कार्ल मार्क्सले कहीँ भनेका रहेछन्, हुन सक्छ लेखेकै छन्– ‘आज अघि बुद्धिजीवीले शीर्षासन गरेर दुनियालाई हेरेका थिए, मैले खुट्टामा उभिएर दुनिया हेरेको छु।’ तर, आजको समाजलाई हेर्दा यस्तो लाग्छ– मार्क्सले केवल अघिल्लो समयलाई मात्र हेरेर यो वाक्य भनेका थिएनन्, सम्भवतः यो समाजको भविष्यलाई समेत इङ्गित गरेर उनले भनेका रहेछन् कि! प्रस्ट देखिन्छ, मार्क्सलाई स्विकार्ने आजका मान्छेहरूले केवल उनको नामलाई मात्रै स्विकारेका छन्, उनका धारणालाई चाहिँ नकारेका छन्। वास्तवमा, माक्र्सवाद परिवर्तित भएर ‘मास्कवाद’मा परिणत भएको छ।
केवल माक्र्सको कुरा छाडौँ, मूलतः हाम्रा देशका तथाकथित बुद्धिजीवीहरूले मास्क–मुकुन्डो आफ्नो अनुहारमा टाँसेका छन् र प्रायशः शीर्षासन गरेर हेर्ने मात्रै होइन, उल्टो बाटो हिँडिरहेका देखिन्छन्। यी बुद्धिजीवीहरू बेमौसमका बाजा बजाइरहेका भेटिन्छन्, बेमौसमका राग अलापिरहेका देखिन्छन्। अनेक रूपमा खेल रचेर–खेलेर रमाइहेछन्:
–अभियन्ताका नाममा,
–मानव अधिकारवादीका नाममा,
–समाजसेवीका नाममा,
–वर्गको, धर्मको नाममा।
खास गरेर राजनीतिका नाममा कुनीति गर्नमा यिनीहरू प्रवीण देखिएका छन्। किर्ते काम गर्न सिद्धहस्त छन्। नक्कली मुजुरजस्ता, आफू काग भएर मुजुरका प्वाँखहरू शरीरभरि टाँसेका छन्। तर, त्यही नक्कली भएर बाँच्नुमै आफ्नो जीवन सार्थक भएका मानेका छन् यिनीहरूले।
प्रत्येक पाइलामा हिलो छ्याप्दै हिँड्नु यिनको मूल विशेषता बनेको छ। आफूभन्दा अघिकालाई होस् या पछिकालाई, हिलो छ्याप्दै हिँड्दा बडो सन्तुष्टि मिल्छ तिनलाई। यहाँनिर गजबको कुरा के छ भने हिँड्दाखेरि, केवल हिलो छ्याप्दै मात्रै हिँडिरहेका हुँदैनन्।
– हेर्दा, ईष्र्याको हेराइ हेरिरहेका हुन्छन्
– बोल्दा, धुत्र्याइँका शब्दहरू बोलिरहेका हुन्छन्
– अँगाल्दा, कपटपूर्ण अँगालो हालिरहेका हुन्छन्
– समग्र चरित्र नै पथभ्रष्ट!
जता हेरौँ, यिनै चरित्र व्याप्त छन् समाजमा। जुन दिशा– पूर्व, पश्चिम, उत्तर, दक्षिण, नियाले पनि नकारात्मक परिवेश! लाग्छ, हावा नै विपरीत धारमा बहिरहेछ। खोई, किन यति अराजक बनेर गइरहेछन् मान्छेहरू? यसको निश्चित जवाफ स्वयं तिनै मान्छेलाई नै थाहा छैन कि!
प्रत्येक पाइलामा रङ फेर्ने छेपारे प्रवृत्तिलाई नै आफ्नो जीवनको मूल आधार बनाएका छन् मान्छेले। र, यिनै मान्छेका कारण समाजमा केही पनि सत्य र सही पाइन्न। जो देखिन्छ, त्यसलाई पनि गलत तरिकाले बुझ्ने गरिन्छ।
यो सर्वव्यापी मान्यता हो, समाज भनेको सभ्यताको सूचक हो। यो तथ्यलाई आँखा चिम्लेर नकार्न सकिन्न कि जङ्गली असभ्यतामा रहेको वस्त्रविहीनतालाई क्रमशः मान्छेले नै हो सभ्यताको समाजमा परिवर्तनशील योगदान गरेका छन्। जसमा मान्छेको पुर्खाले जति भूमिका खेलेका छन्, तिनैका सन्ततिले पनि उत्तिकै भूमिका निर्वाह गर्दै आएर आज आधुनिक समाजको निर्माण गरेका हुन्। तर, विडम्बना! त्यही आधुनिक समाजको उच्चतम विकासको नाममा जो अत्याधुनिक समाज निर्माण गरिँदै छ, त्यो मानव समाजका लागि अत्यन्त लज्जास्पद उपलब्धि बन्न पुगेको छ। एक हिसाबले भन्ने हो भने खेदजन्य छ। मूलतः स्पष्ट देखिन्छ–
– भेषभूषा उही जङ्गली सभ्यतातर्फ उन्मुख,
– मौलिक परम्परा–संस्कृतिमा विखण्डन,
– भाषामा पहिचानको पलायन,
– राजनीतिक दलगत स्वार्थ।
