नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवं १५औं महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले सभापति गगन थापाले आफूलाई विभिन्न प्रलोभन देखाएर फकाउने प्रयास गरे पनि आफ्ना सहयात्री नेताहरूलाई चटक्कै छोडेर जान अस्वीकार गरेको बताएका छन्।
नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा सम्पादक बालकृष्ण अधिकारीसँग कुराकानी गर्दै डा. कोइरालाले गगन थापा र विश्वप्रकाश शर्मा आफ्नो निवासमै आएर घण्टौं छलफल गरेको तर आफूले सामूहिक एकताको अडान नछाडेको बताए।
पार्टीभित्र विशेष महाधिवेशनपछि उत्पन्न विवादका बीच गगन थापा र विश्वप्रकाश शर्मा आफूलाई भेट्न निवासमै आएको प्रसंग सुनाउँदै डा. कोइरालाले भने, ‘उहाँहरू यहाँ आउनुभयो, हामी तीन घण्टा सँगै बस्यौं। गगनजीले मलाई फकाउँदै भन्नुभयो, ‘तपाईं त बीपीको पुत्र हो, तपाईं हामीकहाँ आउनुस्, हामी तपाईंलाई सम्मान गर्छौं।’
तर गगनको त्यो प्रस्ताव सिङ्गो पार्टी मिलाउनका लागि नभई आफूलाई मात्र तानेर आफ्नो समूह बलियो बनाउने रणनीतिक चाल भएको कोइरालाको ठहर छ।
गगनको प्रस्तावलाई अस्वीकार गर्दाको पृष्ठभूमि स्मरण गर्दै डा. कोइरालाले भने, ‘मेरा पिता बीपी कोइरालाले गणेशमानजीलाई कहिल्यै छोड्नुभएन। अनि मैले आज गणेशमानजीको छोरा प्रकाशमान सिंहलाई छोडेर जाने ? विमलेन्द्र निधिलाई छोडेर जाने ? शेखरदालाई छोडेर जाने ? उहाँहरूको आफ्नै योगदान छ, जेलनेल खानुभएको छ।’
आफूहरू एउटै राजनीतिक परिवारको सदस्य भएको उल्लेख गर्दै उनले व्यक्तिगत लाभका लागि लामो संघर्ष गरेका साथीहरूलाई एकाएक धोका दिन नसक्ने बताए। ‘मैले गगनजीलाई स्पष्ट भनेँ, म एक्लै आउने होइन, सबै नेताहरूलाई बोलाउनुस्, टेबलमा सँगै बसेर सहमति खोजौं,’ उनले भने।
कुराकानीका क्रममा डा. कोइरालाले नयाँ पुस्ताका दुई प्रभावशाली नेता गगन थापा र विश्वप्रकाश शर्माको राजनीतिक स्वभावको समेत तुलना गरे।
‘विश्व एकदमै सार्प र खुराफाती मान्छे हुन्, उनी राजनीति गर्न एकदम पर्फेक्ट छन्,’ कोइरालाले भने, ‘गगन भने सोझो मान्छे हो। गगन राम्रो भाषण गर्छ, मान्छेलाई आकर्षित गर्न सक्छ, उसका आफ्नै खुबीहरू छन्। तुलना गर्दा दिमागका हिसाबले विश्व अगाडि छन्, गगन सोझा छन्।’
अदालत र निर्वाचन आयोगबाट वैधानिकता पाए पनि गगन थापाले अहंकार देखाउन नहुने कोइरालाको सुझाव छ। देउवा ८४ वर्ष पुगिसकेकाले अबको भविष्य गगनकै भएको भन्दै उनले पार्टी विभाजन गरेर भविष्य अन्धकार नबनाउन आग्रह गरे।
‘मैले गगनलाई धेरैपटक भनेको छु। अहिले नै सभापति भएर के हुन्छ ? आउँदो १०-१५ वर्ष सभापति हुने भविष्य तिम्रै हो,’ उनले भने, ‘त्यसैले आफ्नै खुट्टामा बञ्चरो नहाण, शेरबहादुरजी र सिनियर नेताहरूसँग संवाद गर।’
अदालतले गगन पक्षलाई नै पूर्ण मान्यता दिएको अवस्थामा के गर्नुहुन्छ भन्ने प्रश्नमा डा. कोइरालाले सम्मानजनक समायोजनको ढोका भने खुला रहेको बताए।
‘यदि पार्टी मिलाउने नै हो भने गगनजीले हामीलाई स्पेस दिनुपर्छ। हामीलाई पार्टीमा सम्मानपूर्वक पद दिएर समायोजन गर्नुपर्छ,’ कोइरालाले भने, ‘महामन्त्री, केन्द्रीय सदस्य के-के दिने हो, त्यो सम्मानजनक संख्यामा हुनुपर्छ। यो स्पष्ट नभएसम्म म साथीहरूलाई अलपत्र पारेर कतै जान्नँ।’
प्रकाशित: १४ आश्विन २०८३ १९:२२ बुधबार





