झन्डै चार दशक पार गरेको नेपाली महिला फुटबलले अहिलेसम्म एउटा पनि अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधि जित्ने सकेको छैन।
सन् १९८६ मा एएफसी वुमन्स च्याम्पियनसिपमा हङकङविरुद्ध खेल्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा पदार्पण गरेको नेपाली महिला टोलीले पटकपटक अवसर पाए पनि सदुपयोग गर्न सकेको छैन। दक्षिण एसियाली फुटबलको प्रतिस्पर्धा साफ होस् या वेस्ट एसियन च्याम्पियनसिपको वाफ।
हरेकपल्ट फाइनलमा पुगेर नेपाली टोली चुकेको छ। विभिन्न प्रतियोगितामा गरेर १३ पल्ट उपाधि भिडन्तमा नेपाली महिला टोली असफल बनेको छ। यसैले पनि नेपाली महिला फुटबलबाट अन्तर्राष्ट्रिय ट्रफी देशमा भित्रन नै पाएको छैन। यसपल्ट फरक प्रतियोगिताबाट देशलाई उपाधि दिलाउने अवसर नेपाली महिला फुटबल खेलाडीले पाएका छन्। त्यो हो, पहिलोपल्ट सुरु भएको साफ क्लब च्याम्पियनसिप।
साफ क्लब च्याम्पियनसिपको उपाधिका लागि शनिबार नेपालको लिग च्याम्पियन एपिएफ र भारतीय च्याम्पियन इस्ट बंगाल प्रतिस्पर्धा गर्दै छन्। पाँच राष्ट्रका क्लबले प्रतिस्पर्धा गरेको च्याम्पियनसिपको लिगमा शीर्ष दुई स्थानभित्र रहँदै यी दुईले फाइनल खेल्न लागेका हुन्।
फाइनल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ पाँच बजे हुँदै छ। नेपाली महिला खेलाडी तुलनात्मक रूपमा बलियो मानिएको इस्ट बंगाललाई हराउने लक्ष्यमा छन्। साथै देशलाई पहिलो अन्तर्राष्ट्रिय ट्रफी दिने चाहना उनीहरूको छ। एपिएफमा अधिकांश राष्ट्रिय टोलीका सदस्य छन्। फाइनलमा हारको पीडा उनीहरूले राम्रोसँग बुझेका पनि छन्। यसपल्ट त्यो पीडा दोहोर्याउन उनीहरू चाहदैनन्।
साफ महिला च्याम्पियनसिप पनि आगामी जुनको पहिलो हप्ता हुने तयारी छ। त्यसअगाडि यो प्रतियोगिता राम्रो तयारी पनि बन्न सक्नेछ। नेपाली महिला टोलीसँग साफमा ६ पल्ट फाइनल खेलेर पनि उपाधि जित्ने असफल भएको खराब इतिहास छ।
साफ क्लब च्याम्पियनसिपकै पहिलो संस्करणमा नेपालकै एपिएफ फाइनलमा पुगेको छ। जहाँ नेपाली खेलाडीलाई उपाधि उचाल्ने अवसर मिलेको छ। यो उपाधिले उनीहरूमा आत्मविश्वास पनि बढाउनेछ। एपिएफका प्रशिक्षक जीवेश पाण्डले पनि लामो समयदेखि देशले नै महिला फुटबलमा च्याम्पियनको ट्रफी जित्न नसकेको र यसपल्ट अवसर रहेको बताएका छन्।
एपिएफकी कप्तान अनिता बस्नेतले पनि महिला फुटबललाई उपाधि दिने आशा व्यक्त गरेकी छन्। यो च्याम्पियनसिप नेपाली महिला खेलाडीका लागि राम्रो अवसर बनेको उनको विश्वास छ।एपिएफ र इस्ट बंगाल दुवै अपराजित हुँदै फाइनल खेल्ने लागेका हुन्।
युगान्डा, घाना र नाइजेरियाका खेलाडीसहित आएको इस्ट बंगालले उत्कृष्ट फुटबल खेलेको छ। एपिएफसँगबाहेक उसले आक्रामक फुटबल खेलेका छन्। प्रतियोगिताभर इस्ट बंगालले १३ गोल गर्दा एपिएफले पाँच गोल मात्र गर्न सकेको छ। इस्ट बंगालकी फाजिला इक्वापुट एक्लैले सात गोल गरेकी छन्। प्रदर्शन र आँकडा हेर्दा इस्ट बंगालको अग्रपंक्ति उत्कृष्ट छ। एपिएफले भने गोल स्कोरिङ संघर्ष गरेको छ।
