२८ जेष्ठ २०८३ बिहीबार
image/svg+xml
खेल

कसले जित्ला विश्वकप ?

कसले जित्ला विश्वकप ? यो अहिले विश्वभरका फुटबल समर्थकले चासोका साथ आफैलाई सबभन्दा बढि सोध्ने प्रश्न हो । किनकी प्रत्येक चार वर्षमा हुने विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगिता बिहीबार रातीबाट मेक्सिको, क्यानाडा र अमेरिकामा एकसाथ सुरु भएको छ ।

विगतको तुलनामा प्रतियोगिताको आकार डेढ गुणा बढेको छ । ३२ बाट सहभागी टोलीको संख्या ४८ पुग्दा कतिपय प्रतिस्पर्धीको विषयमा धेरै समर्थकलाई जानकारी पनि नहुन सक्छ । फेरि फुटबल त्यस्तो खेल हो, जहाँ जस्तोसुकै साना टिमले पनि ९० मिनेटको प्रतिस्पर्धामा ठूला महारथीलाई मात दिन सक्छन् ।

विश्वकपकै इतिहास राम्ररी नियाल्ने हो भने पनि त्यस्ता नतिजा थुप्रै पाइन्छन् । चार पटकको च्याम्पियन इटाली अन्तर्राष्ट्रिय फुटबलमा नियमित रुपमा उच्च प्रदर्शन गर्नाका बावजुद लगातार तेस्रो पटक विश्वकपका लागि छनोट हुन सकेको छैन् ।

सन् १९९८ को च्याम्पियन फ्रान्सको स्टार खेलाडीले भरिपूर्ण टिमलाई २००२ को उद्घाटन खेलमै अफ्रिकाको सानो टोली सेनेगलले स्तव्ध पारेको पनि धेरैको स्मरणबाट हराइसकेको छैन । चार वर्षअघि कतारमा फ्रान्सलाई सनसनीपूर्ण फाइनलमा टाई ब्रेकरसम्म संघर्ष गरेर अर्जेन्टिनाले हराउँदै उपाधि जित्यो । तर त्यही संस्करणको पहिलो खेलमा लियोनेल मेसीको अर्जेन्टिना साउदी अरबसँग स्तव्ध भएको थियो ।

फुटबल अनुमान गर्न कठिन खेल हो भन्नका लागि यी केही उदाहरणमात्र हुन् । त्यस्ता उदाहरण विश्व फुटबलमा अरु पनि थुप्रै पाइन्छ ।

यसो भनिरहँदा पनि खेलकुदमा इतिहास र तथ्यांकहरुका आधारमा पूर्वानुमानहरु लगाइन्छ । संयोगहरुको लेखाजोखा गरिन्छ । त्यस्तै संयोग केलाएर अनुमान लगाउँदा यसपाली प्रतियोगिता सुरु हुनुभन्दा पहिला नै ३० वटा टिमले उपाधि जित्दैनन भन्न सकिन्छ ।

धेरैको अनुमानमा पाँच पटकको पूर्व विजेता ब्राजिल सम्भावित विजेताको सूचिमा हुन सक्छ । व्यावसायिक फुटबलको राजधानी मानिने इङ्ल्यान्डले जित्ने अनुमानमा पनि धेरै समर्थक ढुक्क होलान । अनि क्रिस्टियानो रोनाल्डोको पोर्चुगलको पक्षमा कसले अनुमान नगर्ला?

तर विश्वकपकै पुरानो इतिहास हेर्ने हो भने एउटा यस्तो संयोग देखिन्छ, जसले ब्राजिल, इङ्ल्यान्ड र पोर्चुगलजस्ता महारथीसँगै ३० टिमले विश्वकप जित्ने सम्भावनालाई सोझै अस्विकार गर्छ ।

तथ्यहरुको त्यो संयोग हो, इतिहासमा अहिलेसम्म भएका विश्वकपका २२ संस्करणमा कहिल्यै पनि विदेशी प्रशिक्षकले उपाधि जित्न सकेका छैनन् । र, यसपाली ब्राजिल, इङ्ल्यान्ड र पोर्चुगलसहित ३० टिम विदेशी प्रशिक्षकको नेतृत्वमा उत्तर अमेरिकाको मैदानमा हुनेछन् ।

