२३ श्रावण २०८३ शनिबार
image/svg+xml
राजनीति

रास्वपामा पदको लडाइँ: उदाउँदै गरेको शक्तिमा किन देखिन थाल्यो गुटको छाया ?

नयाँ राजनीतिक शक्तिका रूपमा तीव्र उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अहिले आफ्नै संगठनभित्रको शक्ति संघर्ष, गुटबन्दी र नेतृत्वको टकरावका कारण चर्चामा आउन थालेको छ ।  

अहिले कोशी प्रदेश सभापतिको निर्वाचनपछि देखिएको विवादले पार्टीभित्रको आन्तरिक लोकतन्त्र र भविष्यको दिशामाथि प्रश्न उठाएको छ ।

कोशी प्रदेश सभापतिमा पराजित भएपछि वर्तमान सभापति गोमा तामाङ (सरिन)ले सामाजिक सञ्जालमार्फत राजनीति छाड्ने घोषणा गरे ।  

उनले लेखेका छन्न्, ‘आजबाट राजनीतिक बिट मारेँ। मतदाता सम्पूर्ण साथीहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु।’

उनको अर्को अभिव्यक्तिले भने पार्टीभित्रको असन्तुष्टिको गहिराइ देखाएको छ । उनले आफूलाई ‘ह्विप’ लगाएर हराइएको आरोप लगाउँदै केही नेताहरूमाथि ‘सेटिङ प्यानल’ र गुटबन्दीको संकेत गरेका छन् । ‘राजनीति गर्नै जानिन, मेरो कमजोरी भयो’ भन्ने उनको भनाइले व्यक्तिगत हारभन्दा बढी संगठनभित्रको शक्ति समीकरणप्रति असन्तुष्टि झल्काएको छ ।

कोशी प्रदेश सभापतिमा चन्द्रबहादुर राई २८० मतसहित विजयी हुँदा तामाङले १४१ मत पाए । चार जनाको उम्मेदवारी परेको निर्वाचनमा देखिएको प्रतिस्पर्धाले रास्वपाभित्र नेतृत्व चयन अब केवल सहमतिको विषय नभई प्रभाव र समूह निर्माणको प्रतिस्पर्धामा परिणत हुँदै गएको संकेत गरेको छ ।

किन हुँदैछ रास्वपामा पदको लडाइँ ?

रास्वपा छोटो समयमै राष्ट्रिय राजनीतिमा प्रभावशाली शक्ति बनेको दल हो । पुराना दलप्रतिको असन्तुष्टि, नयाँ अनुहारको खोजी र वैकल्पिक राजनीतिको नाराले यसले ठूलो जनसमर्थन पायो । तर निर्वाचनको सफलता पछि संगठन विस्तारको चरणमा पुगेपछि पार्टीभित्र पद, पहुँच र प्रभावको प्रतिस्पर्धा स्वाभाविक रूपमा बढ्न थालेको देखिन्छ ।

नयाँ दलहरूमा एउटा चुनौती हुन्छ, निर्वाचन जित्ने ऊर्जा र संगठन चलाउने संरचनाबीच सन्तुलन कायम गर्नु । रास्वपाले पनि अहिले त्यही परीक्षणको सामना गरिरहेको छ । केन्द्रदेखि प्रदेशसम्म नेतृत्व चयन हुँदा को नजिक, को प्रभावशाली र कसको समूह बलियो भन्ने प्रश्नले महत्व पाउन थालेको छ ।

किन लाग्दैछ घात–प्रतिघातको आरोप ?

रास्वपाको प्रारम्भिक राजनीतिक छवि ‘गुटविहीन’ र ‘नयाँ संस्कारको राजनीति’ गर्ने दलका रूपमा बनेको थियो । तर संगठन विस्तारसँगै विभिन्न क्षेत्र, समूह र नेतृत्वबीच प्रतिस्पर्धा बढ्दा पुराना दलमा देखिँदै आएको शक्ति संघर्षको स्वरूप यहाँ पनि देखिन थालेको आलोचना हुन थालेको छ।

गोमा तामाङको आरोप केवल एउटा निर्वाचन हारको प्रतिक्रिया मात्र होइन, पार्टीभित्र निर्णय प्रक्रिया कति पारदर्शी छ भन्ने बहस पनि हो । कुनै उम्मेदवार हार्दा त्यसलाई सामान्य प्रतिस्पर्धाको परिणामका रूपमा स्वीकार गर्ने संस्कार बन्ने हो वा आन्तरिक असन्तुष्टि बढ्दै जाने हो भन्ने विषयले रास्वपाको राजनीतिक संस्कार निर्धारण गर्नेछ ।

दुईतिहाइ नजिकको जनमत पाएको पार्टी किन खुम्चिने जोखिममा ?

रास्वपाले छोटो समयमै ठूलो जनसमर्थन हासिल गरे पनि जनमतलाई दीर्घकालीन राजनीतिक शक्तिमा रूपान्तरण गर्न संगठन बलियो हुनुपर्छ । केवल लोकप्रियता, सामाजिक सञ्जालको प्रभाव र नेतृत्वको आकर्षणले मात्र पार्टी टिक्दैन ।

यदि पार्टीभित्र अवसर वितरण, नेतृत्व चयन र असन्तुष्टि व्यवस्थापन कमजोर भयो भने समर्थकमा निराशा आउन सक्छ । नयाँ दलप्रति आशा राखेका मतदाताले पनि पुरानै शैलीको गुटबन्दी देखे भने त्यसको राजनीतिक मूल्य चुकाउनुपर्ने अवस्था आउन सक्छ ।

तर अर्कोतर्फ, आन्तरिक प्रतिस्पर्धा हुनु आफैंमा कमजोरी होइन । लोकतान्त्रिक दलमा प्रतिस्पर्धा र असहमति स्वाभाविक प्रक्रिया हुन् । प्रश्न यति मात्र हो, रास्वपाले यसलाई स्वस्थ लोकतान्त्रिक अभ्यासमा बदल्छ कि व्यक्तिगत शक्ति संघर्षमा ?

कोशी प्रदेशको घटना एउटा प्रदेश अधिवेशनको परिणाम मात्र होइन, रास्वपाको संगठनात्मक यात्राको प्रारम्भिक परीक्षा पनि हो । अब पार्टीले कसरी असन्तुष्ट आवाजलाई समेट्छ, नेतृत्व चयनलाई कति पारदर्शी बनाउँछ र पुराना दलभन्दा फरक राजनीतिक संस्कार स्थापित गर्छ भन्ने जटिल प्रश्नको सामना रास्वपाले गर्नुपर्ने देखिएको छ ।

प्रकाशित: २८ जेष्ठ २०८३ १६:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App