लिगका दुई खेलमा एपिएफ गोल गर्न असफल रह्यो। यद्यपि, एपिएफका प्रशिक्षक पाण्डेले पछिल्लो दुई दिनमा यो कमजोरीमा काम गरेको बताएका छन्। ‘गोल स्कोरिङमा समस्या देखिएको थियो। पछिल्ला दुई दिन काम गरेका छौं। फाइनलमा सुधार हुने आशा गरेका छौं,’ उनले भने।
दुवैले अहिलेसम्म बलियो रक्षापंक्ति देखाएका छन्। किनकि अहिलेसम्म चार खेलमा दुवै टोलीले एउटा गोल पनि बेहोरेका छैनन् तर पनि प्रदर्शन गर्ने हो भने तुलनात्मक रूपमा एपिएफभन्दा इस्ट बंगाल बलियो देखिन्छ। यद्यपि, लिगको अन्तिम खेलमा दुवै टोलीले गोलरहित बराबरीको नजितामा चित्त बुझाएका थिए।
इस्ट बंगालले एपिएफसँग प्रतिस्पर्धाबाहेक तीन टोलीमाथि गोलवर्षा नै गरेको थियो। तर, एपिएफसँग इस्ट बंगालको आक्रामक अग्रपंक्तिले रक्षापंक्ति पार गर्न सकेन। त्यसैले फाइनल रोमाञ्चक हुने अनुमान गरिएको छ। विपक्षीलाई सजग हुन नदिन इस्ट बंगालले एपिएफसँगमा आफ्नो बलियो पक्ष देखाउन नचाहेको पनि हुन सक्छ तर पनि एपिएफ घरेलु दर्शकमाझ उपाधि जित्ने अठोटमा छ।
एपिएफका प्रशिक्षक पाण्डेले फाइनलका लागि मानसिक र शारीरिक रूपमा तयार रहेको र उत्कृष्ट प्रदर्शन गर्ने बताएका छन्। प्रशिक्षक पाण्डेले इस्ट बंगाल पनि बलियो टोली रहेको उल्लेख गरेका छन्। उनले रक्षापंक्ति र अट्याकिङमा राम्रो गर्ने बताए। विपक्षीको रणनीतिअनुरूप खेल्ने उनको योजना छ।
तर, खेलाडीमा चोट समस्याका कारण एपिएफ केही सजग पनि छ। स्टार खेलाडी सावित्रा भण्डारी, प्रीति राई र सविता रानामगरबिना खेलेको एपिएफको अट्याकिङ कमजोर देखिएको छ। स्टार स्ट्राइकर नहुँदा एपिएफले भुटानको ट्रान्सपोर्ट र इस्ट बंगालविरुद्ध गोल गर्न नै सकेन। एपिएफले पाएका अवसर पनि चुकाएको छ। तर, एपिएफकी कप्तान अनिता बस्नेतले फाइनलका लागि आफ्नो टोली तयार र उत्साहित रहेको बताइन्।
इस्ट बंगालका प्रशिक्षक एन्थोनी सामसनले आफ्नो घरेलु समर्थकमाझ एपिएफले राम्रो खेल्न नसकेको बताएका छन्। यही टोलीले लगातार क्लब र महिला साफ च्याम्पियनसिप खेल्ने भए पनि उनीहरूको प्रदर्शन राम्रो नदेखिएको उनको भनाइ छ।
तर, फाइनलमा राम्रो खेल्ने र आफूहरूले पनि सोहीअनुरूप चुनौती दिनेको उनको विश्वास छ। यहाँ आफूहरू उपाधि जित्न आएको र त्यसैअनुरूप प्रदर्शन पनि गर्ने उनी बताउँछन्। पछिल्लो खेलमा एपिएफले राम्रो डिफेन्स गरेको पनि उल्लेख गरे। इंस्ट बंगालको बलियो पक्ष अग्रपंक्ति हो।
स्ट्राइकर फाजिला सबैभन्दा महत्त्वपूर्ण खेलाडी हुन्। भारतीय लिगमा पनि उनले २४ गोल गरेर आफ्नो आक्रामक शैली प्रमाणित गरेकी थिइन्। उनै फाजिला फाइनलमा एपिएफका लागि चुनौती बन्न सक्नेछिन्।
इस्ट बंगालकी कप्तानसमेत रहेकी फाजिलले फाइनलमा प्रतिस्पर्धात्मक खेल हुने र आफूहरूले पनि राम्रो खेल्ने आशा व्यक्त गरेकी छन्। आफ्नो खेलाडी र टोलीमाथि आफू विश्वस्त रहेको उनी बताउँछिन्। एपिएफले लिगमा दुई जित र बराबरी गरेको थियो। इस्ट बंगालले भने तीन जित र एक मात्र बराबरीको नतिजा सामना गर्यो। अपराजित यात्रा कायम राख्दै एपिएफ देशलाई अन्तर्राष्ट्रिय उपाधि दिलाउने लक्ष्यमा छ।
प्रकाशित: ५ पुस २०८२ ०७:३० शनिबार