इतिहासमा अहिलेसम्म ब्राजिलले सबभन्दा धेरै ५ पटक विश्वकप जितेको छ भने इटाली र जर्मनीको नाममा समान ४ उपाधि छन् । अर्जेन्टिनाले ३ पटक उपाधि जित्दा उरुग्वे र फ्रान्स समान २ पटक च्याम्पियन भएका छन् । यसैगरी इङ्ल्यान्ड र स्पेनले १-१ पटक उपाधि जितेको इतिहास छ ।

विगतका २२ विश्वकपको इतिहासमा एउटा गज्जबको संयोग चाँही प्रत्येक टिमले उपाधि जित्दा आफ्नै देशका प्रशिक्षकको नेतृत्वमा मैदान उत्रिएका थिए । पहिलो विश्वकप जित्दा उरुग्वेले आफ्नै देशका अल्बर्टो सुपिचीको नेतृत्वमा खेलेको थियो भने दोस्रो पटक टोली १९५० मा च्याम्पियन हुँदा पनि उरुग्वेको टोली त्यही देशका हुँवा लोपेज फोन्टाको नेतृत्वमा थियो ।

ब्राजिलले ५ पटक उपाधि जित्दा ५ जना फरक प्रशिक्षक प्रयोग गरेको थियो । ब्राजिललाई १९५८ मा पहिलो उपाधि भिसेन्टे फिओलाले जिताएका थिए भने लगत्तै चार वर्षपछि आइमोरे मोरेइराले उपाधि रक्षा अभियानको सफल नेतृत्व गरे । तेस्रो पटक ब्राजिलले १९७० मा उपाधि जित्दा मारियो जागालो टचलाइनमा थिए । त्यस्तै सन् १९९४ मा चौथो पटक कार्लोस अल्बर्टो परेरा तथा २००२ मा लुइस फिलिप स्कोलारी विश्वकप च्याम्पियन ब्राजिली टिमको प्रशिक्षक थिए ।

जर्मनीका लागि पनि चार फरक जर्मन प्रशिक्षकले विश्वकप जितेका छन् । सन् १९५४ मा पहिलो पटक उपाधि जित्दा टोलीको नेतृत्वमा सेप हेर्बेगर थिए भने १९७४ मा हेल्मुट स्कुन, १९९० मा फ्रान्ज बेकेनबाउर र पछिल्लो पटक २०१४ मा जोचिम लोउले टोलीको बागडोर सम्हालेका थिए ।

इटालीलाई सन् १९३४ र १९३८ मा लगातार दुई पटक भिट्टोरी पोजोले उपाधि जिताए भने १९८२ मा तेस्रो पटक च्याम्पियन हुँदा पनि टोलीसँग आफ्नै देशका प्रशिक्षक इन्जो बियाजोर्टको नेतृत्व थियो । पछिल्लो पटक सन् २००६ मा च्याम्पियन हुँदा चाँही इटालीको टोली मार्सेलो लिप्पीको नेतृत्मा थियो । यसपाली इटालीको टिम नभए पनि तीन प्रशिक्षक चाँही अरु देशको टिम नेतृत्व गरेर विश्वकपमा पुगेका छन् ।

साविक विजेता अर्जेन्टिनालाई चार वर्षअघि कतारमा लियोनेल स्कालोनीले उपाधि जिताएका थिए । टोलीले सन १९७८ मा सिजर लुइस मोनोट्टी तथा १९८६ मा कार्लोस बिलार्डोको नेतृत्वमा उपाधि जितेको थियो । दुवै अर्जेन्टिनी प्रशिक्षक हुन् । अर्जेन्टिना यसपाली पनि चार वर्षअघि झै स्कालोनीकै नेतृत्वमा विश्वकपको मैदानमा प्रस्तुत हुने तयारीमा छ ।

फ्रान्सले १९९८ मा पहिलो पटक एएम ज्याकेट तथा सन् १०१८ मा डिडियर डेशच्याम्पसको नेतृत्वमा उपाधि जितेको थियो । यसपाली पनि फ्रान्सेली टोली डेशच्याम्पसकै नेतृत्वमा अमेरिका पुगेको छ ।

इङ्ल्यान्ड १९६६ मा च्याम्पियन हुँदा इङ्ल्यान्डकै एइफ रामसे तथा स्पेनले २०१० मा बाजी मार्दा स्पेनकै भिसेन्टे डेल बोस्की प्रशिक्षकको जिम्मेवारीमा थिए ।

यति इतिहास केलाएपछि फेरि त्यही प्रश्नमा फर्कौ, यसपाली विश्वकप कसले जित्ला?

