्ष थापाले बताए। आयोजक सहाराले पोखरासँग भगिनी सम्बन्ध बनाएका सहरबाट टिम ल्याउने जनाएको छ। जसका लागि पोखरा महानगरपालिकासँग सहकार्य गर्ने थापाले उल्लेख गरे।
पोखरासँग चीनको कुन्मिङ, ग्वाञ्झाओ, छुसाओ, युविन, नानिङ, हाईकाओ, जापानको कोमागाने र होकुतो, टर्किको आडालर, दक्षिण कोरियाको ग्यानबुकगुसँग भगिनी सम्बन्ध विस्तार गरेको छ। तिनै भगिनी सम्बन्ध गाँसिएका सहरहरूबाट टिम ल्याउन प्रयास गरिने उनको भनाइ छ।
अध्यक्ष थापाले प्रतियोगितोका ख्यातीलाई मध्यनजर गर्दै गुणस्तरीय फुटबल खेलाउने प्रयास निरन्तर गरिराखेको बताए। उनले २५ औं संस्करण विशेष हुने भन्दै यसका लागि उत्कृष्ट टिम, व्यवस्थापन र दर्शक सहभागिता बढाउन निरन्तर लाग्ने प्रतिबद्धता जनाए।
प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिले नै निरन्तरता दिने जनाइएको छ। हिमश्री फुड्सले १० वर्षका लागि पहिले नै सम्झौता गरिसकेको छ।
यसैबीच, क्लबले नेपालीको महान चाँड बडादशैं, तिहार, नेपाल सम्वत तथा छठ पर्वको अवसरमा हालै आयोजना गरेको च्यारिटी डिनरबाट १७ लाख ४१ ह्जार रुपैयाँ बचत गरेको जनाएको छ। क्लबद्वारा सञ्चालित सूर्यबहादुर केसी स्मृति सहारा एकेडेमीको सहयोगार्थ गत कात्तिक १४ गते आयोजित च्यारिटी डिनरमा कूल २४ लाख १९ हजार १ सय ७७ रुपैयाँ आम्दानी भएकोमा ६ लाख ७७ हजार ५ सय ५१ रुपैयाँ खर्च भई सो रकम बचत भएको अध्यक्ष थापाले जानकारी दिए। क्लबका अनुसार च्यारिटी डिनरमा टिकटबाट १० लाख ८७ हजार ५ सय रुपैयाँ संकलन भएको थियो भने १० लाख ८९ हजार ६ सय ७७ रुपैयाँ सहयोग प्राप्त भएको थियो।
सो डिनरमा घोषित रकममध्ये २ लाख ४२ हजार उठ्न बाँकी रहेको क्लबका बरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङले जानकारी दिए।
यसअघिका वर्षहरूमा देउसी भैलो खेल्दै आएको सहाराले यस वर्ष देउसी भैलोको सट्टा च्यारिटी डिनर गरेको थियो।
प्रकाशित: ८ मंसिर २०८२ १३:४७ सोमबार