खासमा, समूहमा रहन रुचाउँदैनन् आजका मान्छे। हाम्रो भन्ने शब्दलाई पूर्णतः तिलाञ्जली दिएर व्यक्तिमा सीमित भएका छन् उनीहरू। बरु बजारमा किनेर चुस्ने आइसक्रिम महत्त्वको छ मान्छेलाई, आफ्नो भूमिमा सगर्व उभिएको संसारकै सर्वोच्च शिखर सगरमाथालाई बिर्सिदिएका छन्। मेरो घर, मेरो परिवार, मेरो जग्गा, मेरो जमिन, मेरो सम्पत्ति, मेरो हाँसो, मेरो मुस्कान, मेरो सुख। बस्! अर्को शब्दमा भन्ने हो भने एकदमै मतलबी–स्वार्थी! आफू र आफ्नाबाहेक अरू केही देख्दैनन् तिनले। मानौं आजको मान्छे धृतराष्ट्रको प्रतिमूर्ति हो, गलत–झुट केही कुनैको पर्वाह छैन, थाहा छ त उसलाई– त्यही दुर्योधन, जसको अनैतिकतालाई पनि चुपचाप स्विकारेर ऊ समाजलाई नैतिकताको पाठ सिकाउँछ।
कहीं एक कविले सानो कवितामार्फत यो समाजको ऐना छर्लङ्ङ देखाएका छन्–
‘यो त सहर हो
वल्लो घरमा कात्रो किन्छन्
पल्लो घरमा मासु...।’
साँच्चै नै आज सामाजिक व्यवस्था अस्तव्यस्त छ। कसैले कसैको कुरालाई खाँदैनन्, आफ्नै कुरा माथि छ सबैको। कसैले कसैलाई ‘भात खायौ?’ भनेर सोध्दा त्यसो जवाफमा भात नखाएको अवस्थामा ‘खाएको छैन’ भन्यो भने त्यो सोध्ने मान्छेले भात नखाएको मान्छेलाई ‘ए... घाँस पो खाएछ !’ भनेर सोच्छ। सुल्टो छ र पनि उल्टै केही बुझिन्छ। तर, यो यत्तिकै बुझ्ने गरिएको होइन, यहाँ यस्तै बुझ्ने वातावरण बनाइएको छ।
सम्भवतः यहाँको शिक्षानीतिमै केही कमजोरी छ। गहिरिएर हेर्ने हो भने विद्यार्थीलाई केवल किताबको रटानबाहेक व्यावहारिक शिक्षा सिकाउने गरेको भेटिन्न। यसको मूल कारण खोज्दा स्पष्ट देख्न सकिन्छ– त्यो हो अङ्ग्रेजी शिक्षा। अङ्ग्रेजी नभई संसारमा पाइलै चलाउन सकिन्न भन्ने मानसिकताले गाँजेका मान्छेहरूले सायद जापान, चीनजस्ता मुलुकलाई देखेर पनि नदेखेझैं गरिरहेका छन्। त्यहाँ अङ्ग्रेजीलाई धेरै ठुलो मान्यता नदिईकनै विद्यालयहरू सञ्चालित भइरहेकै छन्।
अझ अगाडि बढेर हेर्ने हो भने पूरै राज्य चलाइरहेकै छन्, अङ्ग्रेजीबिना नै। अनि, हाम्रो समाज भने त्यही अङ्ग्रेजीलाई नै अपरिहार्य मानेर अवलम्बन गरिरहेछ। होला, अङ्ग्रेजीको आवश्यकता होला, त्यसलाई प्राथमिकतामा राख्न सकिएला तर यहाँ त अङ्ग्रेजी सबैभन्दा आवश्यक, सबैभन्दा महत्त्वपूर्ण र अङ्ग्रेजी भाषा बोल्न–लेख्न नसक्ने हो भने पूर्वीय संस्कृति–धर्मको भाषामा भन्नुपर्दा– मृत्युपश्चात् वैतरणी नै पार नहुने हो कि भन्ने मान्यता राखिएको पाइन्छ।
त्यसो त, दोष केवल अङ्ग्रेजीको मात्रै पनि होइन, कमजोरी आफैंभित्र पनि छ। जे जे देख्यो, त्यसैको पछि दौडिनु आजका मान्छेको सबैभन्दा ठुलो कमजोरी हो।
आजका मान्छे भनिएका यी मान्छेहरूमा म छु, तपाईं हुनुहुन्छ, हामी सबै समाहित छौं। माथि सुरुमै उल्लेख गरिएको माक्र्सको भनाइलाई आत्मसात् गर्ने हो भने हामी आजका मान्छेहरू जो बुद्धको शान्तिलाई नकारेर सधैंको जुलुस–नारालाई अङ्गीकार गरिरहेका छौं, यसलाई त्यागेर हामीले मौलिकतामा बाँच्न जान्नुपर्छ। अर्थात्, आफ्नै खुट्टामा उभिन सिक्नुपर्छ र त्यसरी उभिएर हेर्न जानिएको हेराइ नै सार्थक हुन्छ। अन्यथा, जसरी फलामलाई आफ्नो रूप सिध्याउन त्यसकै खिया काफी छ, त्यसरी नै मान्छेलाई आफ्नो परिचय समाप्त गर्न उसको घमण्ड, अहङ्कार, अविवेकीपन पर्याप्त छ।
प्रकाशित: २० मंसिर २०८२ ०७:३६ शनिबार





