इटहरीमा बुधबारदेखि सीप तथा रोजगार मेला सुरु भएको छ । मेलाको प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले उद्घाटन गरे ।
युवाले सिकेको सीपलाई रोजगारीमा बदल्ने र रोजगारीबाट अघि बढेर आफैँ रोजगारी सिर्जना गर्न सक्ने वातावरण निर्माण गर्नु पर्ने बताउँदै उनले युवालाई रोजगारी खोज्ने जनशक्तिका रूपमा मात्र नभई सीपयुक्त, उत्पादनशील र रोजगारी सिर्जना गर्न सक्ने जनशक्तिका रूपमा विकास गर्नुपर्नेमा जोड दिए ।
‘आन्तरिक श्रमबजारको माग र उपलब्ध जनशक्तिको सीपबीच पर्याप्त तालमेल हुन नसक्दा युवाहरू रोजगारीका लागि विदेशिनुपर्ने अवस्था छ,’ सभामुख अर्यालले भने, ‘एकातिर रोजगारीको खोजीमा हाम्रा युवाहरू विदेशिनुपर्ने अवस्था छ भने अर्कोतिर स्वदेशमै रहेका रोजगारदाताले आवश्यक जनशक्ति नपाएर विदेशी कामदार ल्याउनुपर्ने बाध्यता छ ।’
सो कार्यक्रममा युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले सरकारले आन्तरिक रोजगारीलाई प्राथमिकतामा राखेर सञ्चालन गरिएको मेलामार्फत युवापुस्तालाई अवसरसँग जोड्ेर सफलता प्राप्त गर्ने बताए । ‘मेलामा आएर युवापुस्ताले केही गर्न सकिन्छ भनेर आशा र ऊर्जा लिएर फर्कदा पनि सफलता हुनेछ,’ उनले भने, ‘अब उपलब्धी प्राप्त हुने तालिम र ज्ञानसँगै सिप आर्जन गरेर रोजगारी प्राप्त गर्ने दिसामा युवापुस्ताले ध्यान दिनुपर्छ ।’
असोज २० गतेसम्म चल्ने सिप तथा रोजगार मेलालाई सम्बोधन गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिपक साहले मेलाले सिप र अवसरलाई जोड्ने पुलको काम गर्ने बताए । ‘सिप भएको युवा वेरोजगार बस्नुहुँदैन्,’ उनले भने, ‘तालिम र रोजगारबिच सम्बन्ध स्थापित गरेर युवापुस्तालाई सही ढंगले अघि बढाउने सरकारको प्राथमिकता हो ।’
कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले देशको विकासका लागि कसैले पनि वदलाको भाव नलिईकन जुटेर अघि बढ्नुपर्ने बताए । उनले निजी क्षेत्रलाई साथमा लिएर अघि बढ्दा वेरोजगारीलाई अवसर दिलाउन सकिने बताए । ‘रोजगारी र अवसरका सिप चाहिन्छ, अब तीनै तहका सरकारले परम्परागत तालिम र सिपको सट्टा गरिखाने सिप सिकाउनुपर्छ,’ उनले भने ।
युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा बुधबारदेखि इटहरीको सोल्टी होटलमा सुरु भएको हो । मेलामा सिप सिक्न र रोजागरीका लागि आएकालाई सर्वप्रथम उनीहरुको सिपको लेभल छुट्याएर असोज १५ गतेदेखि तालिम दिने योजना बनाएको मिडिया संयोजक गोविन्द खत्रीले बताए । उनका अनुसार मेलामा शिक्षा, स्वास्थ्य, होटल, श्रम, वैदेशिक रोजगारलगायतका १२ वटा विधाका ७० वटा स्थल रहेका छन् ।
प्रकाशित: १४ आश्विन २०८३ १९:२४ बुधबार





