आइसिसी टी-२० विश्वकपअन्तर्गत ‘सुपर एट’ को भिडन्तमा वेस्टइन्डिजले भारतसामु जितका लागि १९६ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।
कोलकातास्थित इडेन गार्डेन्समा टस जितेर भारतका कप्तान सूर्यकुमार यादवले पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङको निम्तो पाएको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १९५ रनको मजबुत योगफल तयार पारेको हो।
वेस्टइन्डिजलाई ठूलो योगफलसम्म पुर्याउन मध्यक्रम र तल्लो क्रमका ब्याटरहरूले उत्कृष्ट प्रदर्शन गरे। वेस्टइन्डिजका लागि रोस्टन चेसले सर्वाधिक ४० रनको योगदान दिए। उनले मात्र २५ बलको सामना गर्दै ५ चौका र १ छक्का प्रहार गरे।
इनिङ्सको अन्त्यतिर जेसन होल्डर र रोभमन पावेलले आक्रामक ब्याटिङ गर्दै भारतीय बलरहरूमाथि दबाब सिर्जना गरेका थिए।
अविजित रहेका होल्डरले २२ बलमा २ चौका र ३ छक्कासहित ३७ रन बनाए भने पावेलले मात्र १९ बलमा ३ चौका र २ छक्काको मद्दतले ३४ रन जोडे। यी दुईबीच पाँचौँ विकेटका लागि उत्कृष्ट अविजित साझेदारी भएको थियो।
त्यसैगरी, कप्तान तथा विकेटकिपर साई होपले ३३ बलमा ३२ रन, सिम्रन हेटमायरले १२ बलमा विष्फोटक २७ रन र सेरफेन रदरफोर्डले १४ रनको योगदान दिए। वेस्टइन्डिजले पहिलो विकेटका लागि ८.५ ओभरमा ६८ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात गरेको थियो।
बलिङतर्फ भारतका लागि तीव्र गतिका बलर जस्प्रित बुमराह सबैभन्दा सफल रहे। उनले आफ्नो ४ ओभरको स्पेलमा ३६ रन खर्चेर २ विकेट लिए।
यस्तै, हार्दिक पाण्ड्या र स्पिनर वरुण चक्रवर्तीले समान १-१ विकेट हात पारे। अर्शदिप सिंह र अक्षर पटेल भने विकेटविहीन रहे।
भारतले केही बेरमा जवाफी ब्याटिङ सुरु गर्दैछ।
प्रकाशित: १७ फाल्गुन २०८२ २१:१३ आइतबार





