१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
निर्वाचन विशेष

बागलुङ–१ मा जनमोर्चालाई विरासत जोगाउन चुनौती

बागलुङ–१ राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीको आधार इलाका हो । विगतमा पटकपटक यहाँबाट निर्वाचन जितेर संसद्मा पुगेका केसी अहिले प्रत्यक्षतर्फ उम्मेदवार छैनन् । राष्ट्रिय राजनीतिमा इमानदार र स्वच्छ छवि बनाएका केसी यहाँबाट उम्मेदवार बन्दा पार्टीका मान्छेबाहेक अन्यको पनि सहानुभूतिक मत पनि पाउँथे । यसपटक भने उनी उम्मेदवार नहुँदा आधार इलाकाको विरासत जोगाउने चुनौती देखिएको छ ।

केसी यस पटक उम्मेदवार नबनेपछि कांग्रेस र एमाले यो क्षेत्रमा आआफ्नो पक्षमा जित निकाल्न सहज हुने अपेक्षामा छन् । जनमोर्चा पनि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सँग तालमेल गरेकाले आधारक्षेत्र जोगिनेमा विश्वस्त छ । २०७९ को निर्वाचनमा यहाँबाट जनमोर्चाका अध्यक्ष केसी विजयी भएका थिए । पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेका केसीले दुई हजार ६२६ मतान्तरले एमालेका सूर्य पाठकलाई पराजित गरेका थिए ।

यस पटक जनमोर्चाबाट कृष्ण शर्मा अधिकारीलाई उम्मेदवार बनाएको छ । तालमेलमा क्षेत्र नम्बर १ जनमोर्चाले र २ नेकपालेले लिएको छ । बागलुङ नगरपालिका-१२ अमलाचौरका अधिकारीले संविधानको रक्षा र जेनजी आन्दोलनको भावना कुल्चेर भैरहेको गलत प्रवृत्तिको अन्त्यका लागि आफूले उम्मेदवारी दिएको बताउँछन् ।

अघिल्लो पटक समानुपातिककमा क्षेत्र नम्बर १ मा जनमोर्चाले चार हजार ९८६ र तत्कालीन नेकपा माओवादी केन्द्रले दुई हजार ८५७ मत पाएका थिए । यति मतले मात्रै निर्वाचन जित्ने अवस्था नभएकाले जनमोर्चालाई अहिले आफ्नो आधारभूमि जोगाउन चुनौती देखिएको छ । यो क्षेत्रमा नेपाली कांग्रेसले जैमिनी नगरपालिका-१० राङ्खानीका भीम श्रीसलाई उम्मेदवार बनाएको छ । हरेक निर्वाचनमा जनमोर्चाको रजगज हुँदै आएको राङ्खानीबाट कांग्रेसले श्रीसलाई उम्मेदवार बनाएपछि उनले जनमोर्चाको मत काट्ने सम्भावना छ ।

त्रिभुवन विश्वविद्यालय स्ववियुका पूर्वसभापति श्रीस विद्यार्थीकालमा हरेक निर्वाचनमा अपराजित छन् । २०६२ सालमा त्रिविमा सबै पद एमाले निकट अनेरास्वियुले जित्दा श्रीसले नेविसंघबाट एक्लै सभापति पद जितेका थिए । कम बोल्ने र काम गर्ने नेताको छवि बनाएका श्रीसको सहयोगी भावनाले उचाइ बढ्दै गएको छ । बागलुङमा कांग्रेसको बलियो संगठन भएकाले आफूले जित्ने श्रीस बताउँछन् ।

अघिल्लो निर्वाचनमा कांग्रेसले यो क्षेत्रबाट सबैभन्दा धेरै १६ हजार ४९३ समानुपातिक मत ल्याएको थियो । तर यो तीन वर्षमा कालिगण्डकीमा धेरै पानी बगिसकेको छ । मुख्य बजार क्षेत्रमा नयाँ दलको रुपमा रास्वपाले कांग्रेसका मतदाता आकर्षित गरिरहेकाले नजिता पक्षमा पार्न श्रीसले राम्रै मेहनत गर्नुपर्ने देखिन्छ । विगतमा एक्लाएक्लै निर्वाचन लड्दा मुख्य प्रतिस्पर्धी कांग्रेस र एमाले नै थिए । जेनजी आन्दोलनपछि बदलिएको अवस्थामा हुन लागेको निर्वाचनमा यस्तै नतिजा आउँछ भन्न सकिने अवस्था छैन ।