योभन्दा पनि यसापली विश्वकप कसले नजित्लान भनेर सुरु गरे झन सजिलो होला । प्रशिक्षकको ऐतिहासिक संयोग मान्ने हो भने ब्राजिल, इङ्ल्यान्ड र पोर्चुगलसँगै विदेशी प्रशिक्षक राखेका कारण विश्वकप जित्न नसक्ने थप टिमको नाम हो । ब्राजिलको टिम यसपाली इटालियन प्रशिक्षक कार्लो एन्सेलोट्टीको नेतृत्वमा मैदान उत्रिँदैछ भने इङ्ल्यान्डको टिमलाई जर्मन प्रशिक्षक थोमस टचेल र पोर्चुगललाई स्पेनिस प्रशिक्षक रोबर्टो मार्टिनेजले मैदान उतार्नेछन् ।

अल्जेरिया, ट्युनिसिया, पानामा, इराक, घाना, दक्षिण अफ्रिका, जोर्डन, कतार, साउदी अरेबिया, उज्वेकिस्तान र कंगो हुन् ।

त्यही अनुसार आइभोरी कोष्ट, मोरक्को, क्यानाडा, अमेरिका, कुराकाओ, हाइटी, कोलम्बिया, इक्वेडर, पाराग्वे, उरुग्वे, न्युजिल्यान्ड, अस्ट्रिया, बेल्जियम, क्रोएसिया, टर्की र स्विडेन कसैले पनि उपाधि जित्ने छैनन् ।

उसोभए अब जित्छ चाँही कसले त?

पक्कै पनि विदेशी प्रशिक्षक राख्ने ३० टिमले नजिते बाँकी रहेका १८ मध्ये कसैले विश्वकप जित्न सक्नेछ । यसपाली आफ्नै देशका प्रशिक्षकसहित प्रतिस्पर्धामा उत्रिने तयारीमा रहेका स्पेन, जर्मनी, अर्जेन्टिना, फ्रान्स, नेदरल्यान्ड्स र स्विट्जरल्यान्ड्स विश्वकपका सम्भावित दाबेदार हुन् ।

यसैगरी दक्षिण कोरिया, जापान, इरान, अस्ट्रेलिया, सेनेगल, केप भेर्डे, इजिप्ट, मेक्सिको, बोस्निया हर्जगोभिना, चेक गणतन्त्र, नर्वे र स्क्टल्यान्ड पनि आफ्नै देशका प्रशिक्षकसाथ विश्वकप खेल्दैछन् ।

आफ्नै देशको टिम नेतृत्व गर्नेहरुमा अर्जेन्टिनाका स्कालोनी, फ्रान्सका डेशच्याम्पस, जर्मनीका जुलियन नागेल्सम्यान, इजिप्टका होसाम हसन, इरानका अमिर घालेनोई, केप भेर्डेका बुबिस्टा, चेक गणतन्त्रका मिरोस्लाभ कौबेक, जापानका हाजिमे मोरियासु, दक्षिण कोरियाका ह्युङ म्युङ बो, नर्वेका स्टाल सोल्बाकेन, मेक्सिकोका हाभियर अग्विरे, सेनेगलका पेपे थियाउ, स्कटल्यान्डका स्टिभ क्लार्क र स्विट्जरल्यान्डका मुरात याकिन हुन् । यसैगरी बोस्नियाको टोली सेर्गी बार्बेजको नेतृत्वमा रहँदा स्पेनलाई लुइस डे ला फोन्टेले नेतृत्व गरिरहेका छन् ।

प्रकाशित: २८ जेष्ठ २०८३ १५:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App