२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
खेल

विश्वकप : मेस्सीसँगै गोल्डेन बुटको दौडमा एम्बाप्पे, फ्रान्स सेमिफाइनलमा

फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ। 

शुक्रबार बिहान बोस्टन स्टेडियममा भएको क्वार्टरफाइनल खेलमा फ्रान्सले मोरक्कोलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा आफ्नो स्थान पक्का गरेको हो। फ्रान्सको जितमा केलियन एमबाप्पे र ओस्मान डेम्बेलेले एक-एक गोल गरे। खेलको पहिलो हाफमा फ्रान्सले पेनाल्टीको अवसर पाएको थियो। मोरक्कोका डिफेन्डर नौसैर मजरौईले बक्स भित्र फाउल गरेपछि एमबाप्पेले पेनाल्टी प्रहार गरेका थिए, तर मोरक्कोका गोलकिपर यासिन बाउनौले त्यसलाई विफल पारे।

पहिलो हाफमा गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा एमबाप्पेले उत्कृष्ट प्रदर्शन गरे। ६० औं मिनेटमा उनले ड्रिबल गर्दै आकर्षक गोल गरेर टोलीलाई अग्रता दिलाए। यो जारी प्रतियोगितामा उनको आठौं गोल हो। यस गोलसँगै एमबाप्पेले गोल्डेन बुटको दौडमा लियोनेल मेस्सीसँग प्रतिस्पर्धा बढाएका छन्।

त्यसको छ मिनेटपछि अर्थात् ६६ औं मिनेटमा एमबाप्पेको पासमा ओस्मान डेम्बेलेले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए।

यो जितसँगै फ्रान्स लगातार तेस्रो पटक विश्वकपको सेमिफाइनलमा पुगेको छ। यसअघि सन् २०१८ र २०२२ को विश्वकपमा पनि फ्रान्स अन्तिम चारमा पुगेको थियो। फ्रान्सले अब फाइनल प्रवेशका लागि स्पेन वा बेल्जियमसँग खेल्नेछ। स्पेन र बेल्जियम शनिबार बिहान लस एन्जलसमा १२ः४५ बजेदेखि खेल्दैछन्।

खेलपछि एमबाप्पेको प्रदर्शनको चर्चा छ। विश्वकपको इतिहासमा एमबाप्पेको गोल संख्या २० पुगेको छ। उनी अब फिफा विश्वकपको सर्वकालीन गोलकर्ताको सूचीमा मेस्सीको नजिक पुगेका छन्। मेस्सीले ३१ खेलमा २१ गोल गरेका छन्। एमबाप्पेले यस विश्वकपमा गोल र असिस्ट गरी ११ गोलमा योगदान पुर्‍याएका छन्।

फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्प्सले टोलीको प्रदर्शनलाई लिएर खुसी व्यक्त गरेका छन्। खेलपछि गरिएको विश्लेषणमा विशेषज्ञहरूले ‘फ्रान्सले लगातार तीन पटक सेमिफाइनलमा पुगेर जर्मनी र ब्राजिलको कीर्तिमानसँग बराबरी गरेको छ’ भनेका छन्।

खेल अवधिभर फ्रान्सले बलमा नियन्त्रण राखेको थियो। मोरक्कोले पनि प्रयास गरे तापनि फ्रान्सको डिफेन्सलाई तोड्न सकेन। ७७ औं मिनेटमा एमबाप्पे मैदानबाट बाहिर निक्लदाँ दर्शकले ताली बजाएर उनको प्रशंसा गरेका थिए।

प्रकाशित: २६ असार २०८३ ०५:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App