यो क्षेत्रमा पार्टीको बलियो जग भएकाले निर्वाचन आफूले जित्ने एमाले नेताहरु बताउँछन् । यहाँ २०७० सालमा कांग्रेसका हरिबहादुर खड्कासँग र २०७९ मा दिपेन्द्र थापासँग प्रदेशसभा निर्वाचनमा पराजित भएका एमालेका हीरा केसी अहिले पनि उम्मेदवार छन् । यसपटक जनताले आफूमाथि न्याय गर्ने उनको विश्वास छ । एमालेले गत निर्वाचनमा समानुपातिकतर्फ १५ हजार ४२८ मत पाएको थियो ।

अघिल्लो पटक बिनातयारी निर्वाचनमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ नौ हजार बढी र समानुपातिकतर्फ सात हजार आठ सय ७७ मत पाएको थियो । यसपटक त्यो मतलाई १५ हजारमाथि पुर्‍याउन सके जित हुने अपेक्षामा रास्वपा छ । यहाँ रास्वपाले सुशील खड्कालाई उम्मेदवार बनाएको छ । खड्काको उम्मेदवारीप्रति सुरुमा पार्टी भित्रबाटै विरोध भए पनि अहिले साम्य हुँदै गएको छ ।

नयाँ दलका पक्षमा देखापरेको लहरले निर्वाचन जित्नेमा रास्वपा विश्वस्त छ । जेनजी आन्दोलनका सहिदको सपना साकार गर्न उम्मेदवार बनेको खड्काको भनाइ छ ।

यो क्षेत्रमा नेपाल मानवतावादी पार्टीबाट भक्तबहादुर विक, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कल्याण आचार्य, मंगोल नेसनल अर्गनाइजेसनबाट गुमाकुमारी बुढा रानामगर, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट चित्रप्रसाद सापकोटा, नेसनल रिपब्लिक नेपालबाट सहवीर थापा, श्रम संस्कृति पार्टीबाट लालबहादुर घर्ती र नपाल कम्युनिस्ट पार्टी (माओवादी) बाट टेकबहादुर केसी आजाद उम्मेदवार छन् ।

त्यस्तै बागलुङ-२ नेपाली कांग्रेसबाट निसीखोलाका टेकराज पौडेल, एमालेबाट गलकोटकी मञ्जु शर्मा चालिसे र नेकपाबाट गलकोटकै ज्ञामनाथ गैरे उम्मेदवार छन् । यी तीनजना पार्टीका केन्द्रीय सदस्य हुन् । रास्वपाले बागलुङ नगरपालिकाका सोम शर्मालाई उम्मेदवार बनाएको छ । शर्माले पुराना दलका उम्मेदवारलाई टक्कर दिने आकलन छ ।

विगतमा एकल रुपमा निर्वाचन लड्दा यो क्षेत्रमा शक्तिशाली देखिएको कांग्रेस अहिले जित पक्षमा आउनेमा ढुक्क हुन सकेको छैन । नेकपाले जित निकाल्न सम्पूर्ण शक्ति यहाँ लगाएको छ । क्षेत्र नम्बर १ मा राष्ट्रिय जनमोर्चालाई समर्थन गरेर २ मा जनमोर्चाको समर्थनले जित्ने योजनामा नेकपा छ । अघिल्लो पटक पाँच दलीय गठबन्धन हुँदा पनि राम्रो मत पाएको एमालेले यस पटक जित्ने विश्वास गरेको छ ।

पुराना दलका लागि रास्वपा प्रमुख चुनौती बनेको छ । जेनजी आन्दोलनको अपनत्व रास्वपाले लिएकाले पनि मतदाताले आफूलाई मत दिने विश्वासमा सापकोटा छन् । २०७९ को निर्वाचनमा यो क्षेत्रमा समानुपातिकतर्फ कांग्रेसले १६ हजार २८३, एमालेले १६ हजार ४६८, तत्कालीन नेकपा माओवादी केन्द्रले ८ हजार ३४७, राष्ट्रिय जनमोर्चाले ३ हजार ६३० र रास्वपाले ३ हजार १५६ मत पाएका थिए ।

यो क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अञ्चल शाही, श्रम संस्कृति पार्टीबाट हर्कबहादुर पुन, नेकपा (माओवादी)बाट लोकेन्द्र घिमिरे, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट पदम कुँवर, नेपाल मानवतावादी पार्टीबाट टेकप्रसाद कामी, मंगोल नेसनल अर्गनाइजेसनबाट जुनबहादुर थापा, जनता समाजवादी पार्टीबाट पूर्णबहादुर घर्ती, नेसनल रिपब्लिक पार्टीबाट नरबहादुर बुढा उम्मेदवार छन् ।

प्रकाशित: १७ फाल्गुन २०८२ २१:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App